+
+
Shares

किन नाचिन्छ भूमे, यस्तो छ ऐतिहासिक कथा

भूमे पर्व रोल्पा र रुकुमपूर्वमा मात्र सीमित नरही पछिल्लो केही वर्षदेखि राष्ट्रिय र अन्तर्राष्ट्रीयकरण भएको छ । त्यस क्षेत्रबाट बसाइँ सरेर गएका मगर समुदायहरूले काठमाडौं, दाङ तथा पोखरालगायतका नेपाल तथा अमेरिका, जापान, युके, कतार लगायतका विभिन्न सहरमा विस्तार गरेका छन् ।

सूर्यप्रकाश बुढामगर सूर्यप्रकाश बुढामगर
२०८३ असार १ गते ६:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मगर समुदायले भूमि पूजा गरी मनाउने ऐतिहासिक तथा सांस्कृतिक ‘भूमे पर्व’ असार १ गते रोल्पा र रुकुम लगायतका जिल्लामा धुमधामका साथ मनाइँदै छ ।
  • लुम्बिनी प्रदेश सरकारले भूमे पर्वको अवसरमा असार १ गते रोल्पा, दाङ, प्युठान र रुकुम पूर्वमा सार्वजनिक बिदा दिएको छ ।
  • यो मौलिक पर्व पछिल्लो समय नेपालका विभिन्न सहरका साथै अमेरिका, जापान, बेलायत र कतारलगायतका देशमा समेत विस्तार भएको छ ।

१ असार, रोल्पा । आज असार १ गते, मगर समुदायको विशेष दिन । मगर बाहुल्य जिल्लाहरु बागलुङ, रुकुम पश्चिम, पूर्वी रुकुम, रोल्पा, दाङलगायतमा भूमे पर्व (भूमे नाच)लाई धुमधाम मनाइन्छ । मगर समुदायले भूमि अर्थात जमिनको पूजा गरेर यो पर्व मनाउने गर्छन् ।

मौलिक, कला, सांस्कृतिक, वेषभूषा र धार्मिक महत्व बोकेको भूमे नाचले मगर समुदायलाई एकताबद्ध गराउन भूमिका खेलेको छ । मगर समुदायको भनिएता पनि भूमे सबैको साँझा र मौलिक कला, संस्कृति हो । जोकोहीले पनि नाच्न सक्छन् ।

सांस्कृतिक पर्वहरू जुन समुदायसँग जोडिएका छन्, त्यसमा ती समुदायको इतिहास पनि जोडिएको पाइन्छ । भूमे पर्व पनि मगर समुदायको इतिहाससँग जोडिएको पर्व हो ।

कथाअनुसार खोलाको पानी लिन गाउँबाट केही माथि ठुल्ठुला पहरा–पहाडहरू काटेर जानु पर्दथ्यो । खोलामा पानी भर्न जाने क्रममा कुनै जोग पारेर मान्छे हराइरहेका हुन्थे । यसरी पानी भर्न जाने मान्छे हराउँदै जाँदा गाउँ नै भावविह्वल भयो ।

यसरी गाउँ नै शोकमा डुबेपछि गाउँका मुखियाले गाउँभेला बोलाइ मान्छे हराएको पत्ता लगाउन गाउँका सबैलाई खटाउँछन् । ५/६ जनाको टोली बनाएर पानी भर्न लगाउँदा फर्कने क्रममा पछिल्लो पानी भरुवालाई पहराको मुनिबाट निस्केको सर्पले खाएको देख्छन् ।

यसरी सर्पले खाएको थाहा पाएपछि गाउँलेहरू भेला भई कसरी सर्पलाई ठीक बनाउन सकिन्छ भनेर छलफल हुँदा सिर्पाली बिकले म त्यो सर्पलाई आफ्नो काबुमा ल्याउन सक्छु भन्छन् । उनले धार्नीको सनासो (तातो वस्तु समात्ने फलामबाट बनेको उपकरण) बनाएर पानी भर्न मान्छे पठाइन्छ र सर्प पानी खान निस्केको बेला सनासोले सर्पको घाँटीमा अठ्याउँछन् र सिर्पालीले सोध्छन्, ‘तँ को होस् तैँले किन मानव क्षति बनाइरहेको छस् ?’ भन्दा सर्पले सिर्पालीलाई आग्रह गर्छ, ‘मलाई नमार मनुखे, म भूमि देवता जेठको मसान्तको दिन दूध मात्र खाएर असार १ गते मलाई एक हाँसे भेडा लिएर पूजा गर्नु, मैले मानव क्षति पनि गर्दिनँ र बाढीपहिरो पनि रोक्छु ।’

