निर्माता आदित्य चोपडाको यशराज फिल्म्स (वाईआरएफ) ले आलिया भट्ट मुख्य भूमिकामा रहेको फिल्म ‘अल्फा’ को टिजर सार्वजनिक गरेको छ । टिजरले युनिभर्सभित्रको पहिलो ‘ओरिजिन स्टोरी’ प्रस्तुत गर्छ, जसमा हत्या गर्नकै लागि हुर्काइएकी र तयार पारिएकी एक युवा हत्याराको कथा देखाइएको छ ।
टिजरमा आलियाले निर्वाह गरेको पात्रलाई उनका बुबाले हुर्काएको देखाइएको छ, जसको भूमिका बबी देओलले निभाएका छन् । वाईआरएफले फिल्मकी अर्की मुख्य अभिनेत्री शरवरीको पात्रबारे पनि चाँडै खुलासा गर्ने जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘अल्फा एक शुद्ध मनोरञ्जनात्मक फिल्म हो, जसले दुई युवतीको ‘अल्फा’ सोच र आत्मविश्वासलाई केन्द्रमा राख्दै महिला पात्रद्वारा नेतृत्व गरिएको, अहिलेसम्म नदेखिएको एक्सन फिल्मको उत्सव मनाउने प्रयास गरेको छ ।’
टिजरमा देओलको पात्रले आफ्नी छोरीको १८औँ जन्मदिन मनाइरहेको देखिन्छ । आलियाले निभाएको उक्त पात्रलाई उनले पहिलो ‘टार्गेट’ समाप्त गर्ने जिम्मेवारी दिन्छन् । त्यसपछि ‘अल्फा’ नामक भारतीय सैनिकको नयाँ पुस्ता तयार पार्ने गोप्य प्रशिक्षण कार्यक्रमको उल्लेख गरिन्छ । टिजरभरि आलियालाई विभिन्न जोखिमपूर्ण स्टन्ट र एक्सन दृश्यमा देख्न सकिन्छ ।
शिव रवाइलको निर्देशनमा बनेको ‘अल्फा’ आगामी जुलाई ३, २०२६ मा विश्वव्यापी रूपमा प्रदर्शनमा आउने तयारीमा छ । फिल्ममा अनिल कपूरको पनि महत्वपूर्ण भूमिका छ ।
रवाइलले यसअघि सन् १९८४ को भोपाल ग्यास दुर्घटनामाथि आधारित नेटफ्लिक्सको चर्चित चार भागको शृंखला द रेलवे मेन’ निर्देशन गरेका थिए । सो शृंखलामा केके मेनन, आर. माधवन, बाबिल खान, दिव्येन्दु शर्मा, जुही चावला र दिव्येन्दु भट्टाचार्यले अभिनय गरेका थिए ।
जुलाई ३, २०२६ लाई अन्तिम प्रदर्शन मिति तय छ । वाईआरएफ स्पाइ युनिभर्सको सुरुआत सन् २०१२ मा सलमान खान र क्याट्रिना कैफ अभिनीत एक था टाइगर बाट भएको थियो । फिल्मको सफलतापछि टाइगर जिन्दा है (२०१७) र टाइगर ३ (२०२३) निर्माण गरिए ।
सन् २०१९ मा ऋतिक रोशन र टाइगर श्राफ अभिनित ‘वार’ प्रदर्शनमा आएको थियो । त्यसपछि सन् २०२३ मा शाहरुख खान र दीपिका पादुकोण अभिनीत ‘पठान’ रिलिज भयो । स्पाइ युनिभर्सअन्तर्गतको पछिल्लो फिल्म ‘वार २’ गत वर्ष प्रदर्शनमा आएको थियो, जसमा ऋतिक रोशन, जुनियर एनटीआर र कियारा आडवाणी मुख्य भूमिकामा थिए ।
प्रतिक्रिया 4