एआई प्रणाली ‘क्लड’को कम्पनी एन्थ्रोपिकलाई अमेरिकी सरकारले आफ्ना नयाँ र शक्तिशाली एआई मोडेलहरू विदेशी नागरिकका लागि बन्द गर्न आदेश दिएको छ ।
अमेरिकी सरकारले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै निर्देशिका जारी गरेपछि कम्पनीले आफ्ना अत्याधुनिक मोडेलहरू ‘फेबल ५’ र ‘माइथोज ५’ मा विदेशी नागरिकहरूको पहुँच रोकेको हो ।
क्लड च्याटबोट सञ्चालन गर्ने कम्पनी एन्थ्रोपिकका अनुसार शुक्रबार बेलुकी अमेरिकी सरकारबाट यस्तो आदेश आएको थियो, जसमा सरकारले सुरक्षा चिन्ताको विस्तृत विवरण भने खुलाएको छैन ।
यसअनुसार अब अमेरिका बाहिर रहेका विदेशीहरू मात्र नभई हाल अमेरिकामै बसिरहेका र स्वयं एन्थ्रोपिक कम्पनीमा कार्यरत विदेशी कर्मचारीहरूले समेत यी नयाँ एआई मोडेलहरू प्रयोग गर्न पाउने छैनन् ।
तर, प्रयोगकर्ताको राष्ट्रियता छुट्याएर मात्र बन्द गर्न प्राविधिक रूपमा सम्भव नभएकाले, एन्थ्रोपिकले बाध्य भएर यी दुई मोडेल सबै प्रयोगकर्ताका लागि नै अस्थायी रूपमा बन्द गर्नुपरेको हो ।
क्लडका अन्य सामान्य मोडेलहरू भने पहिलेजस्तै सामान्य रूपमा चलिरहेका छन् ।
अमेरिकी सरकारले यो निर्णय लिनुको मुख्य कारण एन्थ्रोपिकको ‘माइथोज’ माेडल कम्प्युटर सफ्टवेयर र प्रोग्रामहरूमा दशकौँदेखि लुकेका सुरक्षा कमजोरीहरू पत्ता लगाउन निकै शक्तिशाली मानिनु हो ।
अमेरिकी अधिकारीहरू र केही छानिएका कम्पनीहरूले आफ्ना प्राविधिक कमजोरीहरू सुधार्न यसको प्रयोग पनि गर्दै आएका थिए । तर, सुरुदेखि नै यो प्रविधि गलत हातमा परेमा खतरनाक साइबर हतियार बन्नसक्ने चिन्ता भने रहँदै आएको थियो ।
कम्पनीले यही हप्ता मात्रै सार्वजनिक गरेको ‘फेबल ५’ मोडेल पनि यही ‘माइथोज’ प्रविधिमा आधारित छ, जसमा साइबर सुरक्षा र जैविक प्रविधिसम्बन्धी फिचरहरु बन्द गरेर राखिएका थिए ।
तर, करोडौँ मानिसहरूले प्रयोग गर्ने सफ्टवेयरलाई यही एउटा कारण देखाएर बन्द गरिनु गलत भएको भन्दै कम्पनीले सरकारी निर्णयप्रति असहमति पनि जनाएको छ ।
प्रतिक्रिया 4