यति भनेपछि त्यही वर्षबाट पूजा गर्नुका साथै कुनै मानवीय क्षति नभएको र बाढीपहिरो पनि नगएको कहानी पढ्न पाइन्छ । त्यसैले भूमि देवतामाथि विजय प्राप्त गरेको उपलक्ष्यमा ‘भूमे पूजा’ भूमे नाच सुरु भएको इतिहास विद्यमान छ ।

यो पर्व रोल्पा र रुकुमपूर्वमा मात्र सीमित नरही पछिल्लो केही वर्षदेखि राष्ट्रिय र अन्तर्राष्ट्रीयकरण भएको छ । त्यस क्षेत्रबाट बसाइँ सरेर गएका मगरहरूले काठमाडौं, दाङ तथा पोखरा लगायतका नेपालका सहर तथा अमेरिका, जापान, युके, कतार लगायतका विभिन्न देशमा विस्तार गरेका छन् ।

विश्वको विकसित मानिने राष्ट्र अमेरिकामा पनि रोल्पा रुकुममा मनाइने पर्व भूमे नाच प्रस्तुत गरिएको पाइन्छ । भूमे पर्व फुकाउने दिन गाउँअनुसार फरक–फरक हुने भएकोले एकरूपता भने छैन । तर, जसले जति गते भूमे पर्व मनाए पनि जेठ महिनामै फुकाउँछन् ।

कुनै गाउँमा जेठको १ गते, कुनै गाउँमा जेठ १५ गते भने कुनै गाउँमा पूर्णिमाको दिनमा फुकाउँछन् । भूमे पर्व फुकाउँदा गाउँका मुखिया प्रधानपञ्च कहाँ गएर जुलीधजा धार्नी रक्सीले ढोग गरी अनुमति मागेपश्चात  बाजागाजासहित फुकाउने चलन रहेको छ ।

हरेक वर्षको असार १ गतेका दिन रोल्पा, रुकुम पश्चिम्, पुर्वी रुकुम, बागलुङ लगायतका विभिन्न मगर समुदाय रहेको गाउँ ठाउँमा र यी जिल्लाबाट बसोबास गर्ने मगरहरूले काठमाडौं लगायतका नेपालका अन्य जिल्लाहरूमा बसोबास गर्ने मगर समुदायले पनि भूमे पर्व मान्ने र नाच्ने गर्दछन् ।

शुक्रबार लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै रोल्पा,दाङ,प्युठान र रुकुम(पूर्व)लाई असार १ गते आजका दिन सार्वजनिक विदा दिएको छ । रोल्पाका विभिन्न ठाउँ ऐतिहासिक गाउँ थबाङ, जेलबाङ, रेउघा,बागमारा, कुरेली लगायतमा भूमे पर्वको मेला र भूमे नाच हुने गर्दछ ।

विशेषगरी खाम गर्ने मगर समुदायले भूमे नाचलाई पर्वको रूपमा मनाउँदै आएको पाइन्छ । पछिल्लो समय खाम नगर्ने मगर समुदायमा समेत भूमे पर्व मनाउन थालिएको छ ।

कालो चोलीमा, रातो थोप्ला भएको कालो गुनियोलाई पटुकीले कसेर लगाएपछि बाहिरबाट मखमलको रातो घलेक अनि पछ्यौराका साथै, गहना लगाएर चिटिक्क परेका महिला तथा कालो चोलीमै कालो धर्का हालेको घरबुना धरोलाई पटुकीले कसेर लगाई मखमलकै कालो घलेक लगाएर सजिएका पुरुष दमाह, ट्याम्की, छिल्लर र सहनाईको तालमा लहरै नाच्ने नाच हो भूमे नाच ।

भूमे नाच आफैंमा लोकप्रिय नाच भएको नव उत्थान भूमे नाच संस्थापन समिति परिवर्तन गाउँपालिका-३ बागमारा रोल्पाका नव उत्थान भूमे नाच अगुवा प्रेमकुमार बुढा मगरले बताए । ‘तालमा ताल मिलाएर नाच्न सकिने भएकोले महिला देखि पुरुष र बालक देखि वृद्धासम्म नाच्न सकिन्छ’, भूमे नाच अगुवा बुढा मगरले भने, ‘पोशाक लगाएर पोशाक नलगाएर पनि नाच्न सकिने भएकोले सबै भेषभुषा,जातजाति,धर्म,लिङ्ग,भेग समेटिएको नाच भूमे भएको र नविनतम ढंगबाट वैज्ञानिक हिसाबले सबैको साझा तवरबाट फरक नबनाई ऐक्यबद्धताका साथ भूमे पर्व मनाउन लागेका छौँ ।’

कसरी नाचिन्छ भूमे ?

