News Summary
Generated by OK AI. Editorially reviewed.- महिलाको शरीरमा हुने एस्ट्रोजन हर्मोनले प्राकृतिक सुरक्षा प्रदान गर्ने भएकाले उनीहरूको औसत आयु पुरुषको भन्दा बढी हुने वैज्ञानिकहरू बताउँछन् ।
- स्तनधारी जीवमा पोथीसँग दुईवटा एक्स क्रोमोसोम हुनु र पुरुषमा एउटा मात्र हुनु जैविक रूपमा आयु अन्तरको अर्को मुख्य कारण हो ।
यदि तपाईं महिला हुनुहुन्छ भने सम्भवतः तपाईं आफ्नो दाजुभाइ वा पुरुष साथीहरूको तुलनामा लामो समयसम्म बाँच्न सक्नुहुन्छ । विश्वव्यापी तथ्यांक अनुसार महिलाहरूको औषत आयु पुरुषहरूको भन्दा करिब पाँच वर्ष अधिक हुने गरेको छ ।
त्यसोभए महिलाहरू किन पुरुषभन्दा लामो लामो समयसम्म बाँच्छन् त ? यद्यपि यसको सटीक कारण चाहिँ अझै पूर्णरूपमा स्पष्ट भइसकेको छैन। तथापि वैज्ञानिकहरूसँग यसबारे केही तर्क र व्याख्याहरू छन्, जसले यसको कारण बुझ्न मद्दत गर्छन् ।
यसको प्रमुख कारणमध्ये एउटा हो– महिला र पुरुषको जैविक संरचनामा रहेको भिन्नता । तर उनीहरूको जीवनशैली, खानपान, दैनिक बानी व्यवहारदेखि लिएर जीवनसाथीको छनोटसम्मका धेरै कारकहरूले पनि पुरुषको आयुलाई प्रभावित गर्दछन् ।
तर मानिसमा महिलाको आयू धेरै हुँदा चराचुरुङ्गीजस्ता केही प्रजातिहरूमा चाहिँ भालेको आयु किन लामो हुन्छ त ?
खानपान र जीवनशैली : पुरुषको असामयिक मृत्युमा जिम्मेवार
बेलायतको अक्सफोर्ड इन्स्टिच्युट अफ पपुलेसन एजिङकी निर्देशक प्राध्यापक सारा हार्परका अनुसार लगभग सबैजसो देशमा महिलाहरू पुरुषहरूको तुलनामा लामो समयसम्म बाँच्छन्।
यद्यपि यस्तो आयु अन्तर देशगत रूपमा फरक देखिन्छ । उदाहरणका लागि रूस, युक्रेन र भियतनाममा महिलाहरू पुरुषभन्दा करिब १० वर्ष वा त्योभन्दा बढी समय बाँच्ने गर्छन् । तर नाइजेरियाजस्ता देशहरूमा पुरुष र महिलाको औषत आयुको अन्तर निकै कम छ ।
वैज्ञानिकहरूका अनुसार यो अन्तरको एउटा प्रमुख कारण सामाजिक र व्यवहारजन्य पक्ष नै हो । रूसी पुरुषहरूको औषत आयु महिलाको तुलनामा कम हुनुमा अत्यधिक धुम्रपान र मदिरा सेवन रहेको प्राध्यापक हार्पर बताउँछिन् ।
उनी भन्छिन्- विश्वभर पुरुषहरूमा आयु घटाउने बानीहरू धेरै देखिन्छन् । उनीहरूको खानपान सामान्यतया कम स्वस्थकर हुन्छ र बिरामी हुँदा पनि चिकित्सककहाँ जाने प्रवृत्ति कम हुन्छ ।
उनका अनुसार धेरै समाजमा पुरुषहरूले बढी जोखिमपूर्ण काम गर्छन् र सामाजिक रूपमा पुरुषत्वलाई धेरैजसो जोखिम मोल्ने व्यवहारसँग जोडेर हेरिन्छ । पुरुषहरूमा सडक दुर्घटना, हिंसा, हत्या तथा आत्महत्याका कारण हुने मृत्यु पनि बढी देखिने गरेको उनी बताउँछिन् ।
