News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले जनताको ठूलो आशा र भरोसा रहेकाले आफ्नो पार्टीलाई असफल हुने छुट नभएको बताएका छन् ।
- सांसद न्यौपानेले करिब दुई तिहाइ नजिक रहेको वर्तमान सरकारलाई बाहिरी शक्तिभन्दा आफ्नैभित्रबाट बढी खतरा रहेको टिप्पणी गरे ।
- विगतका राजनीतिक दलहरू आफ्नै द्वन्द्वका कारण पतन भएको चर्चा गर्दै उनले रास्वपामा प्रवेश गरेकाहरूलाई पुरानो कार्यशैली त्याग्न आग्रह गरे ।
२४ जेठ, दमौली (तनहुँ) । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले रास्वपालाई असफल हुने छुट नरहेको बताएका छन् ।
रास्वपा तनहुँ जिल्ला समितिको आज आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले देशको ठूलो शक्ति रास्वपामाथि जनताको आशा र भरोसा रहेकाले यो पार्टीलाई असफल हुने छुट नरहेको उल्लेख गरे ।
न्यौपानेले विगतका सरकार आफ्नै झगडाबाट अपदस्थ भएको चर्चा गर्नुहुँदै करिब दुई तिहाइ नजिक रहेको वर्तमान सरकारलाई अन्य शक्तिबाट आफ्नैबाट खतरा रहेको बताए ।
‘बाहिरको सङ्ख्या अत्यन्तै न्यून छ, रास्वपाको सङ्ख्या बढ्दो छ । अन्य पार्टीबाट रास्वपामा आएकाले विगतको स्कुलिङ त्याग्नुपर्छ । राणातन्त्र, राजतन्त्रको अन्त्य पनि आफ्नैभित्रको कारणले भएको हो । पुराना दल पनि चकनाचुर भएका आफ्नै पार्टीभित्रको द्वन्द्वले हो,’ उनले भने ।
देश परिवर्तन गर्ने सङ्कल्प बोकेर जन्मिएको रास्वपालाई बलियो शक्तिका रूपमा विकास गर्दै अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउँदै उहाँले पार्टीभित्र सहमति र सहकार्यलाई सधैँ निरन्तरता दिनुपर्ने चर्चा पनि गरे ।
सांसद न्यौपानेले जुन आशा, भरोसाका कारण रास्वपालाई करिब ५२ लाख मत प्राप्त भएको छ विगतबाट पाठ सिकेर अगाडि बढ्दै जनताको भरोसालाई गन्तव्यसम्म पुर्याउनुपर्ने बताए ।
सो क्रममा रास्वपा गण्डकी प्रदेशका प्रवक्ता शङ्कर पन्तले पार्टीमा को पहिला आयो, को पछि आयो भन्ने कुरा ठूलो नभएको बताउँदै सङ्गठनलाई बलियो बनाउनु अहिलेको प्रमुख माग रहेको बताए ।
कार्यक्रममा रास्वपा तनहुँका संस्थापक सभापति विकास सिग्देल, क्षेत्र नम्बर २ का संयोजक सुन्दर बस्याल, १ का सचिव शशी रूपाखेती, व्यास नगर सभापति चुडामणि दाहाल, शुक्लागण्डकी नगर सभापति हरिबहादुर खड्कालगायतले पार्टीभित्र एकता र सहकार्यको आवश्यकता औँल्याए । रासस
प्रतिक्रिया 4