+
+
Shares

‘मिलेनियम ट्रेक’ प्रवर्द्धन गरिँदै, पर्यटकलाई घुमफिर आह्वान

सन् २००० देखि सञ्चालनमा आएको ७२ किलोमिटर दुरीको तनहुँ दुलेगौँडादेखि स्याङ्जा रामबाछासम्म जोडिएको मिलेनियम ट्रेक विस्तार गरी अहिले ९२ किलोमिटर बनाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २४ गते १३:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तनहुँ र स्याङ्जा जोड्ने ‘मिलेनियम ट्रेक’ लाई नेपालको प्रमुख पर्यटन गन्तव्यका रूपमा विकास गर्न सरोकारवालाले जोड दिएका छन् ।
  • सन् २००० देखि सञ्चालनमा आएको ७२ किलोमिटरको यस पदमार्गलाई विस्तार गरी ९२ किलोमिटर पुर्‍याइएको व्यवस्थापन समितिले जनाएको छ ।
  • दुर्लभ काँडे भ्याकुरसहित करिब ३ सय प्रजातिका चरा पाइने यो पदमार्ग चरा पर्यटनका लागि आकर्षक गन्तव्य मानिन्छ ।

२४ जेठ, काठमाडौं । तनहुँ दुलेगौँडादेखि स्याङ्जा रामबाछासम्म फैलिएको ‘मिलेनियम ट्रेक’ नेपालको पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण आधार बन्न सक्ने सरोकारवालाले बताएका छन् ।

प्राकृतिक सौन्दर्य, जैविक विविधता, ऐतिहासिक सम्पदा र मौलिक संस्कृतिको अद्भूत संगम यस पदमार्गलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न पूर्वाधार विकास, डिजिटल प्रवर्द्धन र समन्वित प्रयास आवश्यक रहेको उनीहरूको धारणा छ ।

शनिबार राजधानीमा मिलेनियम ट्रेक व्यवस्थापन समितिले आयोजना गरेको ‘मिलेनियम ट्रेक प्रवर्द्धन कार्यक्रम–२०८३’ मा सहभागी पर्यटन क्षेत्रका विज्ञ, व्यवसायी तथा जनप्रतिनिधिले मिलेनियम ट्रेकलाई नेपालको प्रमुख पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले मिलेनियम ट्रेकलाई नेपालमात्र नभई विश्व पर्यटन बजारको आकर्षणको केन्द्र बनाउन सकिने बताए ।

उनले तनहुँको छाब्दीदेखि बन्दीपुर हुँदै देवघाटसम्मको पदमार्गलाई आगामी आर्थिक वर्षको बजेट मार्फत साइक्लिङ ट्र्याकका रूपमा विकास गर्ने योजना रहेको जानकारी दिँदै त्यसलाई मिलेनियम ट्रेकसँग समेत जोड्न सकिने उल्लेख गरे । पर्यटन प्रवर्द्धनका लागि डिजिटल साक्षरता र गुणस्तरीय इन्टरनेट पहुँचलाई प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड पोखरा कार्यालय प्रमुख मणिराज लामिछानेले गण्डकी प्रदेशका ११ वटै जिल्लाको पर्यटन प्रवर्द्धनका लागि बोर्ड सक्रिय रहेको बताउँदै अन्य ट्रेकिङ गन्तव्यमा जाने पर्यटकलाई मिलेनियम ट्रेकतर्फ आकर्षित गर्न विशेष रणनीति आवश्यक रहेको बताए ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले पूर्वाधार विकास, डिजिटल प्रचारप्रसार र आन्तरिक पर्यटन विस्तार गर्न सकिए मिलेनियम ट्रेकको भविष्य निकै उज्ज्वल रहेको बताए ।

पदमार्गका कतिपय क्षेत्रमा पर्याप्त आवास सुविधा नभएको उल्लेख गर्दै आवश्यकता अनुसार टेन्टमार्फत पनि पर्यटकलाई सेवा दिन सकिने उनको भनाइ थियो ।  पर्यटन व्यवसायी चन्द्र घर्ती र पोखरा बर्ड सोसाइटीका सचिव हेमन्त ढकालले पदमार्गमा रहेका चुनौती र सम्भावनाबारे बताए ।

गण्डकी प्रदेश योजना आयोग उपाध्यक्ष डा. श्रीकान्त खतिवडाका अनुसार यस पदमार्गमा अक्टोबरदेखि अप्रिलसम्म घुमफिर गर्नु उपयुक्त देखिन्छ । तनहुँ दुलेगौँडादेखि स्याङ्जा रामबाछासम्म जोडिएको मिलेनियम ट्रेक सन् २००० देखि औपचारिक रूपमा सञ्चालनमा आएको हो । प्रारम्भिक ७२ किलोमिटर दुरी रहेको यो पदमार्गलाई विस्तार गरी ९२ किलोमिटरसम्म पुर्‍याइएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिए ।

दुलेगौँडा गाछेपानीस्थित रक गार्डेन, च्यवनधाम, ढोरबाराही मन्दिर, ऐतिहासिक ढोर मूलकोट दरबार, रजस्थल, घरेडी, मिलेनियम गुफा, काल्खु, राइपुर, कोल्मा, भैँसेगौँडा, चन्द्रकोट, गैरीस्वाँहारा, बानेथोक, भञ्ज्याङ, देउपुजे ढुंगा, सिङ्गारकोट, बुढाकोट, राम्चे, गहते मनकामना र सुन्तलाबारी हुँदै रामबाछासम्म पुग्ने यो मार्ग प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण छ ।

६ रात ७ दिनमा पूरा गर्न सकिने यो पदमार्ग चरा पर्यटनका दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ । यहाँ करिब ३ सय प्रजातिका चरा पाइन्छन् ।

विशेषगरी नेपालमा मात्रै पाइने दुर्लभ काँडे भ्याकुर लगायत चरा पदमार्गका विभिन्न स्थानमा सहजै अवलोकन गर्न सकिने भएकाले पन्छीप्रेमी र अनुसन्धानकर्ताका लागि समेत यो क्षेत्र आकर्षक गन्तव्य बनेको खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?