३ असार, काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले वर्तमान सरकारको विदेश नीतिमा देशभक्तहरू ढुक्क हुने स्थिति नरहेको बताएका छन् ।
बुधबार काठमाडाौंमा आयोजित एक कार्यक्रममा उनले परराष्ट्र नीतिका विषयमा सरकारका गतिविधिमाथि निरन्तर निगरानी आवश्यक रहेको बताएका हुन् ।
उनले कूटनीतिमा भनिएका सबै कुरा नगर्ने र गरिएका सबै कुरा नभन्ने हुँदा सरकारका कतिपय गतिविधिहरूले गर्दा देशभक्तहरू पूर्ण रूपमा ढुक्क हुन सक्ने अवस्था नरहेको बताए ।
यद्यपि सरकारले दुवै छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध कायम राख्ने प्रयास गरेको देखिएको उनको भनाइ छ ।
विशेषगरी चीनको मनमा नेपालप्रति उत्पन्न भएका सन्देहहरू हटाउन सरकारले पहल गरेको देखिएको उनले बताए।
ज्ञवालीकाअनुसार जेन्जीको नाममा भएको प्रदर्शन, कथित ‘कलर रिभोल्युसन’, त्यसपछिको राजनीतिक घटनाक्रम, नेपाललाई आधार बनाएर सञ्चालन गरिएका ‘फ्री तिब्बत’ गतिविधि तथा पश्चिमी शक्तिहरूको बढ्दो सक्रियताले चीनमा नेपालप्रति आशंका पैदा गरेको थियो ।
सरकारले असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहने, एक चीन नीतिबाट विचलित नहुने तथा कुनै रणनीतिक सैन्य गठबन्धनमा सहभागी नहुने प्रतिबद्धता जनाएको उल्लेख गर्दै उनले ती विषयमा असहमति जनाउनुपर्ने कारण नरहेको बताए ।
उनले भने, ‘वर्तमान सरकारले औपचारिक रूपमा हेर्दा दुवै छिमेकीसँग राम्रो सम्बन्ध कायम राख्न खोजेको देखिन्छ । चीनका मनमा रहेका सन्देहहरू, खासगरी भदौ २३ २४ गतेको जेनजीको नाममा भएको प्रदर्शन र त्यसको नाममा भएको एक किसिमले तथाकथित कलर रिभोल्युसन, त्यसपछि मुलुकले लिएको प्रतिक्रान्तिको दिशा र नेपाललाई आधार बनाएर भइरहेका कतिपय फ्री तिब्बत गतिविधि, पश्चिमा शक्तिहरूको अत्यधिक धेरै आवतजावत चलखेल र त्यसले चीन सरकारको मनमा उत्पन्न गरेका सन्देहहरूलाई मेटाउने प्रयत्न गरेको देखिन्छ ।’
उनले अगाडि भने, ‘हामी दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध राख्छौँ । असंलग्न आन्दोलनबाट हामी दायाँ बायाँ हुँदैनौँ, एक चीन नीतिभन्दा बाहिर जाँदैनौँ, हामी कुनै स्ट्रटेजिक अलायन्समा जाँदैनौँ । यी कुराहरूमा उहाँहरू इमानदार रहनुभयो भने यसलाई सकारात्मक भन्नुपर्छ । तर प्रश्न यही हो, डिप्लोमेसीमा भनेका कुराहरू गरिँदैनन्, गरेका कुराहरू भनिदैनन् । त्यसैले निरन्तर वाच चाहिँ गरिराख्न जरुरी छ, यो सरकारका कतिपय फरेन पोलिसीका बारेमा देशभक्तहरू ढुक्क हुन सक्ने परिस्थिति छैन ।’
ज्ञवालीले नेपालले दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध राख्नुपर्नेमा जोड दिए । उनले असंलग्न परराष्ट्र नीतिबाट दायाँ–बायाँ हुन कसैलाई छुट नभएको बताए ।
प्रतिक्रिया 4