News Summary
Generated by OK AI. Editorially reviewed.- गायक प्रमोद खरेलले कर्णालीको स्थानीय भाका र आञ्चालिकता समेटिएको नयाँ गीत 'सलल कर्णाली' सार्वजनिक गरेका छन् ।
- गीतको सुरुको अंशमा जुम्लाको सिन्जाकी कक्षा ९ मा अध्ययनरत छात्रा सृष्टि बुढाको मौलिक आवाज समावेश गरिएको छ ।
- सांसद ज्ञानेन्द्र शाहीको पहलमा काठमाडौं आएकी सृष्टिलाई गायक खरेलले पहिलोपटक स्टुडियोमा गीत रेकर्ड गराएका हुन् ।
काठमाडौं । गायक प्रमोद खरेलले शुक्रबार नयाँ गीत ‘सलल कर्णाली’ सार्वजनिक गरे । गीतले युट्युबमा लोभलाग्दो भ्यूज पाइरहेको छ । प्रतिक्रिया सकारात्मक छन् । स्थानीय भाका र आञ्चालिकता बुनिएको गीतमार्फत प्रमोदले दर्शक र श्रोतालाई कर्णालीको यात्रा गराउँछन् ।
तपाईंले गीत हेर्नु र सुन्नुभएको छ भने ओपनिङ स्वरले मन्त्रमुग्ध तुल्याउन सक्छ । विशुद्ध कर्णाली लवज र मिठासमा बुनिएको गीतलाई अरुले नभएर जुम्ला सिन्जाकी सृष्टि बुढाले गाएकी हुन् ।
स्थानीय भैरव मावि नराकोटमा कक्षा ९ मा अध्ययनरत सृष्टिले काठमाडौं आएर मारुनी रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गराएकी थिइन् । यो गीतका लागि सृष्टि कसरी प्रमोदसँग भेटिइन् भन्ने कुरा पनि रोचक किस्सा छ ।
कर्णालीको यो गीत बनाउन प्रमोद कर्णालीको मौलिकता झल्कने आवाजको खोजीमा थिए ।
‘यो गीतमा कर्णालीको मौलिक आवाज होस् । जसरी कर्णालीको पानी बगिरहेको छ, त्यसरी नै बगेर कर्णालीबाट कहिँकतै जाने, कहिँकतै पुग्ने, कतै हेर्ने इच्छा भएको एउटा त्यहाँको चेली आवाज होस् भन्ने थियो’ प्रमोद भन्छन्, ‘बाहिर व्यवसायिकरुपमा गीत गाइरहेकाले भन्दा पनि, कहिल्यै गीत नगाएको र त्यहीँ कर्णालीको जुम्ला, हुम्लातिरकै र आवाज खोजिरहेको थिएँ ।’

यही मेसोमा प्रमोदले धेरैअघि राप्रपाका जुम्लेली सांसद ज्ञानेन्द्र शाहीसँग भएको आफ्नो कुराकानी सम्झिए । शाहीले राम्रो आवाज भएको एउटी बहिनी छ, यो आवाजलाई कतै समेट्नुपर्यो भनेर प्रमोदलाई भनेका रहेछन् ।
‘अनि मलाई त्यो भनेको, ठ्याक्कै याद आयो । मलाई यस्तै आवाज चाहिएको थियो भने मैले तुरुन्तै उहाँलाई सम्पर्क गरेँ । उहाँले बोलाइदिनुभयो र काठमाडौंमा भेटघाट गराइदिनुभयो’ प्रमोदले सम्झिए, ‘मैले भेटेर उहाँलाई स्टुडियो लगेर पहिलोचोटी गीत रेकर्ड गराएँ ।’
यो गीत रिलिज भएपछि प्राप्त मीठा प्रतिक्रियाले सृष्टि खुसी छिन् । उनी अहिले जुम्ला फर्किएर पठनपाठन निरन्तर गर्दैछिन् । संक्षिप्त तर उनको मौलिक आवाजको यतिबेला प्रशंसा भैरहेको छ । गायक प्रमोदले पनि मौलिक आवाज खोज्ने क्रममा सृष्टिलाई गीतमा जोड्न पाउनु आफ्नो लागि खुसीको कुरा भएको बताए ।
प्रमोदले टिभी रियालिटी शो ‘भ्वाइस अफ नेपाल’बाट पनि मौलिक प्रतिभालाई प्रोत्साहन गर्दै आइरहेका छन् ।
प्रतिक्रिया 4