+
+
Shares

रमा तिवारी हत्या प्रकरण : अनुसन्धानमा अल्मलियो प्रहरी

१६ जेठ शनिबार रतुवा खोलामा बोरामा प्याक गरेर फालिएको अवस्थामा शव फेला परेपछि अनुसन्धान सुरु गरेको प्रहरी निष्कर्षमा पुग्न अल्मलिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते १२:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापाको रतुवा खोलामा बोरामा प्याक गरिएको अवस्थामा फेला परेकी २१ वर्षीया रमा तिवारीको हत्याबारे प्रहरीले अनुसन्धान तीव्र बनाएको छ ।
  • प्रहरीका अनुसार तिवारीको हत्या अन्यत्रै गरेर शव खोलामा फालिएको र उनको मोबाइल दमक बजारमा बन्द भएको देखिएको छ ।
  • घटनाबारे सामाजिक सञ्जालमा अपुष्ट र अनुमानित विवरण सार्वजनिक हुँदा अनुसन्धानमा प्रतिकूल असर परेको भन्दै प्रहरीले सचेत गराएको छ ।

२१ जेठ, विराटनगर । झापाको दमक नगरपालिका-८ की २१ वर्षीया रोमा भनिने रमा तिवारीको हत्या अनुसन्धानमा प्रहरी अल्मलिएको छ । गत जेठ १६ गते शनिबार रतुवा खोलामा बोरामा प्याक गरेर फालिएको अवस्थामा शव फेला परेपछि अनुसन्धान सुरु गरेको प्रहरी निष्कर्षमा पुग्न अल्मलिएको हो ।

प्रहरीका अनुसार रमा गत हप्ता बुधबार राति घरबाट निस्किएकी थिइन् । शनिबार बिहान करिब ११ बजे सेतुमाडीस्थित रतुवा खोलाको पुलमुनि सेतो प्लास्टिकको बोरामा पोको पारिएको अवस्थामा उनको शव भेटिएको थियो ।

झापा प्रहरीका निमित्त सूचना अधिकारी इन्स्पेक्टर सुमन बानियाँका अनुसार शव भेटिएको स्थानमा हत्या भएको होइन । बाहिर हत्या गरी उनको शव रतुवाको पुलमाथिबाट खोलामा फालेको देखिन्छ ।

मृतक परिवारका सदस्यले बुधबार राति ८ बजेपछि उनी घरबाट साथी भेट्न निस्किएको बताएका थिए । रमालाई भेट्न बोलाउने साथी सोही दिन सुधार केन्द्रबाट छुटेका थिए । प्रहरीले ती युवकमाथि सोधपुछ गरेको छ । तर, उनको संलग्नता पुष्टि हुने आधार भेटिएको छैन । कहाँ र कसरी हत्या भयो भन्ने निष्कर्षमा प्रहरी पुग्न सकेको छैन ।

‘शव भेटिएको स्थान प्राइमरी लोकेसन होइन, सेकेन्डरी लोकेसन मात्रै हो । प्राइमरी लोकेसन भेटिएपछि धेरै विषय खुल्छ,’ प्रहरी स्रोतले भन्यो,’  अनुसन्धान जारी छ ।’

प्रहरीका अनुसार रमाको मोबाइलको अन्तिम लोकेसन दमक बजारमा देखिन्छ । राति करिब ११ बजेको आसपासमा दमक बजारमा उनको मोबाइल अफ भएको थियो ।

घटनास्थल, मोबाइल सम्पर्क र प्रमाणका आधारमा घटनाको शृंखला पत्ता लगाउने  प्रयास भइरहेको  प्रहरीले बताएको छ । शंकास्पद व्यक्तिमाथि सोधपुछ भइरहे पनि प्रहरी कसैलाई पक्राउ गर्ने अवस्थामा पुगिनसकेको इन्स्पेक्टर बानियाँले बताए ।

प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा एक जना व्यक्तिको मात्रै संलग्न देखिँदैन ।  तर अनुसन्धान चलिरहेका बेला घटनासँग जोडिएर भिडियो अन्तरवार्ता र कन्टेन्ट सार्वजनिक भएपछि अनुसन्धानमा प्रतिकूल असर परेको प्रहरीको गुनासो  छ ।

कन्टेन्ट क्रिएटरले अपुष्ट सूचना सम्प्रेषण गरेको भन्दै प्रहरीले अनुसन्धान जारी रहेका बेला अनुमानका भरमा सूचना सार्वजनिक नगर्न आग्रह गरेको छ ।

अनुसन्धानका संवेदनशील विवरण आधिकारिक स्रोतबाट पुष्टि नभई सार्वजनिक हुँदा न्याय सम्पादनमा प्रतिकूल असर गर्न सक्ने प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?