+
+
Shares

खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा सीईओ नियुक्ति प्रक्रिया सुरु

२१ दिनभित्र आवेदन दिन आह्वान

दरखास्त दिने अन्तिम मितिसम्म ३५ वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेका इच्छुकले आवेदन दिन सक्नेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २९ गते १४:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको रिक्त प्रमुख कार्यकारी अधिकृत पदका लागि खुला प्रतिस्पर्धाबाट दरखास्त आह्वान गरेको छ ।
  • दरखास्तका लागि ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको र सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको व्यवस्थापकीय अनुभव भएको हुनुपर्ने छ ।
  • इच्छुक उम्मेदवारले व्यावसायिक कार्ययोजनासहित सूचना प्रकाशित भएको २१ दिनभित्र सिंहदरबारस्थित मन्त्रालयमा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

२९ जेठ, काठमाडौं । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति प्रक्रिया अगाडि बढाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सीईओ पदका लागि योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।

मन्त्रालयले ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका २०७८’ को मापदण्ड अनुसार नियुक्ति प्रक्रिया अघि बढाएको छ ।

दरखास्त दिने अन्तिम मितिसम्म ३५ वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेका इच्छुकले आवेदन दिन सक्नेछन् । शैक्षिक योग्यताका हकमा मान्यता प्राप्त विश्वविद्यालयबाट प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच वर्षको कार्य अनुभव भएको हुनुपर्ने छ ।

योग्यता पुगेका इच्छुक उम्मेदवारलाई सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र सिंहदरबारस्थित मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखामा कार्यालय समयभित्र आवेदन दिन भनिएको छ ।

‘योग्य र सक्षम नेतृत्व चयनका लागि खुला प्रतिस्पर्धाको बाटो रोजिएको’ सूचनामा उल्लेख छ । आवेदकले दरखास्तका साथ मन्त्रालयको वेबसाइटमा उपलब्ध ढाँचामा वैयक्तिक विवरण, शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि, अनुभव खुल्ने कागजात र दुई प्रति पासपोर्ट साइजको फोटो पेस गर्नुपर्ने छ ।

विशेषत: उम्मेदवारले कम्पनी सञ्चालनका लागि बढीमा ५ हजार शब्दको व्यावसायिक कार्ययोजना समेत बुझाउनुपर्ने प्रावधान छ ।

दरखास्तका लागि ५ हजार रुपैयाँ दस्तुर तोकिएको छ, जुन राष्ट्रिय वाणिज्य बैंकमा रहेको मन्त्रालयको खातामा जम्मा गरी सक्कल भौचर पेस गर्नुपर्ने छ ।

छनोट प्रक्रिया अन्तर्गत सुरुमा परेका आवेदनमध्येबाट सर्टलिस्ट (छनोट सूची) तयार पारिने छ र ती उम्मेदवारलाई कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाइने छ ।

सरकारी निकाय वा संस्थानमा कार्यरत कर्मचारीका हकमा भने दरखास्तका साथ कार्यरत निकायबाट विभागीय स्वीकृतिको पत्र अनिवार्य गरिएको छ ।

यस नियुक्ति सम्बन्धी थप जानकारीका लागि मन्त्रालयको वेबसाइट र फोन नम्बर मार्फत सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?