0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

बेदीले नेपाली कलाकारलाई दिए टिप्स : अभिनयमा धैर्यता, इमानदारी, मेहनत जरुरी

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २६ गते १३:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउड अभिनेता राकेश बेदी आफ्नो हिन्दी चलचित्र ‘है जवानी तो इश्क होना है’ को प्रचारका लागि काठमाडौं आइपुगेका छन् ।
  • मण्डला थिएटरमा आयोजित पत्रकार सम्मेलनमा उनले अभिनय क्षेत्रमा सफल हुन धैर्य, इमानदारी र निरन्तर मेहनत अपरिहार्य रहेको बताए ।
  • गुणस्तरीय विषयवस्तु र नवीन प्रस्तुतिले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न सक्ने उनले धारणा व्यक्त गरे ।

काठमाडौं । बलिउड अभिनेता राकेश बेदीले अभिनय क्षेत्रमा सफल हुन धैर्यता, इमानदारी र निरन्तर मेहनत अपरिहार्य रहेको बताएका छन् ।

आफू अभिनित हिन्दी फिल्म ‘है जवानी तो इश्क होना है’ को प्रचारप्रसारका लागि काठमाडौं आएका बेदीले मण्डला थिएटरमा आयोजित पत्रकार सम्मेलनमा अभिनयप्रतिको आफ्नो अनुभव र दृष्टिकोण साझा गर्दै कलाकारले कहिल्यै हताश हुन नहुने बताए ।

उनले कलाकारले सानो वा ठूलो जुनसुकै भूमिका पाए पनि आफ्नो उत्कृष्ट प्रदर्शन दिनुपर्नेमा जोड दिए । ‘कलाकारले आफूले पाएको अवसरलाई इमानदारीपूर्वक निर्वाह गर्नुपर्छ । सफलताको समय कहिले आउँछ भन्ने कसैले भन्न सक्दैन, तर मेहनत र समर्पण भने आफ्नै हातमा हुन्छ,’ उनले भने ।

बेदीले अभिनय केवल संवाद बोल्ने कला नभई पात्रको मनोविज्ञान, शारीरिक भाषा र भावनात्मक गहिराइ बुझ्ने प्रक्रिया भएको बताए ।

चलचित्र उद्योगमा आफूले चार दशकभन्दा बढी समय बिताएको उल्लेख गर्दै उनले कलाकारले आफूलाई अरूसँग तुलना गरेर निराश हुन नहुने बताए । ‘मलाई जति अवसर मिल्नुपथ्र्यो त्यति मिलेन भन्ने सोचले कलाकारलाई निराशा र अवसादतर्फ लैजान सक्छ । त्यसैले आफ्नो काममा केन्द्रित भएर निरन्तर अघि बढ्नुपर्छ,’ उनले भने ।

उनले सफलताको मापन समयअनुसार परिवर्तन भएको पनि बताए । पहिले चलचित्र वा कलाकारको प्रचार सीमित माध्यमबाट हुने गरेकामा अहिले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मका कारण सफलताको दायरा विश्वव्यापी बनेको उनको भनाइ थियो ।

बेदीले निर्देशक र कलाकारबीच सहकार्यको भावना महत्वपूर्ण हुने उल्लेख गर्दै चलचित्र निर्माण सामूहिक प्रयासको परिणाम भएको बताए । ‘चलचित्र निर्देशकको कल्पनाबाट सुरु हुन्छ, तर निर्माणको क्रममा कलाकार, प्राविधिक र सम्पूर्ण टोलीको योगदानले त्यसलाई पूर्णता दिन्छ,’ उनले भने ।

नेपाली चलचित्रबारे बोल्दै उनले आफूले धेरै नेपाली फिल्म नहेरेको स्वीकार गरे । यद्यपि, भाषा अब चलचित्रको मुख्य बाधा नरहेको उल्लेख गर्दै गुणस्तरीय विषयवस्तु र नयाँ सोच भएका चलचित्रले अन्तर्राष्ट्रिय दर्शक आकर्षित गर्न सक्ने बताए ।

उनले दक्षिण कोरियाली चलचित्रको उदाहरण दिँदै मौलिक कथा, नवीन प्रस्तुति र विश्वस्तरीय निर्माणले कुनै पनि देशको चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न सक्ने धारणा व्यक्त गरे । नेपालप्रति सकारात्मक धारणा व्यक्त गर्दै बेदीले नेपाली दर्शकको आत्मीयता र मायाले आफूलाई घरमै भएको अनुभूति गराएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?