+
+
Shares

किन लाग्छ सशस्त्र प्रहरीको कार्यालयमा पटक–पटक आगो ?

सशस्त्र प्रहरीलाई विपद् उद्धार तथा आगलागी नियन्त्रणको स्पेसल फोर्स मानिन्छ । तर सशस्त्रकै हेडक्वार्टरमा पटक–पटक आगलागीका घटना दोहोरिइरहन्छन् । यसले सशस्त्र प्रहरी कार्यालयको सुरक्षामा प्रश्नसमेत उब्जाएको छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८३ जेठ २१ गते २१:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सशस्त्र प्रहरी बलको हल्चोकस्थित मुख्यालयको सवारी शाखामा आगलागी हुँदा एआईजी चढ्ने प्राडोसहित ६ वटा विद्युतीय एटीभी र अन्य मोटरसाइकल जलेका छन्।
  • मुख्यालयभित्र भएको आगलागी घटनाको छानबिन गर्न सशस्त्र प्रहरीले प्रहरी नायव महानिरीक्षक सन्दीप थापाको नेतृत्वमा एक समिति गठन गरेको छ।
  • सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोक र बलम्बुस्थित केन्द्रीय भण्डारण महाशाखामा गरी विगत सात वर्षमा यो तेस्रो पटक आगलागी भएको हो।

२१ जेठ, काठमाडौं । बुधबार राति करिब ८ बजे सशस्त्र प्रहरी बलको हेडक्वार्टर हल्चोकस्थित एमटी (मोटर ट्रान्सपोर्ट, सवारी शाखा)मा आगलागी भयो ।

हल्चोकको रंगशाला पछाडितर्फको एमटी शाखाको अन्डरग्राउन्ड पार्किङमा अचानक आगोको मुस्लो निस्कियो । आगलागीको जानकारी पाउना साथ हेडक्वार्टरकै टोली, नजिकैको बंगलामुखी गण र सशस्त्रको बालाजुस्थित भन्सार कार्यालयबाट आएको दमकलले उक्त आगो केहीबरेमै नियन्त्रणमा लियो ।

बेलैमा आगो नियन्त्रणमा लिँदा ठूलो क्षति हुनबाट जोगिएको सशस्त्र प्रहरीले बताएको छ । तर आगलागीबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चढ्ने प्राडो गाडीसहित अन्य केही सवारी साधन जलेका छन् ।

सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) विष्णुप्रसाद भट्टका अनुसार सवारी साधनमा क्षति हुनु बाहेक अन्य क्षति भएको छैन ।

एआईजी चढ्ने प्राडोदेखि एटीभी (अल टेरेन भेइकल) क्वाड बाइक ६ वटा, स्कर्टिङ मोटरसाइकल, नर्मल मोटरसाइकल २ वटा जलेर नष्ट भएका छन् । मरुभूमिमा प्रयोग हुने एटीभी क्वाड बाइक सशस्त्रले मनाङ, मुस्ताङका लागि पठाउने गरेको थियो ।

सशस्त्रले राखेका यी एटीभी बाइक इभी (विद्युतीय सवार) रहेको बताइएको छ । यही एटीभी बाइकमा सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका गरिएको छ । ‘एटीभी बाइकमा सर्ट भएर त्यहींबाट आगलागी भएको हुन सक्ने हाम्रो प्रारम्भिक बुझाइ छ,’ हेडक्वार्टरस्थित एक अधिकारीले भने ।

उक्त एटीभी क्वाड बाइक चार्जमा थियो/थिएन, कसरी सर्ट भएर आगलागी भयो वा अन्य कुनै कारण छ कि भन्नेबारे विस्तृत अध्ययनपछि मात्रै भन्न सकिने प्रवक्ता भट्ट बताउँछन् । ‘आगलागीको सुरुवात एटीभीबाट भएको देखिन्छ । त्यो सवारी विद्युतीय हो । कसरी आगलागी भयो भन्नेबारे विस्तृत अध्ययन भएपछि मात्रै आउला,’ भट्ट भन्छन् ।