यद्यपि यो अवस्था समयसँगै परिवर्तन भइरहेको छ । प्राध्यापक हार्परका अनुसार बेलायतमा सन् १९६० र १९७० को दशकमा धूम्रपान विरुद्धका अभियानका कारण पुरुषहरूको असामयिक मृत्युमा कमी आएको थियो।
एस्ट्रोजन हर्मोन : महिलाको सुरक्षा कवच
प्राध्यापक हार्परका अनुसार जीवनशैलीमा सुधार गरेपछि पुरुषहरूको आयु बढ्न सक्छ । तर जीवनशैली परिवर्तन गरेपनि यो अन्तर पूर्णरूपमा हट्ने सम्भावना कम छ । किनकि महिला र पुरुषबीच जैविक भिन्नता सधैं रहन्छ ।
यी भिन्नतामध्ये एउटा महत्वपूर्ण पक्ष हर्मोन हो । स्पेनको भ्यालेन्सिया विश्वविद्यालयमा वृद्धावस्थासम्बन्धी अनुसन्धान गर्ने शरीर विज्ञानविद् प्राध्यापक कन्सुएलो बोर्रासका अनुसार महिलाको शरीरमा हुने यौन हर्मोन एस्ट्रोजनले महिलाको सरिरलाई धेरै प्रकारले सुरक्षा प्रदान गर्छ ।
उनका अनुसार एस्ट्रोजनले शरीरमा कोलेस्टेरोलको मात्रा नियन्त्रण गर्न, प्रतिरक्षा प्रणालीलाई सन्तुलित राख्न, मूत्र संक्रमण रोक्न तथा मस्तिष्क र हड्डीको सुरक्षामा मद्दत गर्छ ।
उनी भन्छिन्- एस्ट्रोजनको एउटा मुख्य विशेषता भनेको यसले एन्टिअक्सिडेन्टको रूपमा काम गर्नु हो । यसले शरीरमा बन्ने हानिकारक कणहरू अर्थात् फ्री रेडिकलहरूको असर कम गर्छ । महिलामा हड्डी कमजोर र खुकुलो हुने रोग अस्टियोपोरोसिस महिलाको उमेर बढ्दै जाँदा र एस्ट्रोजनको कमीका कारण धेरै हुने गरेको उनको भनाइ छ।
टेस्टोस्टेरोन : पुरुषको आयु घटाउने कारक ?
पुरुषको मुख्य यौन हर्मोन टेस्टोस्टेरोन हो जसलाई बढी जोखिम मोल्ने व्यवहारसँग जोडिन्छ ।
प्राध्यापक कन्सुएलो बोर्रासका अनुसार यसले शरीरभित्र केही हानिकारक प्रभाव पार्नसक्ने सम्भावना छ । यद्यपि यसको स्पष्ट कारण अझै पूर्णरूपमा बुझिएको छैन ।
सन् २०१२ मा गरिएको एक अध्ययनमा परम्परागत कोरियाली नपुंसक समूह र सामान्य पुरुषहरूको जीवनकाल तुलना गरिएको थियो । उक्त अध्ययनले शरीरमा टेस्टोस्टेरोन उत्पादन नहुने नपुंशक व्यक्तिहरू सामान्य पुरुषहरूको तुलनामा १४ देखि १९ वर्ष बढी बाँचेको देखायो ।
त्यसैगरी केही जनावरहरूमा प्रजनन क्षमता समाप्त भएपछि भालेहरू लामो समयसम्म बाँच्ने गरेको पनि देखिएको छ । बोर्रासका अनुसार पुरुष सेक्स हर्मोन यो रहस्यको एउटा हिस्सा मात्र हो ।
धेरै जीवनसाथीका लागि प्रतिस्पर्धा : जीवनका लागि घातक
महिलाहरू पुरुषभन्दा किन बढी बाँच्छन् भन्ने बुझ्न वैज्ञानिकहरूले अन्य जीवजन्तुहरूमा पनि अध्ययन गरिरहेका छन् ।
जर्मनीकी अनुसन्धानकर्ता जोहाना स्टार्क भन्छिन्- मानिस मात्र यस्तो प्रजाति होइन जहाँ पोथी बढी उमेरसम्म बाँच्छन् । सिंह, भेडा, ह्वेल र मुसामा पनि यस्तै देखिन्छ । तर चराहरूमा भने अवस्था उल्टो हुन्छ जहाँ भालेहरू बढी बाँच्छन् । यसको एउटा कारण क्रोमोसोम हुन सक्छ ।
