0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरण : गोविन्दबहादुरलाई १० वर्ष कैद सजाय

सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्यामा संलग्न भएको आरोप लागेका गोविन्दबहादुर बटालालाई १० वर्षको कैद सजाय तोकेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २८ गते २०:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्यामा संलग्न अभियोग लागेका गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय सुनाएको छ ।
  • अदालतले यसअघि संयुक्त इजलासबाट भएको ३ वर्ष कैदको फैसला उल्ट्याउँदै पुनरावलोकनमार्फत बटालालाई १० वर्ष कैद सजाय तोकेको हो ।

२८ जेठ, काठमाडौं । सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्यामा संलग्न भएको आरोप लागेका गोविन्दबहादुर बटालालाई १० वर्षको कैद सजाय तोकेको छ ।

न्यायाधीशहरू डा. नहकुल सुवेदी, अव्दुल अजीज मुसलमान र शान्तिसिंह थापाको इजलासले यसअघि सर्वोच्चकै फैसला उल्ट्याउँदै बटालालाई १० वर्षको कैद सजाय सुनाएको हो ।

सर्वोच्च अदालतको संयुक्त इजलासले बटालालाई ३ वर्षमात्रै कैद सजाय तोकेको थियो । पुनरावलोकनका क्रममा त्यो फैसला उल्टिएर १० वर्ष कैद सजाय तोकिएको हो ।

१८ वर्षअघिको घटना

२०६२/६३ को जनआन्दोलनपछि माओवादी शान्ति प्रक्रियामा आएका थिए । माओवादीका जनमुक्ती सेना विभिन्न शिविरमा केन्द्रित हुन थालेका थिए ।

चितवनको शक्तिखोरमा रहेको तेस्रो डिभिजनले काटेश्वरका व्यापारी रामहरी श्रेष्ठको घरमा सम्पर्क कार्यालय खोलेको थियो ।

१४ चैत, २०६४ मा सम्पर्क कार्यालयमा १७ लाख रुपैंया र एउटा पेस्तोल चोरी भयो । घटनाको छानविनका लागि भन्दै बटाला सहितको टोलीले केशव अधिकारी, गंगाराम थापा र रामहरी श्रेष्ठलाई अपहरण गरी चितवन लगेका थिए ।

डिभिजनका ब्रिगेड कमाण्डर बटालाले सोधपुछ गर्दा रामहरीले आफूसँग नियन्त्रणमा लिइएका केशव अधिकारी र गंगाराम थापाको नाम पोलेका थिए ।

गोविन्द बटालाको दाबी अनुसार, २०६५ साल बैशाख ३१ गते विहान ‘चोरीको रहस्य किन खोलिस् ?’ भन्दै रामहरी श्रेष्ठलाई केशव अधिकारी र गंगाराम थापाले कुटपिट गरी मरणाासन्त अवस्थामा पुर्‍याएका थिए ।

शव नारायणीमा

उनलाई उपचारका लागि अस्पताल लैजान खोज्दा बाटोमा मृत्यु भएको थियो । उनको लास गोविन्दबहादुर बटालाले नारायणी नदिमा फालेको भनी जनमुक्ती सेना नेपाल तेस्रो डिभिजनले ३ जेठ, २०६५ मा प्रहरीमा पत्र पठाएको थियो ।

रामहरीकी पत्नी रमिलाले बटाला नेतृत्वको माओवादी कार्यकर्ताको टोलीले ‘सानो काम छ भनी कब्जामा लिएको’ भन्दै बानेश्वर प्रहरीमा जाहेरी दिएकी थिइन् । उनले जाहेरीमा कालीबहादुर खाम र गोविन्दबहादुर माथि घटनामा संलग्न रहेको किटानी गरेकी थिइन् ।

गोविन्दबहादुरले मरणासन्न अवस्थामा रहेका रामहरीलाई उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा नारायणगढ मुग्लिन सडकको भालुढुंगामा मृत्यु भएको दावी गरेका थिए । घटनामा मुछिएको गंगाराम र केशवले शवलाई तन्नामा राखी ढुंगा हालेर झोलुंगे पुलको बीचबाट नारायण नदीमा फालेको बटालाले बयानमा खुलाएका थिए ।

