+
+
Shares

रास्वपा विधान : एक तिहाइ केन्द्रीय सदस्य मनोनीत हुने

रास्वपाले चौथो पटक विधान संशोधन गरी सभापतिलाई थप शक्तिशाली बनाएको छ । केन्द्रीय समितिको आकार बढाइएको छ भने सभापति चुनिने यसअघिको विधिलाई संशोधन गर्दै विधानको मस्यौदा तयार गरिएको छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०८३ असार ५ गते २०:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको आकार १५१ सदस्यीय बनाउने र सभापतिले ५० जना सदस्य मनोनीत गर्न पाउने व्यवस्था प्रस्ताव गरेको छ ।
  • रास्वपाको संशोधित विधानमा सदर मतमध्ये सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार सिधै सभापतिमा निर्वाचित हुने व्यवस्था गरिएको छ ।
  • पार्टीको नेतृत्वमा एकाधिकार रोक्न कुनै पनि कार्यकारी पदमा लगातार दुई कार्यकालभन्दा बढी निर्वाचित वा मनोनीत हुन नपाउने नियम बनाइएको छ ।

५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापतिले केन्द्रीय समितिमा मनोनीत गर्न पाउने संख्या बढाएर विधान संशोधनको तयारी गरेको छ ।

महामन्त्री विपिन आचार्य नेतृत्वमा रहेको विधान मस्यौदा समितिले प्रस्ताव गरेको संख्याभन्दा पनि बढी हुने गरी केन्द्रीय समितिमा सभापातिले मनोनीत गर्ने सदस्य संख्या थप गर्ने गरी सचिवालय बैठकमा छलफल भएको छ ।

विधानको चौथो संशोधनका लागि गठित मस्यौदा समितिले १३६ सदस्यीय केन्द्रीय समिति बनाउने गरी मस्यौदा तयार गरेको थियो । आचार्य नेतृत्वको पाँच सदस्यीय समितिमा नेताहरू गणेश पराजुली, प्रकाशचन्द्र परियार, डा. चन्दा कार्की र सुशान्त वैदिक सदस्य छन् ।

बिहीबार बसेको सचिवालय बैठकले मस्यौदा समितिले प्रस्ताव गरेभन्दा बढ्ने गरी केन्द्रीय समितिको संख्या थप्ने निर्णय लिएको छ । केन्द्रीय समितिमा सभापतिले मनोनीत संख्या उल्लेख्य रूपमा बढाइएको छ । महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार रास्वपाको केन्द्रीय समिति १५१ सदस्यीय हुनेछ ।

सभापतिले ५० जना केन्द्रीय सदस्य मनोनीत गर्न सक्ने गरी व्यवस्था गरिएको छ । संशोधन हुनुअघि २२ जना केन्द्रीय सदस्यमा सभापतिलाई मनोनीत गर्ने अधिकार थियो ।

सहमहामन्त्री विपिन आचार्य नेतृत्वको विधान मस्यौदा समितिले ३५ जना मनोनीत गर्ने गरी विधानको मस्यौदा तयार गरेको थियो । केन्द्रीय सदस्यमा १०० जना निर्वाचनबाट चुनिने छन् भने सभापतिले ५० जना मनोनीत गर्ने छन् । केन्द्रीय समितिमा सात प्रदेशका सभापति पदेन सदस्य हुने छन् ।

विधान संशोधन गरेर वरिष्ठ नेताको पद पनि राखिने भएको छ । सचिवालय बैठकमा वरिष्ठ नेता विधानमा राख्ने विषयमा छलफल भएको महामन्त्री बुर्लाकोटीले जानकारी दिए । यसअघि राजनीतिक निर्णयका आधारमा बालेन शाहलाई वरिष्ठ नेता बनाइएको थियो । वरिष्ठ नेताको वरियता सभापतिपछि दोस्रो स्थानमा हुनेछ ।

सभापति चुन्नका लागि बनाइएको यसअघिको व्यवस्थामा पनि संशोधन गरिएको छ । विधान संशोधनअघिको व्यवस्थामा महाधिवेशनका प्रतिनिधिहरूको मतदानबाट खसेको सदर मतमा बहुमत ल्याउने सभापतिमा निर्वाचित हुने व्यवस्था राखिएको थियो ।

५० प्रतिशत मत कुनै पनि सभापतिको उम्मेदवारले कटाउन नसके पहिलो र दोस्रो स्थानको मत ल्याउने उम्मेदवारबीचमा दोस्रो चरणको मतदान हुने व्यवस्था थियो । अहिले उक्त व्यवस्था हटाइएको छ ।

संशोधित विधानमा सदर मतमध्ये सर्वाधिक मत ल्याउने उम्मेदवार सभापति हुने व्यवस्था गरिएको छ । कूल सदर मतको १० प्रतिशत कटाउने प्रतिस्पर्धीलाई स्वतः केन्द्रीय सदस्य हुने विधानमा उल्लेख छ ।

पदाधिकारीमा सभापति, उपसभापति ३, महामन्त्री २, सहमहामन्त्री ४, प्रवक्ता १, सहप्रवक्ता ३, कोषाध्यक्ष १ र सहकोषाध्यक्ष १ सहित १६ पद हुने गरी मस्यौदा तयार गरिएको छ ।

