+
+
Shares
विचार :

पर्यटन सबैको अधिकार, व्यवस्थापन हाम्रो जिम्मेवारी

भारतबाट आउने धेरै पर्यटक धार्मिक यात्राका लागिमात्र होइन, किनमेल, होटल, यातायात, खानपान र अन्य क्षेत्रमा पनि महत्त्वपूर्ण खर्च गर्ने यात्रु हुन् ।

दीपकराज जोशी दीपकराज जोशी
२०८३ जेठ ३० गते ८:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय धार्मिक पर्यटकले सडक र नदी किनारमा खाना पकाउने तथा लुगा धुने गरेको भन्दै आलोचना बढेपछि व्यवस्थित पर्यटनको आवश्यकता औँल्याइएको छ।
  • नेपाल भित्रिने पर्यटकमध्ये ठूलो हिस्सा भारतीय रहेकाले उनीहरूका लागि आवश्यक भौतिक पूर्वाधार र विश्रामस्थल व्यवस्थापन गर्नुपर्ने देखिन्छ।
  • सीमा नाकामै अंग्रेजी र हिन्दी भाषामा पर्यटक आचारसंहिता उपलब्ध गराएर धार्मिक पर्यटनलाई मर्यादित बनाउन सकिने सुझाव दिइएको छ।

पछिल्लो समय केही भारतीय धार्मिक पर्यटकले सडक छेउमा खाना पकाउने, नदीताल किनारमा लुगा धुने वा कतिपय स्थानमा अव्यवस्थित बसोबास गरेको विषयमा चर्चा र आलोचना भइरहेका छन् ।

केही अवस्थामा यस्ता गतिविधिले गन्तव्यको सौन्दर्य, वातावरण र स्थानीय जनजीवनमा असर पार्न सक्छन् । तर, यसलाई कुनै पनि देश, समुदाय वा वर्गका पर्यटकको आलोचनाको विषय बनाइनु हुँदैन । यहाँ पर्यटक समस्या होइनन्, अव्यवस्थित पर्यटन समस्या हो । कम बजेटमा यात्रा गर्ने, धार्मिक आस्थाले प्रेरित भएर आउने वा सामान्य सुविधामा यात्रा गर्ने यात्रुहरूलाई पनि यात्रा गर्ने अधिकार छ ।

कुनै पनि देशमा आउने यात्रुहरूलाई उनीहरूको आर्थिक हैसियत, राष्ट्रियता, धर्म, भाषा वा यात्रा गर्ने शैलीका आधारमा वर्गीकृत गरेर हेर्नु र हेप्नु पर्यटनको मूल मर्म होइन ।

अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका तस्वीरका आधारमा (केही कृत्रिम बौद्धिकता अर्थात् एआई निर्मित तस्वीरहरू) विभिन्न प्रश्न उठिरहेका छन्, जसले गन्तव्य र पर्यटकबीच द्वन्द्व सिर्जना गर्ने र स्रोत बजारमा नेपालबारे गलत भ्रम सिर्जना हुने जोखिम छ । तर, वास्तविक प्रश्न हाम्रो पर्यटन व्यवस्थापन प्रणालीको तयारी र क्षमतामाथि उठ्नुपर्ने छ ।

विश्वभरि धार्मिक पर्यटन तीव्र रूपमा विस्तार भइरहेको छ । सन् २०२५ को तथ्यांक अनुसार कुल पर्यटक आगमन ११ लाख ५८ हजार ४ सय ५९ मध्ये १४.४ प्रतिशत धार्मिक पर्यटक आगमन देखिन्छ । उनीहरूले नेपालका पशुपतिनाथ, जनकपुर, मुक्तिनाथ, लुम्बिनी, मनकामना, हलेसी तथा अन्य विभिन्न धार्मिक गन्तव्य भ्रमण गरेका छन् । त्यसमा पनि भारतीय पर्यटक उल्लेख्य छ । धार्मिक पर्यटन सफलतासँग पूर्वाधार, सरसफाइ, आवास, सार्वजनिक शौचालय, फोहोर व्यवस्थापन तथा आगन्तुक व्यवस्थापन प्रणाली प्रत्यक्ष जोडिएका हुन्छन् ।

