+
+
Shares

टिकटकर तुल्सा अधिकारीलाई अदालतले किन थुनामा पठायो ?

तुल्साले आफू महेन्द्रा शोरुमकी कर्मचारी भएको दाबी गर्दै उनले विश्वास जितेर चिमोरियालाई बुटबल लगेकी थिइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते २०:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुर जिल्ला अदालतले आपराधिक लाभ र सम्पत्ति शुद्धीकरण मुद्दामा टिकटकर तुल्सा अधिकारीलाई थुनामा पठाउन आदेश दिएको छ ।
  • रेडकर्नर नोटिसका आधारमा थाइल्याण्डमा पक्राउ परेकी अधिकारीलाई प्रहरीले १८ जेठका दिन नेपाल ल्याएको थियो ।
  • अधिकारीमाथि ब्ल्याकमेलमार्फत २१ करोड १२ लाख रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अभियोग लगाइएको छ ।

२१ जेठ, काठमाडौं । जिल्ला अदालत ललितपुरले टिकटकर तुल्सा अधिकारीलाई थुनामा पठाउन आदेश दिएको छ । रेडकर्नर नोटिसका आधारमा थाइल्याण्ड पक्राउ परेकी उनलाई प्रहरीले जेठ १८ गते नेपाल ल्याएको थियो ।

त्यसपछि आपराधिक लाभ र त्यसका आधारमा गैरकानूनी सम्पत्ति आर्जन गरेर सम्पत्ति शुद्धिकरण गरेको आरोपमा प्रहरीले जिल्ला अदालतमा मुद्दा चलाएको थियो । न्यायाधीश टेकनाथ गौतमको इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको हो ।

उजुरी दिने कुमार चिमोरियाको दाबीअनुसार, २०७५ सालमा उनको अधिकारीसँग चिनाजान भएको थियो । आफू महेन्द्रा शोरुमकी कर्मचारी भएको दाबी गर्दै उनले विश्वास जितेर चिमोरियालाई बुटबल लगेकी थिइन् ।

त्यसपछि आफूहरुको सम्बन्धका बारेमा परिवारलाई जानकारी दिने र बलात्कारको मुद्दा हालिदिने धम्की दिएर साढे चार लाख रुपैंया आर्थिक लाभ लिएको चिमोरियाको दाबी छ । उनले अधिकारीमाथि ब्ल्याकमेल गरी नगद, डेरा भाडा, फेन्सी पसल र अरु ठाँउमा लगानी गर्न लगाएको दाबी गरेका थिए ।

प्रहरीले अधिकारीको कम्पनी र त्यहाँ भएको कारोबारमाथि समेत अनुसन्धान गरेको थियो । तलबबापत करिब चार लाख २७ हजार कमाएकी उनले तुल्सा कलेक्सन नामक कम्पनी समेत सञ्चालन गरेकी थिइन् ।

दुई आर्थिक वर्षमा करिब २४ लाख रुपैंया कारोबार गरेको कम्पनी घाटामा गएको छ । तर खाताबाट भने पुगनपुग चार लाख रुपैंया मात्रै कारोबार भएको छ ।

प्रहरीले अनुसन्धान गर्दा उनको व्यक्तिगत खाताबाट भने १५ करोड रुपैंयाको कारोबार भएको भेटियो । त्यसबाहेक अधिकारको वैदेशिक भ्रमण, दैनिक खर्च र बैंकिङ कारोबारलाई समर्थित गर्ने कुनै वैधानिक स्रोत नभेटिएको भन्दै अख्तियारले आपराधिक लाभबाट सम्पत्ति शुद्धीकरण गरेर २१ करोड १२ लाख रुपैंया आर्जन गरेको आरोप लगाएको हो ।

उनको कम्पनीमा विभिन्न खालका स्टोन, मोती, मुगा र गरगहना लगायतका सामान भेटिएको थियो । उनले अर्को बैंकको लकरमा राखेको साडे ८४ लाख बराबरको सुनको गहना पनि भेटिएको प्रहरीको दाबी छ ।

अदालतमा बयान गर्दा टिकटकर अधिकारीले चिमोरियाले नै खरिद गरिदिएको पसल पछि आफैँले फिर्ता लगेको दाबी गरिन् । उनले आफ्नो सबै सम्पत्तिको आयस्रोत आफ्नो कम्पनी र त्यसको व्यापारिक कारोबार रहेको दाबी गरेकी छन् ।

जिल्ला अदालतले मुद्दाका साथमा पेश भएको प्रमाण, बैंक खाता र त्यसको कारोबारका आधारमा अधिकारीलाई ‘कसुरदार होइन रहेनछन् भन्न मिलेन’ भन्ने निष्कर्ष निकालेको हो । जिल्ला अदालतले उनलाई थुनामा पठाउन आदेश दिएको हो ।

जिल्ला अदालतको आदेशविरुद्ध अधिकारीले उच्च अदालत पाटनमा निवेदन दिन पाउछिन् । त्यहाँबाट जिल्लाको आदेश नउल्टिएमा उनी मुद्दा नटुंगिदासम्म थुनामा बस्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?