पानीमै डुबोस र नभेटियोस भन्ने उद्देश्यले उनीहरुले लाशलाई तन्नामा बेरेर त्यसमा ढुंगासमेत राखेको जाँचबुझ समितिको प्रतिवेदनमा उल्लेख छ । खोजबीच गर्दा नभेटिएको शवपछि सड्न लागेको अवस्थामा त्रिशुली किनारमा फेला पर्‍यो ।

तर चितवनस्थित शिक्षण अस्पतालको अभिलेख अनुसार, श्रेष्ठको मत्यु बटालाले भने जस्तो उपचार गर्न काठमाडौं लैजाने क्रममा नभई अस्पतालको आईसीयूमा भएको थियो । अस्पतालका चिकित्सक डा. भोजराज अधिकारीले अचेत अवस्थामा श्रेष्ठलाई चार जनाले अस्पताल पुर्‍याएको बताएका थिए ।

घटनापछि कालीबहादुर खाम सहित रघु भनिने केशव अधिकारी, एटम भनिने गंगाराम थापा अनि संकल्प भनिने अर्जुन कार्की फरार भए । बटालाले कुटपिटको दोष केशव अधिकारी र गंगाराम थापामाथि थपेर आफू निर्दोष रहेको बयान गरे ।

ज्यान मुद्दामा ३ वर्ष कैद

१७ जेठ, २०६८ मा जिल्ला अदालत चितवनले बटालालाई ३ वर्ष कैद फैसला गर्‍यो । २० मंसीरमा अर्जुन कार्कीलाई घटनामा संलग्न नभएको तर घटना भएको देख्दादेख्दै मौन बसेको भन्दै २० रुपैंया जरिवानाको फैसला सुनाइदियो ।

२० रुपैंया जरिवाना तिर्नुपर्ने अर्जुन कार्की जिल्ला अदालतको फैसला स्वीकार गरेर पुनरावेदन गएनन् । ३ वर्ष सजाय पाएका बटालाले आफू निर्दोष भएको दाबी गर्दै पुनरावेदन गरे ।

कार्की र बटाला दुवैलाई कम सजाय भएको भनी सरकारी वकिल कार्यालयको कार्यालय पनि पुनरावेदनमा गयो । शव गाडीमा राखी गायब गर्ने काममा मतियार भएकाले कार्कीमाथि पनि सजाय हुनुपर्ने सरकारी वकिलको माग थियो ।

पुनरावेदन अदालतले माओवादीको तेस्रो डिभिजनमा नियन्त्रणमा रहेको ठाउँमा कुटपीट भएको ठहर गर्‍यो । पुनरावेदन अदालतले बटालालाई ठहर भएको ३ वर्ष कैद सदर गर्‍यो ।

विवादास्पद सफाइ

साउन २०७७ मा सर्वोच्च अदालतले बटालालाई प्रत्यक्ष हत्यामा संलग्न नभएको निष्कर्ष सहित सफाई दियो । न्यायाधीशहरु तेजबहादुर केसी र टंकबहादुर मोक्तानले घटनामा बटाला संलग्न नभएको ठहर गरे । त्यही इजलासले अर्का आरोपित अर्जुन कार्कीलाई जिल्ला र पुनरावेदन अदालतकै फैसला सदर गरी २० रुपैंया जरिवाना गरेको थियो ।

फैसला सार्वजनिक हुनासाथ न्यायाधीशहरुमाथि चौतर्फी प्रश्न उठेको थियो । पत्नीहत्याको आरोप लागेका रञ्जन कोइरालालाई कैद मिनाहा गर्ने सर्वोच्चको फैसलामाथि प्रश्न उठिरहेका बेला बटालाले पनि सफाइ पाएका थिए ।

महान्यायाधिवक्ताको कार्यालयले फैसलाविरुद्ध पुनरावेदनको निवेदन दियो । न्यायाधीशहरु दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा. मनोजकुमार शर्माको १५ असोज, २०७७ मा फैसला पुनरावलोकन गर्ने आदेश गरेका हुन् ।

त्यसको करिब साढे पाँच वर्षपछि सर्वोच्च अदालतको पूर्ण इजलासले आफ्नै संयुक्त इजलासका साथै पुनरावेदन र जिल्ला अदालतका फैसलाहरू उल्ट्याएर बटालालाई १० वर्षको कैद सजाय तोकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?