0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

रास्वपा अधिवेशन : कुन जिल्लामा सभापति को ?

शनिबार र आइतबार गरी ६० बढी जिल्लाको अधिवेशन सकिने रास्वपाका नेताहरूले बताएका छन् । प्रदेश अधिवेशनअघि नयाँ नेतृत्व चयन हुन नसकेका जिल्लामा महाधिवेशनपछि अधिवेशन गरिने जनाइएको छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०८३ जेठ २४ गते २१:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले कोशीका ८ र बागमतीका ९ जिल्लासहित मुलुकका विभिन्न जिल्लामा अधिवेशन गरी नयाँ नेतृत्व चयन गरेको छ ।
  • बर्दियामा सम्पन्न अधिवेशनबाट शान्ता बुढा क्षेत्री राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महिला जिल्ला सभापतिमा निर्वाचित भएकी छिन् ।
  • प्रतिनिधि विवाद र आकांक्षीहरूबीच सहमति हुन नसक्दा सिन्धुपाल्चोक तथा मधेश प्रदेशका केही जिल्लाको अधिवेशन स्थगित भएको छ ।

२४ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेशका १४ मध्ये ८ जिल्ला अधिवेशन शनिबार सम्पन्न गर्‍यो । सुनसरीमा सागर दाहाल, झापामा ओम भण्डारी, ताप्लेजुङमा राजनकुमार गुरुङ, मोरङमा भरत कँडेल, तेह्रथुममा सुमन खत्री, भोजपुरमा ख्यामबहादुर भुजेल, संखुवासभामा भक्तनारायण श्रेष्ठ र ओखलढुंगामा कृष्णबहादुर थापाको नेतृत्वमा नयाँ समिति बने ।

रास्वपाका अनुसार धनकुटा, उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाममा भने आज आइतबार अधिवेशन भइरहेको छ । पाँचथरको अधिवेशनको मिति तय गरिएको छैन ।

मधेशका दुई जिल्ला महोत्तरी र रौतहटमा हिजो रोकिएको अधिवेशनको मिति तय गरिए पनि नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया सुरु हुन सकेन ।

हिजो हुन नसकेका दुई जिल्लासहित सिरहा, पर्सा र सर्लाहीको अधिवेशन आइतबार भइरहेको रास्वपा मधेश संगठन विभागकी प्रमुख कामिनी चौधरीले जानकारी गराएकी थिइन् । तर निर्वाचन आयोगले भने सर्लाहीको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ ।

महोत्तरी र रौतहटमा हिजो अधिवेशन हुन नसक्नुमा प्रतिनिधि विवाद मुख्य कारण रहेको छ । मधेशबाट प्रतिनिधिसभा सदस्य रहेका एक सांसदले भने, ‘वैशाख १५ गतेपछि विभागको सदस्य बनेकालाई प्रतिनिधि बनाउन नमिल्ने पत्र आएको रहेछ । प्रतिनिधि छनोटको कुरा हिजो मिलाउन समय नपुगेको हुँदा स्थगित भएको हो ।’

मधेश संगठन विभाग प्रमुख चौधरीले प्रक्रिया सक्दासक्दै हिजो ढिलो भएकाले महोत्तरी र रौतहटको अधिवेशन पनि आज गर्न लागिएको बताइन् । जनकपुर उपमहानगरपालिकाको अधिवेशन नभई जिल्लाको गर्न नमिल्ने हुँदा धनुषाको अधिवेशन रोकिएको चौधरीले जानकारी दिइन् ।

बारा र सप्तरीको अधिवेशन मिति भने तोकिएको छैन । धनुषा र बाराको अधिवेशन जेठ २६ गतेका लागि तय गरिएको छ ।

जेठ २३ र २४ गते अधिवेशन हुन नसकेका जिल्लामा महाधिवेशनपछि अधिवेशन गरिने रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।

बागमतीका ९ जिल्लामा अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ । काठमाडौंमा राजा शाक्य, भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रेपलाञ्चोकमा प्रवीण ढकाल, सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश रायमाझी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अर्याल र मकवानपुरमा सञ्जीव पाठक सभापति बनेका छन् ।

अधिवेशन विवादबारे रास्वपा केन्द्रीय कार्यालय बनस्थलीमा बाराको कलैया उपमहानगरपालिकाका कार्यकर्ताहरूले आइतबार गरेको प्रदर्शन ।

हिजो तय गरिएको सिन्धुपाल्चोक अधिवेशन भने स्थगित गरिएको छ । रास्वपाले विविध कारणले अधिवेशन स्थगित गरेको जानकारी गराएको छ । तर त्यो ‘विविध कारण’ बारे रास्वपाले खुलाएको छैन ।

सिन्धुपाल्चोकका कार्यवाहक सभापति पासाङ तामाङले आकांक्षीबीचमा सहमति खोज्न समय लागेको हुँदा अधिवेशन स्थगित गर्नुपरेको बताए । उनका अनुसार सभापति पदका लागि आकांक्षीको संख्या पाँच जना रहेको छ । कार्यवाहक जिल्ला सभापति तामाङले अनलाइनखबरसँग भने, ‘सहमति हुने प्रयास गर्दा हिजो समय धेरै लाग्यो । भोटिङ गरेर छान्नु पर्ने भयो । मतपत छाप्न समय आवश्यक पर्‍यो ।’

तामाङका अनुसार अधिवेशनका लागि नयाँ मिति तोकिएको छैन । सिन्धुपाल्चोकको जिल्ला अधिवेशन गर्न पार्टीले तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । मधुकुमार चौलागाईं, विनोद कँडेल, करुणा पाण्डे रहेको निर्वाचन समिति गठन गरिएको छ ।

