+
+
Shares

फेरि युद्ध चाहँदैनौं तर, हमला भए पूर्ण रूपमा जवाफ दिनेछौं : इरान

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २३ गते ८:४७

२३ जेठ, काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।

इरानी समाचार एजेन्सी तस्निमका अनुसार, विदेशमन्त्री अब्बास अराघचीले इरानको अडान पूर्ण रूपमा स्पष्ट रहेको बताएका छन्। देशमाथि कुनै पनि प्रकारको हमला वा दबाब दिइएमा तेहरानले आफ्नो सार्वभौमसत्ता र राष्ट्रिय हितको रक्षाका लागि आवश्यक कदम चाल्नेछ।

उता, ट्रम्प प्रशासनले इरानको ऊर्जा र बैंकिङ क्षेत्रलाई निसाना बनाउँदै नयाँ प्रतिबन्धहरू लगाएको छ। अमेरिकी ट्रेजरी विभागले दक्षिण र पूर्वी एसियामा करोडौँ डलर मूल्यको इरानी एलपीजी बेचिरहेको नेटवर्कमाथि कारबाही गरेको जनाएको छ।

इरानी ग्यासलाई जानाजान ओमानको एलपीजी भनेर बेचिएको र यसको वास्तविक पहिचान लुकाउन खोजिएको अमेरिकाको आरोप छ। कुल १२ वटा संस्थाहरूमाथि प्रतिबन्ध लगाइएको छ।

यिनमा ५ कम्पनी मार्सल आइल्यान्ड्स, ४ संयुक्त अरब इमिरेट्स (यूएई) र १ चीनमा अवस्थित छन्। यसबाहेक ६ वटा पानीजहाजमाथि पनि कारबाही गरिएको छ, जसमा ४ वटा पनामा-फ्ल्याग्ड ट्याङ्करहरू समावेश छन्।

अमेरिकी नाकाबन्दीपछि मे महिनामा इरानको कच्चा तेलको निर्यात ८४ प्रतिशतसम्मले घटेको छ। लोयड्स लिस्टको रिपोर्टअनुसार अमेरिकी कारबाहीबाट बच्न इरानले अहिले ठूला ट्याङ्करहरूको सट्टा साना जहाजहरूबाट तेल पठाइरहेको छ।

होर्मुजतिर आएका ४ इरानी ड्रोन खसाल्याैँ : अमेरिका

अमेरिकी केन्द्रीय कमाण्डले होर्मुज जलसन्धितिर पठाइएका इरानका ४ वटा वन-वे अट्याक ड्रोन खसालेको दाबी गरेको छ। सेन्टकमका अनुसार, यी ड्रोनहरू यस क्षेत्रको समुद्री यातायातका लागि तत्काल खतरा थिए।

अमेरिकाले त्यसपछि आफ्नो सेनाले थप हमलाहरू रोक्नका लागि गोरुक र केश्म टापुमा रहेका इरानी तटीय निगरानी राडार साइटहरूमा आक्रमण गरेको बताएको छ।

सेन्टकमले अमेरिकी सेना सतर्क रहेको र आत्मरक्षामा इरानको अनुचित आक्रामकताको जवाफ दिन तयार रहेको बताएको छ।

शुक्रबार मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि अमेरिका-इरान सम्झौता भएमा आफू इरानका सर्वोच्च नेतालाई भेट्न तयार रहेको बताएका थिए। उनले इरानबाट संवर्द्धित युरेनियम लिन सेना पठाउने विषयमा विचार गरिएको, तर धेरै जोखिम भएका कारण योजना रद्द गरिएको पनि बताए।

यसैबीच, आयरल्यान्डले इजरायलका दुई कट्टरपन्थी मन्त्री इतामार बेन-ग्वीर र बेजालेल स्मोट्रिचलाई देशमा प्रवेश गर्न रोक लगाएको छ। आयरल्यान्ड सरकारले ती दुवै नेताहरूको भनाइ प्यालेस्टिनीहरूप्रति घृणा र हिंसालाई बढावा दिने खालको रहेको बताएको छ।

(एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?