भारत तथा नेपालका धेरै धार्मिक गन्तव्यमा कम बजेटका तीर्थयात्रीको ठूलो उपस्थिति देखिन्छ । उनीहरूको यात्रा शैली सामान्य पर्यटकभन्दा फरक हुन सक्छ । कतिपयले आफैं खाना पकाउँछन्, समूहमा यात्रा गर्छन् र न्यूनतम खर्चमा तीर्थयात्रा पूरा गर्न चाहन्छन् । यो उनीहरूको सांस्कृतिक अभ्यास र धार्मिक आस्थासँग सम्बन्धित विषय पनि हो ।

त्यसैले उनीहरूको उपस्थितिलाई समस्या मान्नुभन्दा पनि त्यस्ता यात्रुका लागि व्यवस्थित विश्रामस्थल, सामूहिक भान्सा, पार्किङ क्षेत्र, सरसफाइ सुविधा र फोहोर व्यवस्थापन प्रणाली निर्माण गर्नु राज्य, स्थानीय तह र पर्यटन क्षेत्रको जिम्मेवारी हो । सर्वप्रथम यसका लागि आवाज उठाऔं, व्यवस्थापन गरौं ।

विशेषगरी नेपालका लागि भारत सबैभन्दा महत्त्वपूर्ण पर्यटन बजारमध्ये एक हो । सन् २०२५ मा हवाईमार्ग मार्फत नेपाल आगमन भएका पर्यटकको २५.२४ प्रतिशत भारतीय पर्यटक छन् । त्यसैगरी २०२६ जनवरीदेखि मेसम्म पाँच महिनाको तथ्यांक हेर्दा पनि कुल ५ लाख २९ हजार ९० मध्ये १ लाख ३७ हजार ७५ भारतीय पर्यटक छन् ।

यसबाहेक विश्वमै उदाहरणीय बनेको नेपाल–भारत खुला सीमानाको सुविधा प्रयोग गर्दै ठूलो संख्यामा सडक मार्गमार्फत पनि भारतीय पर्यटकको आगमन उल्लेख्य पाइन्छ । भारतबाट आउने धेरै पर्यटक धार्मिक यात्राका लागिमात्र होइन, किनमेल, होटल, यातायात, खानपान र अन्य क्षेत्रमा पनि महत्त्वपूर्ण खर्च गर्ने यात्रु हुन् ।

त्यसैले केही घटनालाई सामान्यीकरण गरेर प्रस्तुत गर्दा त्यसले भारतका सम्भावित यात्रुहरूमा नेपाल सुरक्षित र स्वागतयोग्य गन्तव्य नभएको सन्देश प्रवाह हुँदा नेपालको पर्यटन क्षेत्रले बेहोर्ने क्षति ठूलो हुन सक्छ ।

तीर्थयात्रीको संख्या बढेसँगै भारत लगायत मुलुकका धार्मिक केन्द्रहरूमा पूर्वाधार विस्तार, भीड व्यवस्थापन, सरसफाइ र सार्वजनिक सेवामा ठूलो लगानी गरिएको छ । त्यस्तै अत्यधिक पर्यटक चापले वातावरणीय असर पार्न थालेपछि धेरै गन्तव्यले व्यवस्थापन सुधारलाई प्राथमिकता दिएका छन् ।

पर्यटन खुला समाजको प्रतीक हो । यहाँ धनी र गरिब, विदेशी र स्वदेशी, साहसिक पर्यटक र तीर्थयात्री सबैको समान स्थान हुन्छ । नेपालको चुनौती पर्यटक छान्ने होइन, सबै प्रकारका पर्यटकलाई व्यवस्थित गर्ने हो । पर्यटन सबैको अधिकार हो, तर त्यसलाई सभ्य, स्वच्छ, सुरक्षित र दिगो बनाउने जिम्मेवारी हामी सबैको हो ।

