२८ जेठ, धनगढी । हुुम्लाबाट बाजुराको हिमाली गाउँपालिका–३ को लाम्पाटा आएर जनप्रतिनिधिसहितका व्यक्तिमाथि कुुटपिट गरेको घटनामा दोषीलाई कारबाही नगरिएको भन्दै बाजुराबासी आन्दोलित भएका छन् । हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा बुुधबारदेखि स्थानीय आन्दोलित भएका हुन् ।
उनीहरूले टनामा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, वडा नम्बर ३ का वडा सदस्य पेमागारा गुरुङलगायतमाथि कुटपिट गर्नेलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याउनुपर्ने माग राखेका छन् । आन्दोलित स्थानीयले सडकमा टायर बाल्दै प्रदर्शन गरेका छन् । उनीहरूको प्रदर्शनका कारण धुुलाचौरमा सवारीसाधन चल्न सकेका छैनन् ।
सवारीसाधन नचलेपछि स्थानीयसँगै धुलाचौरको बाटो भएर कैलाश मानसरोवर जानेहरू समेत समस्यामा परेका छन् । काठमाडौंबाट १८ जनाको समूहमा कैलाश मानसरोवर गइरहेका सोलखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका शुक्र तामाङले स्थानीयको आन्दोलनका कारण समस्या भएको बताए ।
उनकाअनुसार कर्णाली करिडोर हुँदै बिहीबार बिहान ५ बजे मात्रै उनीहरू सवार बस धुलाचौर पुगेको थियो । तर, स्थानीयले सडक अवरुद्ध गरेका कारण बस धुलाचौरभन्दा अघि बढ्न नसकेको उनी बताउँछन् । अहिले उक्त समूह पैदलमार्ग भएर मानसरोवरतर्फ हिँडेको छ ।
उनीजस्तै धुलाचौर भएर मानसरोवर जाने अन्य केही यात्रुहरू पनि पैदल भएरै अघि बढेका छन् । बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले धुलाचौरमा बुधबारदेखि नै स्थानीय आन्दोलित भएको बताए ।
उनले बाजुरा प्रहरीमा परेको उजुरीका आधारमा हुम्ला प्रहरीको सहयोगमा कुटपिटमा संलग्नहरूको खोजी भइरहेको पनि जानकारी दिए ।
जेठ ३ गते मा हुम्लाबाट आएका स्थानीयले लाम्पाटा गाउँ पुगेर वडासदस्य पेमागारा गुरुङलगायत स्थानीयलाई कुटपिट गरी बन्धक बनाएका थिए । पर्यटन प्रवर्द्धनका लागि साइपाल हिमालेको वेसक्याम्प रानीसैन गइरहेको धनगढीका मेयर गोपाल हमालको समूहमाथि पनि ढुंगामुढा भएको थियो ।
केही दिनअघि रानीसैन क्षेत्रमा स्थानीयले बनाएका भेडाका गोठहरूमा पनि आगजनी गरिएको थियो । स्थानीयबासीले घटनाको निष्पक्ष छानबिन गरी आगजनी, कुटपिट तथा लुटपाटमा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।
सदरमुकाम मार्तडीमा पनि स्थानीयले घटनाको विरोधमा बुधबार प्रर्दशन गरेका थिए ।
प्रतिक्रिया 4