डीआईजीको नेतृत्वमा छानबिन समिति गठन

हेडक्वार्टरभित्रै आगलागी भएर एआईजी चढ्ने प्राडो गाडीसमेत जलेपछि घटनाको छानबिन गर्न सशस्त्र प्रहरी हेडक्वार्टरले समिति गठन गरेको छ । सशस्त्र हेडक्वार्टरले डीआईजी सन्दीप थापाको नेतृत्वमा समिति गठन गरेको बताएको छ ।

‘घटनाबारे छानबिन गर्न हामीले समिति गठन गरेका छौं । समितिले काम सुरु गरिसकेको छ,’ प्रवक्ता भट्टले भने । थापा नेतृत्वको समितिलाई हदम्याद तोकिएको छैन । सकेसम्म छिटो छानबिन सकेर प्रतिवेदन पेस गर्न भनिएको छ ।

समितिले कसरी आगलागी भयो, केबाट आगो सुरु भयो, कसैको गल्ती कमजोरी छ कि भन्ने विषय अध्ययन गर्ने बताइएको छ । कसैको गल्ती, कमजोरी देखिए सोहीअनुसार समितिले कारबाहीसमेत सिफारिस गर्न सक्नेछ ।

आगामी दिनमा यस्तो हुन नदिन अपनाउनुपर्ने विषयहरूलाई समेत सुझावको रूपमा समितिले उल्लेख गर्ने बताइएको छ ।

दुई वर्षअघि पनि लागेको थियो गोदाममा आगो

सशस्त्र प्रहरीको कार्यालयमा आगलागी भएको यो पहिलो घटना होइन । यसअघि २६ चैत २०८० मा सशस्त्रको बलम्बुस्थित केन्द्रीय गोदाममा आगलागी भएको थियो । नं. ९ पशुपति बाहिनीको कम्पाउन्डभित्र रहेको केन्द्रीय गोदाममा आगलागी हुँदा ठूलो मात्रामा बन्दोबस्तीका सामानहरू जलेका थिए ।

२६ चैत २०८० अपराह्न ४ बजेतिर आगलागी हुँदा चुस्ता, बुट, म्याट, झुल, मण्डी, तन्ना, स्लिपिङ ब्यागलगायत बन्दोबस्तीका सामान जलेर नष्ट भएका थिए । आगलागीमा ३७ हजार बुट, ३७ हजार स्पोर्ट सुज जलेका थिए ।

घटनाको छानबिन गर्न सशस्त्र हेडक्वार्टरले एआईजी वंशिराज दाहालको नेनृत्वमा समिति गठन गरेको थियो । गृह मन्त्रालयमा भने छुट्टै अर्को समिति गठन गरिएको थियो । छानबिनपछि एक एसपीसहित ९ जना कारबाहीमा परेका थिए । जसमा एक डीएसपी, दुई इन्स्पेक्टर, एक सई, एक असई, एक जवान थिए ।

भण्डारण महाशाखाका प्रमुख एसपी राजेन्द्र श्रेष्ठको चार वर्षसम्म बढुवा रोक्का गरिएको थियो । बाँकी ८ जनालाई भने नसिहत दिइएको थियो ।

छानबिन थालेपछि हेडक्वार्टरमै झोसियो आगो

यसअघि सशस्त्रको हेडक्वार्टर हल्चोकमै पनि आगलागी भएको थियो । सशस्त्रका चार पूर्वआईजीपीहरू सनतकुमार बस्नेत, शैलेन्द्र श्रेष्ठ, कोषराज वन्त र वासुदेव ओलीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार कसुरमा छानबिन थालेको थियो ।

