0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

सेनेटरी प्याड स्टोरमा राख्दाराख्दै म्याद गुज्रियो, विद्यालयमा अभाव हुँदा छात्रा प्रभावित

कृष्ण बिष्ट कृष्ण बिष्ट
२०८३ जेठ २६ गते ११:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बैतडीको शिवनाथ गाउँपालिकाका विद्यालयमा सेनेटरी प्याड अभाव हुँदा महिनावारीका बेला छात्राको उपस्थिति र अध्ययन प्रभावित भएको छ ।
  • गाउँपालिकाले खरिद गरेका ३०० भन्दा बढी प्याड समयमै वितरण नगर्दा म्याद नाघेर फोहोरमा विसर्जन गरिएको छ ।
  • शिक्षिका मिना साउँदले विद्यालयमा प्याड नहुँदा कतिपय छात्रा पढाइ छाडेर घर फर्किनुपर्ने अवस्था रहेको बताइन् ।

२६ जेठ, बैतडी । बैतडीको शिवनाथ गाउँपालिका अन्तर्गतका विद्यालयमा सेनेटरी प्याड अभाव हुँदा किशोरीहरू महिनावारीका बेला समस्यामा परिरहेका छन् । आधारभूत स्वच्छता सामग्री नियमित रूपमा उपलब्ध नहुँदा छात्राहरुको उपस्थिति र अध्ययन निरन्तरता प्रभावित भएको शिक्षकहरू बताउँछन् ।

गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा करिब १५ लाख रुपैयाँ खर्च गरेर सेनेटरी प्याड खरिद गरेको भए पनि ती सामग्री विद्यालयसम्म नियमित रूपमा पुग्न नसक्दा अभाव चुलिएको हो । विद्यालयमा एकपटक मात्र वितरण भएको र त्यसपछि लामो समयसम्म आपूर्ति नहुँदा मौज्दात सकिएको शिक्षकहरूको भनाइ छ ।

शिक्षकहरूका अनुसार शैक्षिक सत्र २०८१ मा एकपटक प्याड विद्यालयमा पुर्‍याइएको थियो । त्यसपछि दुई वर्षसम्म आपूर्ति नहुँदा समस्या झन् बढेको हो । शैक्षिक सत्र २०८२ मा पुरानै मौज्दातबाट केही प्याड वितरण गरिएको भए पनि ती सामग्री माघ महिनासम्म मात्रै पुगेको शिक्षकहरूले जनाएका छन् । त्यसयता गाउँपालिकाका अधिकांश विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराइएको छैन ।

शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहनसिंह मंगोलाका अनुसार विद्यालयमा प्याड सकिएको केही महिना भइसकेको छ । उनले भने, ‘केही समयदेखि प्याड सकिएका छन्, पालिकामा जानकारी गराएका छौँ, अब उपलब्ध गराउने तयारी भइरहेको भन्ने सुनेको छु ।’

यस्तै चन्द्रदेवल माध्यमिक विद्यालयकी शिक्षिका मिना साउँदले प्याड नहुँदा महिनावारीका बेला छात्राहरू समस्यामा परेको बताइन् । उनका अनुसार विद्यालयमा प्याड नहुँदा आवश्यक परेको बेला छात्राहरूलाई खाली हात फर्काउनुपर्ने बाध्यता छ । ‘महिनावारी भएको बेला प्याड माग्न आउने छात्रालाई रित्तै फर्काउनुपरेको छ, केही छात्राहरू त पढाइ छाडेर घर फर्किनुपर्ने अवस्था पनि छ,’ उनले भनिन् ।

विद्यालयहरूमा सेनेटरी प्याड अभाव भइरहेका बेला गाउँपालिकाले मौज्दातमा रहेका सामग्री समयमै वितरण नगरेको र म्याद गुज्रिएपछि फालिएको आरोप पनि लागेको छ । दुई वर्षअघि खरिद गरिएका प्याडहरू लामो समय स्टोरमै राखिँदा प्रयोग नहुँदै म्याद सकिएको बताइएको छ ।

स्थानीयका अनुसार २०८२ चैत २७ गते गाउँपालिकामा सञ्चालन गरिएको आँखा शिविरका लागि कोठा खाली गर्ने क्रममा स्टोरमा राखिएका करिब ३०० भन्दा बढी सेनेटरी प्याड गाउँपालिका परिसरभित्रकै फोहोर व्यवस्थापन क्षेत्रमा विसर्जन गरिएको थियो ।

विद्यालयमा अत्यावश्यक सामग्रीको अभाव भइरहेका बेला मौज्दातको सही व्यवस्थापन हुन नसक्नु र सामग्री प्रयोग नै नहुने गरी नष्ट हुनु सार्वजनिक स्रोतको दुरुपयोग भएको भन्दै स्थानीयस्तरमा प्रश्न उठेको छ । किशोरीहरूको स्वास्थ्य, स्वच्छता र विद्यालय उपस्थितिसँग प्रत्यक्ष जोडिएको सामग्री समयमै उपलब्ध गराउन नसक्नु स्थानीय सरकारको कार्यक्षमतामाथिको गम्भीर कमजोरीका रूपमा हेरिएको छ ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख दिनेश साउँदले प्याड किन र कसरी विसर्जन गरियो भन्ने विषयमा आफूलाई जानकारी नभएको बताएका छन् । ‘स्टोरमा राखिएका प्याड किन फालिए भन्नेबारे मलाई जानकारी छैन,’ उनले भने ।

यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकराज आचार्यले म्याद नाघेका प्याड स्टोरमा रहेकाले फालिएको जानकारी आफूले पाएको बताए । उनका अनुसार दुई–तीन वर्षअघि खरिद गरिएका सामग्री प्रयोग हुन नसकेपछि व्यवस्थापन गरिएको हो । ‘अब स्रोत उपलब्ध भए विद्यालयलाई पुन: उपलब्ध गराउनुपर्ने हुन्छ, त्यसबारे बुझ्दैछु,’ उनले भने ।

सरोकारवालाहरूले सेनेटरी प्याड जस्ता संवेदनशील सामग्रीको व्यवस्थापनमा गम्भीर लापरबाही भएको भन्दै छानबिनको माग गरेका छन् । वार्षिक आवश्यकता आकलन, समयमै वितरण, मौज्दात व्यवस्थापन र म्याद अनुगमन प्रणाली प्रभावकारी नहुँदा सार्वजनिक स्रोतको दुरुपयोग भएको उनीहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?