उनका अनुसार स्तनधारी प्राणीमा पोथीसँग दुईवटा एक्स क्रोमोसोम हुन्छन् भने भालेसँग एउटा एक्स र एउटा वाई क्रोमोसोम हुन्छ । यदि एउटा एक्स क्रोमोसोममा खराबी आएमा अर्को एक्सले त्यसको क्षतिपूर्ति गर्न सक्छ । तर पुरुषहरूमा एउटा मात्र एक्स क्रोमोसोम हुने भएकाले त्यस्ता खराबीहरू बढी हानिकारक हुन सक्छन् ।
चराहरूमा भने अवस्था उल्टो हुन्छ, जहाँ भालेको शरीरमा दुईवटा जेड क्रोमोसोम हुन्छन् ।
उनका अनुसार यो तथ्यले स्तनधारी प्राणीमा पोथी किन बढी बाँच्छन् र चराहरूमा भाले किन बढी बाँच्छन् भन्ने कुरा केही हदसम्म स्पष्ट गर्न सक्छ ।
प्रजननका लागि खर्च हुने ऊर्जा र आयु
सन् २०२५ मा प्रकाशित अर्को अध्ययनले यस विषयको अर्को पक्ष पनि देखाएको छ ।
जोहाना स्टार्कका अनुसार एक मात्र जीवनसाथी हुने अर्थात् मोनोगेमस प्रजातिहरूमा भाले र पोथीबीचको जीवनकालको अन्तर कम हुन्छ । तर गोरिल्ला र सिंहजस्ता प्रजातिहरू, जहाँ भालेले धेरै जीवनसाथीका लागि प्रतिस्पर्धा गर्छन् उनीहरूमा भाले र पोथीबीचको औषत आयुको अन्तर बढी हुन्छ ।
उनका अनुसार प्रजननका लागि भालेहरूले बलियो शरीर, ठूला सिङ वा अन्य विशेषता विकास गर्न धेरै ऊर्जा खर्च गर्छन् । जसले उनीहरूको आयु घटाउन सक्छ । अर्कोतर्फ पोथीका लागि सन्तानको हेरचाह महत्वपूर्ण भएकाले विशेष गरी लामो आयु भएका प्रजातिहरूमा आमा लामो समयसम्म जीवित रहनु लाभदायक हुन्छ ।
तर… लामो आयु हुनु मात्रै स्वस्थ जीवन होइन
महिलाहरू लामो समयसम्म बाँच्ने भए पनि उनीहरूको जीवन सधैं स्वस्थ र सहज हुन्छ भन्ने छैन । महिलाहरूमा कम्मर दुख्ने, डिप्रेसन, टाउको दुख्ने जस्ता जीवनको गुणस्तर घटाउने स्वास्थ्य समस्याहरू बढी देखिन्छन् ।
प्राध्यापक हार्परका अनुसार महिलाहरूको प्रतिरक्षा प्रणाली बलियो हुन्छ । तर यसले शरीर सुन्निने तथा दुख्नेसँग सम्बन्धित रोगहरूको जोखिम पनि बढाउन सक्छ । साथै उनीहरूको मांसपेशी र हड्डीको संरचना पुरुषहरूको तुलनामा केही कमजोर हुन सक्छ ।
विज्ञहरूका अनुसार केवल जैविक संरचनाले मात्र यी सबै कुरा निर्धारण गर्दैन ।
प्राध्यापक बोर्रास भन्छिन्- जैविक भिन्नताहरू वातावरण र व्यवहारबाट गहिरो रूपमा प्रभावित हुन्छन्। महिला र पुरुष दुवैले राम्रो आहार, नियमित व्यायाम, पर्याप्त निद्रा र तनाव नियन्त्रणमा ध्यान दिनुपर्छ ।
यो केवल लामो आयुका लागि मात्र होइन राम्रो र स्वस्थ जीवनका लागि पनि आवश्यक हुन्छ ।
बीबीसीबाट
प्रतिक्रिया 4