भूमे नाच फुकाउनु अगाडि युवा–युवतीको एक भूमे नाच समूह बन्छ, जसको नाम ठाउँअनुसार फरक हुन्छ । कुनै ठाउँमा नोगोवाङे, कुनै गाउँमा भल्क पसिने समूह । त्यही समूह जेठ मसान्तको अघिल्लो दिन रोटी, रक्सी लिएर दिउँसो ४/५ बजेतिर लेक चढ्छन् ।

नाच्दै गाउँदै लेक चढेको समूहले डाँडाकाँडा भरिभराउ बनाएको हुन्छ । डाँडाको युवा युवतीको लस्कर मौसमअनुसार बसाइँ सर्ने मालचरिको समूह झैं नाच्दै लाग्छ । उकाली काटेपछि ४/५ घण्टामा लेकको नजिक पुग्छन् र त्यहीँ बास बसी रातभरि भूमे नाच, झाम्रे गीत गाएर बिहानको ३ बजाउँछन् । ३ बजेतिर पुजारी उठेर लेकमा पूजा गर्न गएपश्चात बल्ल फूल टिप्न जाने समूह उकाली चढ्छन् ।

फूल टिप्न जाने समूहले जान वा अन्जाले जुठो पिटो भएमा माफी दिनु, फूल टिप्न आउने समूहलाई भिरबाट जोगाइदिनु, ढुङ्गामुढाबाट जोगाइदिनु, बुकी लाग्नबाट जोगाइदिनु भनेर पन्थ्यौली र लेकका सिद्ध देवतालाई पुकारेपछि फूल टिप्न जाने समूह भिरपाखामा छरिएर फूल टिप्न लाग्छन् ।

फूल टिपेर एक मुर्ला लिएर आफ्नो पन्थ्यौलीमा मुर्ला गाडेर आ–आफ्नो पन्थ्यौली घुमाइ नाचेपछि नोगोवाङे समूह महिलाको पछ्यौरी जोडेर लामो बनाई घरतिर बाटो लाग्छन् । नाच्दै गाउँ आउने क्रममा एक जलाकी भेटिन्छ । त्यहाँ एक मुर्ला गाडेर नयाँ फूल टिप्न गएको व्यक्तिलाई उक्त जलाकी बोकेर घुमाउँछन् ।े

बुढापाकाका अनुसार बोकेर घुमाएपछि बोकी माग्नेलाई शुभ हुन्छ भनेर एक/दुई पैसा पन्थ्यौली अथवा जलाकीमा चढाउँछन् । केही तल आएपछि युवतीहरू बुकीबाट टिपेर लिएको केही फूललाई माला बनाएर पुरुषको समूहलाई लगाइदिन्छन् ।

गाउँको नजिक आउँदा फूल माग्नेहरूको लस्कर हुन्छ । उनीहरु रक्सी र रोटी लिएर भोकाएर आएका फूल टिप्न जाने समूहलाई स्वागत गर्छन् । बुकीबाट फूल टिपेर आउने समूहले फूल माग्नेलाई फूल दिएर सम्मान गर्छन् भने फूल शिरमा समेत लगाइलिन्छन् । थर्कीमा पुगेपछि सबैलाई शिरमा फूल लगाएर सम्मान गर्छन् । केही चाला नाचे पश्चात फेरि गाउँ घुमेर नाची थर्कीमा आएर त्यस दिन अन्त्य गर्छन् ।

नाच सकेपछि थानमा

असारको १ गते भूमे नाच्ने समूह फर्कीमा आएर नाच्दै गर्दा गाउँ नजिकको थानमा पूजा सुरु हुन्छ र सबै भूमे नाच्ने समूह नाच बन्द गरेर पूजा गर्ने ठाउँमा जान्छन् । जब सिर्पाली बिकले बलि दिने बस्तुको पूजा गर्छन् । पाती र फूलले हान्छन् । बलिलाई गाउँको बाटो हुँदै लैजाने क्रममा गाउँका धुइसो, कुलपूजा बेला ढोकामा लगाएको टीका, आफ्नो पितृलाई चढाएको मकैले हान्छन् । जसको अर्थ घरको कालकष्ट रुघामुघा सन्चो होस् भन्ने हो ।

यसरी बलि दिने ठाउँमा लखेट्दै पुर्‍याउने चलन छ। त्यसपछि बलि दिन्छन् । भूमि देवतालाई कुनै गाउँमा बोका, कुनै गाउँमा सुंगुर, कुनै गाउँमा भाले बलि दिन्छन् । कुनै गाउँमा जेठ मसान्त र कुनै गाउँमा असार १ गते बलि दिने चलन छ । यसरी लगातार एक हप्तासम्म भूमे नाच नाचिन्छ र जेठ १ गतेदेखि सुरु भइ असार १ गतेसम्म नाचेर करिब १ महिनाको अवधीसम्म जारी रहेर भूमे नाचको विधिसम्मत अन्त्य गरिन्छ ।

लेखक
सूर्यप्रकाश बुढामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?