+
+
Shares

सन् २०२५ मा इजरायलको हतियार बिक्री ३० प्रतिशतले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २० गते ६:४८

२० जेठ, काठमाडौं । सन् २०२५ मा इजरायलको हतियार बिक्री ३० प्रतिशतले बढेको छ । इजरायलको रक्षा मन्त्रालयका अनुसार देशको रक्षा निर्यात करिब ३० प्रतिशतले बढेर १९.२ अर्ब अमेरिकी डलर पुगेको हो ।

इजरायलले रक्षा निर्यातको नयाँ कीर्तिमान बनेको यो लगातार पाँचौँ वर्ष हो । पछिल्ला पाँच वर्षमा इजरायलको रक्षा निर्यात दोब्बरभन्दा बढीले वृद्धि भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

सबैभन्दा बढी माग क्षेप्यास्त्र, रकेट तथा हवाई प्रतिरक्षा प्रणाली (एयर डिफेन्स सिस्टम) को रहेको थियो । यसबाहेक निगरानी उपकरण (सर्भिलेन्स इक्विपमेन्ट), राडार तथा इलेक्ट्रोनिक रक्षा प्रणालीको पनि उल्लेखनीय बिक्री भएको मन्त्रालयले जनाएको छ ।

द इकोनोमिक टाइम्सका अनुसार सन् २०२५ मा इजरायली कम्पनीहरूले विश्वभरका विभिन्न देशसँग सयौँ नयाँ रक्षा सम्झौता गरेका थिए । तीमध्ये आधाभन्दा बढी सम्झौताहरूको मूल्य १० करोड अमेरिकी डलर वा सोभन्दा बढी थियो ।

रक्षा मन्त्रालयका अनुसार सन् २०२३ अक्टोबर ७ मा हमास लडाकुहरूले गरेको आक्रमणपछि इजरायलका रक्षा उद्योगहरू युद्धकालीन अवस्थामा सञ्चालन भइरहेका छन् । ती उद्योगहरूले इजरायली सेनाका लागि चौबीसै घण्टा उत्पादन जारी राख्दै विदेशी ग्राहकहरूसँग भएका सम्झौताहरू पनि एकैसाथ पूरा गरिरहेका छन् ।

मन्त्रालयले विभिन्न युद्ध मोर्चाहरूमा इजरायली रक्षा प्रणालीहरूले देखाएको प्रभावकारी प्रदर्शनका कारण इजरायलको रक्षा प्रविधिप्रति अन्तर्राष्ट्रिय माग उल्लेखनीय रूपमा बढेको जनाएको छ ।

क्षेत्रगत रूपमा हेर्दा, इजरायलका रक्षा सम्झौतामध्ये ३६ प्रतिशत युरोपसँग भएका थिए । त्यसपछि एसिया–प्रशान्त क्षेत्रको हिस्सा ३२ प्रतिशत, मध्यपूर्व तथा उत्तर अफ्रिकाको १५ प्रतिशत र उत्तर अमेरिकाको १३ प्रतिशत रहेको थियो ।

इजरायलका रक्षा मन्त्री इजरायल काट्जले इजरायली सेनाले युद्धभूमिमा हासिल गरेका उपलब्धि र विश्वभर इजरायली रक्षा सामग्रीको निर्यातमा भएको सफलताबीच स्पष्ट सम्बन्ध रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?