चितवन, ललितपुर र रसुवाको अधिवेशन आइतबारका लागि तोकिएको छ । ती स्थानमा जारी अधिवेशनको परिणाम आइसकेको छैन ।

गण्डकी ५ जिल्ला स्याङ्जा, कास्की, पर्वत, बागलुङ र म्याग्दीमा हिजो (शनिबार) अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिएको छ । थप चार जिल्ला तनहुँ, नवलपुर, गोरखा र लमजुङमा आज नेतृत्व चयन गरिँदै छ । दुई हिमाली जिल्ला मनाङ र मुस्ताङमा हाल अधिवेशन हाल नगरिने भएको छ ।

कास्कीको प्रथम अधिवेशनबाट सभापतिमा यदुनाथ अधिकारी १ मतले निर्वाचित भएका छन् । उनले सभापतिका अर्का प्रतिस्पर्धी एकराज न्यौपानेलाई पराजित गरेका हुन् । यसअघि तदर्थ समितिको सभापति रहेका उनी निर्वाचनबाट पुनः सोही पदमा दोहोरिएका हुन् ।

स्याङ्जामा शनिबार भएको अधिवेशनले संस्थापक जिल्ला सभापतिलाई निर्वाचित गरेको छ । प्रथम अधिवेशनबाट विश्वास भण्डारीले सभापतिका अर्का उम्मेदवार उपेन अर्याललाई फराकिलो अन्तरले पराजित गरे ।

पर्वतमा पनि मतदान गरेर नयाँ नेतृत्व चयन गरिएको छ । सभापति पदका दुई प्रतिस्पर्धीमा जालबहादुर पुन निर्वाचित भए । पुनले गंगालाल रिमाललाई हराए ।

रास्वपा म्याग्दी सभापतिमा यसअघिकै सभापति युवराज रोका सर्वसम्मत चयन भएका छन् । गत निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेका उनले महावीर पुनलाई सघाउन उम्मेदवारी फिर्ता गरेका थिए ।

लुम्बिनी प्रदेशका ८ जिल्लामा हिजो अधिवेशन गर्ने भनिए पनि पाँच वटामा सम्पन्न भएको छ । बर्दियामा शान्ता बुढा क्षेत्री, पाल्पामा विष्णु भण्डारी, रोल्पामा बलाराम थापा, दाङमा किरण खनाल र गुल्मीमा हरि श्रेष्ठ सभापति चयन भएका छन् । पाल्पा र रोल्पामा सर्वसम्मत नेतृत्व चयन गरिएको थियो भने अन्य तीन जिल्लामा निर्वाचन गरिएको थियो ।

बर्दियाबाट शान्ता बुढा क्षेत्री रास्वपाको पहिलो महिला सभापतिमा निर्वाचित भएकी छिन् । हिजो भएको अधिवेशनबाट बुढा क्षेत्री फराकिलो मतान्तरले जिल्ला सभापति चुनिएकी हुन् । संस्थापक सभापति विपिन पौडेलको ह्दयाघातबाट निधन भएपछि कार्यवाहक सभापतिको भूमिकामा बुढा क्षेत्री थिइन् ।

नवनिर्वाचित रास्वपा बर्दिया जिल्ला सभापति शान्ता बुढा क्षेत्री ।

नवलपरासी, कपिलवस्तु, बाँके, रोल्पा, अर्घाखाँची, रुपन्देही र प्युठानमा आज अधिवेशन भएको छ । लुम्बिनी रास्वपाका उपसभापति शालिक घिमिरेका अनुसार आज अधिवेशन हुनेमा नवलपरासी बाहेक अन्य जिल्लामा निर्वाचनबाट नेतृत्व चयन गरिने भएको छ । पूर्वी रुकुममा भने अधिवेशनको मिति टुंगो नलागेको प्रदेश उपसभापति घिमिरेले जानकारी गराए ।

कर्णालीमा कालीकोट, हुम्ला र सल्यानको अधिवेशन सकिएको छ । यी तीनै जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरिएको हो । सल्यानमा प्रकाश नेपाली, कालीकोटमा प्रेम केसी र हुम्लामा बुँदे बुढा सर्वसम्मत सभापतिमा चयन भए ।

सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु र जुम्लामा आज अधिवेशन जारी रहेको कर्णालीका सभापति मदन खड्काले जानकारी दिए । डोल्पामा दुई महिनाअघि नै नयाँ नेतृत्व चयन गरिएको थियो ।

सुदूरपश्चिममा शनिबार भएको अधिवेशनमा बैतडीमा भीमनाथ, बझाङमा सत्यराज उपाध्याय र डडेलधुरामा सुरेन्द्र अवस्थी सभापति चयन भएका छन् । बैतडीमा मतदानमार्फत नेतृत्व चयन गरिएको र अन्य दुईमा सर्वसम्मत नयाँ कार्यसमिति गठन गरिएको सुदूरपश्चिम सहमहामन्त्री करिश्मा कठरियाले जानकारी गराइन् ।

आइतबार अछाम, डोटी, कैलाली, कञ्चनपुर, दार्चुला र बाजुरा अधिवेशन जारी रहेको छ । सुदूरपश्चिममा अधिवेशन जारी रहेका ६ जिल्लामा सर्वसम्मत वा निर्वाचन हुने छलफलकै क्रममा रहेको सहमहामन्त्री कठरियाले जानकारी दिइन् । उनले अलनाइनखबरसँग भनिन्, ‘अधिवेशनको प्रक्रिया सुरु भएको छ । कहाँ सर्वसम्मत गर्ने र कहाँ मतदान गर्ने टुंगो लगाउने छलफलबाट निर्णय हुन्छ ।’

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?