नेपालले पनि पर्यटक भ्रमणलाई कसरी व्यवस्थित, सुरक्षित र सम्मानजनक अनुभव प्रदान गर्ने भन्ने दिशामा ध्यान केन्द्रित गर्नुपर्छ । यदि कुनै पर्यटक सडक किनारमा खाना पकाउन बाध्य छन् भने त्यसको अर्थ त्यहाँ आवश्यक सुविधा पुगेका छैनन् कि भन्ने पनि हो । यदि नदी किनारमा कपडा धुने अवस्था छ भने त्यसले सार्वजनिक पूर्वाधार अभावलाई संकेत गर्छ कि ? दोष व्यक्तिमा मात्र खोजेर समस्या समाधान हुँदैन, समाधान व्यवस्थापन, योजना र पूर्वाधार विकासका माध्यमबाट गरिनुपर्छ ।

त्यसमा पनि धार्मिक यात्राको एउटा विशेष पक्ष के हो भने धेरै तीर्थयात्री सहजता र विलासिताभन्दा आस्था र अनुभवलाई प्राथमिकता दिन्छन् । कठिन यात्रालाई पनि आफ्नो आस्थाको प्रतीकका रूपमा वर्णन गर्ने प्रचलन नभएको पनि होइन । त्यसैले उनीहरूको जीवनशैली र यात्राको प्रकृति बुझ्दै आवश्यक व्यवस्थापन गर्नु नै दीर्घकालीन समाधान हो ।

यसका लागि प्रमुख धार्मिक गन्तव्यमा यस्ता केही व्यावहारिक कदम चाल्न लिन सकिन्छ :

धर्मशाला र आधारभूत सुविधा सहित विश्राम केन्द्र निर्माण गर्ने

स्थानीय तह, मन्दिर व्यवस्थापन समिति र निजी क्षेत्रले सस्तो बसाइ, शौचालय, खानेपानी, फोहोर व्यवस्थापन र खाना पकाउने निश्चित स्थानसहित सुविधा विस्तार र विकास गर्न सक्छन् । त्यस्तै पार्किङ, विश्राम र खाना पकाउने क्षेत्र तोक्नुपर्छ । सडक, नदी किनार वा सार्वजनिक स्थानमा हुने अव्यवस्थित गतिविधि रोक्न यात्रुका लागि निश्चित स्थान तयार गर्न र तोकिएको ठाउँमा मात्र बसाउने गर्न सकिन्छ ।

प्रवेश नाकामै आचारसंहिता उपलब्ध गराउने

नेपाल प्रवेश गर्दा अंग्रेजी र हिन्दी भाषामा यात्री आचारसंहिता दिने, जसमा वातावरण संरक्षण, सार्वजनिक स्थानको सम्मान, सरसफाइ र स्थानीय संस्कृतिको सम्मानजस्ता विषय समेट्न सकिन्छ (तल सुझाए जस्तै) र लक्षित वर्गमा यसको प्रचार गर्ने ।

शाकाहारी भोजनको राम्रो विकल्प विकास गर्ने

धार्मिक पर्यटकको ठूलो हिस्सा शाकाहारी भोजन रुचाउने भएकाले नेपाली उद्यमीहरूले विशेषगरी तीर्थ तथा पर्यटकीय क्षेत्रहरूमा स्वच्छ, गुणस्तरीय र सस्तो शुद्ध शाकाहारी रेस्टुरेन्ट विस्तार गर्न सक्छन् । यसले यात्रुलाई सुविधा दिनुका साथै नयाँ व्यावसायिक अवसर पनि सिर्जना गर्छ ।

स्थानीय समुदायलाई सहजीकरणमा जोड्ने

नेपाल अतिथि सत्कारको उत्कृष्ट गन्तव्य हो । समस्या देखिए आलोचना वा असहज बनाउनेभन्दा सूचना दिने, सहयोग गर्ने र सही दिशामा लैजाने संस्कार विकास गर्नुपर्छ । पर्यटनमा आतिथ्य प्रदान गर्ने मुलुक वा गन्तव्य व्यवस्थापक जिम्मेवार बन्नुको विकल्प छैन भने पर्यटकहरू पनि फोहोर नगर्ने, सार्वजनिक स्थानको सम्मान गर्ने र स्थानीय नियम पालना गर्ने कुरामा उत्तिकै जिम्मेवार हुन जरुरी छ । गन्तव्यको जिम्मेवारी भनेको विभिन्न प्रकारका यात्रुको आवश्यकता बुझेर पूर्वाधार तयार गर्नु पनि हो । हामीले आलोचना भन्दा समाधान खोज्नुपर्छ । किनकि, पर्यटन केवल आगन्तुकको व्यवहारले होइन, स्वागत गर्ने गन्तव्यको तयारी र दृष्टिकोणले पनि परिभाषित हुन्छ ।

