२८ जेठ, काठमाडौं । उत्तर सिक्किमको लाचुङस्थित जिरो पोइन्ट नजिक भारतीय सेनाका जवानहरूले स्थानीय चालकमाथि कुटपिट गरेपछि सिक्किममा विवाद चुलिएको छ ।
चालकहरुले कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका छन् । साथै स्थानीयले आफ्ना गाडीमा ‘चालकप्रति दयालु बन’ भन्ने सन्देशसहितको स्टिकर टाँस्ने अभियान चलाएका छन् ।
स्थानीय सञ्चारमाध्यम र प्रत्यक्षदर्शीहरूका अनुसार ९ जुन (जेठ २६ गते) जिरो पोइन्टबाट फर्किने क्रममा शिव मन्दिर क्षेत्र नजिक चालक अनुष गुरुङमाथि कुटपिट भएको हो । सो गाडीमा एक बिरामी बच्चा थिए । उनलाई छिटो अस्पताल पुर्याउनुपर्ने भएकाले अनुषले अगाडि रहेका सेनाका गाडीका चालकसँग साइड मागेका थिए ।
तर सेनाका जवानहरूले बाटो दिन अस्वीकार गरेपछि दुवै पक्षबीच विवाद भएको बताइएको छ । विवाद चर्किंदै जाँदा सेनाका केही जवानहरूले अनुषमाथि हातपात तथा कुटपिट गरेका थिए ।
कुटपिटको घटनाको एक भिडियोमा सेनाका जवानहरूले एक चालकलाई गाडीबाट बाहिर निकालेर घेरा हालेर सामूहिक रुपमा मुक्का प्रहार गरिरहेको देखिन्छ । यो भिडियो सामाजिक सन्जालमा भाइरल भएसँगै सिक्किमभर आक्रोश उत्पन्न भएको छ ।
चालकहरूको संस्था ‘सारथी वेलफेयर बोर्ड’, ‘अल सिक्किम ड्राइभर्स वेलफेयर काउन्सिल’ र सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) निकट चालक संगठनहरूले संयुक्त रूपमा घटनाको निन्दा गरेका छन् । उनीहरूले यस घटनालाई श्रमजीवी चालकहरूको आत्मसम्मान र सुरक्षामाथिको आक्रमण भएको भन्दै कुटपिटमा संलग्नलाई कारबाहीको माग गरेका छन् ।
चालक संगठनहरूले भारतीय सेना अनुशासित संस्था भएको स्मरण गराउँदै घटनामा संलग्न व्यक्तिहरूमाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्न माग गरेका छन् । उनीहरूले भविष्यमा यस्ता घटना दोहोरिन नदिन स्पष्ट संयन्त्र र जिम्मेवारी निर्धारण गर्न पनि आग्रह गरेका छन् ।
साथै पीडित चालकहरूले लाचुङ प्रहरी चौकीमा भारतीय सेनाका जवानहरूविरुद्ध उजुरी दर्ता गराएका छन् ।
सिक्किमको गुरुङ एसोसिएसनले पनि चालक अनुष गुरुङसहित तीन जनामाथि गरेको कुटपिटको घटनाको कडा निन्दा गरेको छ ।
यसअघि सिक्किममै एक महिला यात्रुले चालकलाई कुटपिट गरेको घटना सार्वजनिक भएको थियो । लगत्तै सेनाका जवानबाट पनि ज्यादति भएको भन्दै स्थानीय चालकहरुले आफ्ना गाडीहरुमा ‘बि काइन्ड टु द ड्राइभर’ अर्थात् ‘चालकप्रति दयालु बन’ लेखिएको स्टिकर टाँस्ने अभियान चलाएका छन् ।
प्रहरी स्रोतका अनुसार घाइते चालकहरूको स्वास्थ्य परीक्षण गराइएको छ भने घटनाबारे अनुसन्धान सुरु गरिएको छ ।
घटनाबारे भारतीय सेनाको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन । सिक्किममा यो विषय अहिले सामाजिक सञ्जालदेखि राजनीतिक तथा नागरिक वृत्तसम्म व्यापक बहसको विषय बनेको छ ।
प्रतिक्रिया 4