सोही समयमा ३ पुस २०७४ मा बिहानीपख हेडक्वार्टरको स्टोरमा आगलागी भएको थियो । आर्थिक कारोबारसम्बन्धी गोप्य कागजपत्र जलाउने उद्देश्यले मट्टितेल छर्केर आगो लगाएको अनुसन्धानबाट खुलेको थियो ।

आगो लगाउने सशस्त्रका हवल्दार रामकृष्ण श्रेष्ठ बर्खास्त भएका थिए । बन्तसहितका अधिकृतविरुद्ध भने अख्तियारले भ्रष्टाचारको मुद्दा चलाएको थियो ।

यो घटनासँगै सशस्त्रको हेडक्वार्टर हल्चोकमा दुई पटक र केन्द्रीय भण्डारण महाशाखामा एक पटक गरी तीन पटक आगलागी भइसकेको छ ।

सुरक्षा गर्ने अंगकै कार्यालय असुरक्षित ?

लगातार सशस्त्र हेडक्वार्टरदेखि बाहिनीभित्र रहेको भण्डारण महाशाखामा आगो लाग्नुले सुरक्षाको प्रश्न उब्जाएको छ । प्रमाण मेटाउन गोप्य कागजात जलाउनेदेखि आगलागी भएको ४५ मिनेटपछि बल्ल दमकल पुगेको घटना सशस्त्रभित्र छ ।

दुई वर्षअघि बलम्बुस्थित बाहिनीभित्र रहेको गोदाममा आगलागी हुँदा ४५ मिनेटपछि बल्ल दमकल पुगेको थियो ।

बेलैमा दमकल नपुग्दा ठूलो क्षति भएको त्यतिबेला छानबिन समितिले समेत औंल्याएको थियो । दमकल बेलैमा नपुग्नुको उक्त घटनालाई भने सशस्त्रले दुर्गा प्रसाईं समूहलाई कारण देखाएको थियो । प्रसाईं समूहको सडक आन्दोलनका कारण दमकल आउन ढिलाइ भएको बताइएको थियो ।

सशस्त्रलाई विपद् उद्धार तथा आगलागी नियन्त्रणको स्पेसल फोर्सका रूपमा लिइन्छ । यसको विकास पनि त्यसैगरी गरिएको छ । अन्य सुरक्षा निकायको विपद्सम्बन्धी शिक्षालय नहुँदा सशस्त्रको भने विपद् व्यवस्थापन तालिम शिक्षालयसमेत छ ।

तर, सशस्त्रमा लापरबाहीदेखि योजनाबद्ध तरिकाले आगलागीका घटना हुने गरेको देखिन्छ । भण्डारण महाशाखाको गोदाममा आगलागी र त्यसपछिको नियन्त्रण प्रयासमा लापरबाही भएको सशस्त्रकै आन्तरिक छानबिन समितिको रिपोर्टमा उल्लेख छ ।

एउटा घटना त योजनाबद्ध तरिकाले प्रमाण नष्ट गराउनका लागि आगलागी भएको थियो । अहिले फेरि हेडक्वार्टरभित्रै आगलागी हुनुले विपद्, उद्धारको मुख्य फोर्स मानिएको सशस्त्र नै किन असुरक्षित भन्ने प्रश्न उब्जिएको छ ।

‘अन्य कार्यालय वा सर्वसाधारणका घरमा आगलागी भए जस्तो सुरक्षा संयन्त्रको हेडक्वार्टरभित्रै आगलागी हुनुमा फरक छ । यसको सन्देश आमजनमानसमा नकरात्मक पर्न जान्छ । नागरिकको सुरक्षा गर्ने फोर्स नै असुरक्षित छ भन्ने आम बुझाइ भयो भने त्यो फोर्सबाट नागरिकले भरोसा गर्न सक्दैनन् । यस्ता त्रुटिहरू बेलैमा सच्याउन आवश्यक छ,’ सशस्त्रका एक पूर्वएआईजी भन्छन् ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?