सतहमार्ग (सडकमार्ग) बाट आउने भारतीय पर्यटक तथा तीर्थयात्रीका लागि निम्नानुसारको आचारसंहिता अंग्रेजी र हिन्दी भाषामा बनाएर सीमा प्रवेशको अनुमति लिने समयमा उपलब्ध गराउने व्यवस्था गर्दा यस्ता समस्या धेरै हदसम्म समाधान हुन सक्छन् :

‘नेपालमा तपाईंको यात्रा सुरक्षित, स्वच्छ र स्मरणीय बनाऔं’

१. नेपालका पर्यटकीय गन्तव्य स्वच्छ र सफा राख्न सहयोग गर्नुहोस्

फोहोर तथा प्लास्टिकजन्य सामग्री तोकिएको स्थानमा मात्र फाल्नुहोस् । सार्वजनिक स्थलको सरसफाइमा योगदान गर्नुहोस् ।

२. धार्मिक तथा सार्वजनिक स्थलहरूको मर्यादा कायम राख्नुहोस्

बाटोका वा बास बस्ने स्थानका खुला स्थानमा नुहाउने, कपडा धुने, खाना पकाउने वा भाँडा माझ्ने कार्य नगर्नुहोस् । यस्ता कार्यका लागि तोकिएका स्थानहरू प्रयोग गर्नुहोस् ।

३. सुरक्षित यात्रा गर्नुहोस्

ट्राफिक नियमहरूको पालना गर्नुहोस् । सवारीसाधन तोकिएको पार्किङ स्थल वा अनुमति प्राप्त स्थानमा मात्र पार्क गर्नुहोस् । ३ हजार मिटरभन्दा माथिको उचाइमा जाँदा थप सतर्कता अपनाउनुहोस् । उच्च हिमाली क्षेत्रमा ‘हाई अल्टिच्युड सिकनेस’ (लेक लाग्ने समस्या) हुन सक्छ । एकैदिन उच्च स्थानमा नपुग्नुहोस्, यात्रामा विश्राम पनि आवश्यक हुन्छ ।

४. आपतकालीन अवस्थामा सहयोग लिनुहोस्

कुनै समस्या वा आपतकाल परे पर्यटक प्रहरी वा स्थानीय प्रशासनसँग सम्पर्क गर्नुहोस् ।

५. स्थानीय उत्पादन र सेवा प्रयोग गर्नुहोस्

स्थानीय खाना, संस्कृति, हस्तकला र सेवाहरूको अनुभव लिनुहोस् । यसले स्थानीय अर्थतन्त्रलाई सहयोग पुर्‍याउँछ ।

६. नेपालका अन्य गन्तव्य पनि अनुभव गर्नुहोस्

तीर्थस्थल र प्रमुख स्थानसँगै नजिकका प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक गन्तव्य भ्रमण गरी नेपालको विविधता महसुस गर्नुहोस् ।

७. वातावरण, स्थानीय संस्कृति र परम्परा सम्मान गर्नुहोस्

नेपालको विविध संस्कृति, धार्मिक आस्था र सामाजिक मूल्यमान्यता सम्मान गर्नुहोस् । वातावरण संरक्षणमा तपाईंको योगदान बढाउनुहोस् । नेपाल तपाईंलाई हार्दिक स्वागत गर्दछ । तपाईंको यात्रा सुरक्षित, सुखद र अविष्मरणीय रहोस् ।

यस्तो व्यवस्थापनबाट हाम्रो पर्यटन थप राम्रो बनाउन सकिन्छ । भारतबाट आउने हरेक यात्रु केवल पर्यटक होइनन्, उनीहरू नेपालको संस्कृति, अर्थतन्त्र र जनस्तरसँग जोडिने सम्बन्धका दूत पनि हुन् । सकारात्मक पहल सहितको सक्रियताले पर्यटन दीर्घकालमा पनि थप परिणाममुखी हुनेछ ।

(लेखक जोशी नेपाल पर्यटन बोर्डका निवर्तमान सीईओ हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?