बिहीबार सचिवालयको बैठकमा सहमहामन्त्री पाँच जना बनाउने गरी छलफल भएको जानकारी गराइएको छ । साथै, विधानमा वरिष्ठ नेताको पदको व्यवस्था राख्ने गरी हिजो छलफल भएको थियो ।

महामन्त्री बुर्लाकोटीले भने, ‘केन्द्रीय सदस्य १५१ र वरिष्ठ नेताको व्यवस्था विधान गर्ने छलफल भएको छ । सहमहामन्त्री पाँच जना बनाउने कुरा पनि उठेको छ । अन्तिम निर्णय शनिबार बस्ने केन्द्रीय समिति बैठकले गर्छ । केन्द्रीय समितिको बैठक शनिबार बिहान ११ बजे बस्ने गरी तयारी गरिएको छ ।

कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता र सहप्रवक्ता भने मनोनीत गर्ने गरी विधान बनाइएको छ । अन्य पद निर्वाचनबाट चुनिने छन् ।

उपसभापति ३ जनामध्ये एक महिला हुने गरी व्यवस्था गरिएको छ । तीन सहप्रवक्तालाई फरकफरक जिम्मेवारी दिइने छ । तीनमध्ये एक जनालाई प्रेस तथा मूलधार मिडिया समन्वय गर्ने जिम्मेवारी हुनेछ । अरू दुई सहप्रवक्ता डिजिटल सञ्चारको भूमिकामा हुने छन् ।

केन्द्रीय समिति, पदाधिकारीपछि अर्को संरचना सचिवालय बनाइएको छ । सचिवालयको सदस्य संख्या २५ जनाको हुनेछ ।

पार्टीको निर्णय प्रक्रिया सर्वसम्मतलाई प्राथमिकतामा राखिने गरी विधि बनाइएको छ । कुनै विषयमा मतदानबाट निर्णय लिनुपर्ने अवस्था आएमा र पक्ष-विपक्षमा बराबर मत आएमा सभापतिले निर्णायक मत दिन सक्ने गरी विधानको व्यवस्था गरिएको छ ।

विगतमा प्रयोग गर्दै र हटाउँदै आइएको प्रदेश इञ्चार्जको व्यवस्था विधानमा पुनः राखिएको छ । केन्द्रीय सचिवालयले प्रत्येक प्रदेशका लागि १-१ जना ‘प्रदेश इञ्चार्ज’ नियुक्त गर्ने व्यवस्था गरिएको छ । प्रदेश इञ्चार्ज सभापति, उपसभापति, महामन्त्री बाहेकबाट सचिवालयका सदस्यबाट हुने व्यवस्था गरिएको छ ।

सहमहामन्त्री आचार्य नेतृत्वको कार्यदलले बनाएको विधानको मस्यौदामा यसअघि नभएको विशेष महाधिवेशनको व्यवस्था पनि गरिएको छ । पार्टीको राजनीतिक जीवनमा कुनै गम्भीर वा असाधारण परिस्थिति भएको अवस्थामा तत्काल वैचारिक, नीतिगत र सांगठनिक परिवर्तनको निर्णय लिनुपर्ने भएमा विशेष महाधिवेशन बोलाउन सकिने व्यवस्था गरिएको छ ।

पार्टीका दुई तिहाइ प्रतिनिधिले हस्ताक्षरसहित केन्द्रीय समितिसमक्ष लिखित माग गरेमा विशेष महाधिवेशन बोलाउने व्यवस्था गरिएको छ । तर पार्टीको नियमित महाधिवेशन भएको तीन वर्षसम्म भने विशेष महाधिवेशन माग गर्न नसकिने गरी समयावधिको बन्देज गरिएको छ ।

पार्टीको राजनीतिक दर्शन र वैचारिक दृष्टिकोण विधानमै उल्लेख गरिएको छ । बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली पार्टीको राजनीतिक दर्शन भएको विधानमा स्पष्ट गरिएको छ ।

सामाजिक न्याय र उदार अर्थतन्त्र, संवैधानिक समाजवाद, समन्यायिक समावेशिता, योग्यता, सुशासन र सदाचारको पक्षधरको रूपमा रास्वपाले उभ्याएको छ । साथै, सनातन सभ्यता र सांस्कृतिक सहअस्तित्वको सम्मान र प्रवर्द्धन गर्ने दलका रूपमा रास्वपाले विधानमा उल्लेख गरेको छ ।

पार्टी नेतृत्वको एकाधिकार तोड्न र पुस्तान्तरणलाई स्वाभाविक प्रक्रिया बनाउन पार्टीको कुनै पनि कार्यकारी पदमा एउटै व्यक्ति लगातार दुई कार्यकालभन्दा बढी निर्वाचित वा मनोनीत हुन पाउने छैन ।

समानुपातिक प्रतिनिधित्वको अवसर वितरण गर्दा सीमित व्यक्तिको कब्जाबाट मुक्त राख्न ‘एक व्यक्ति, एक पटक मात्र’ को नीति लागु गरिने छ । आन्तरिक शक्ति पृथकीकरणका लागि पार्टीभित्रको कार्यकारी संयन्त्र र न्यायिक संयन्त्र पूर्ण रूपमा अलग हुने छन् ।

‘सदस्यको गुनासो सुन्न, विवाद निरुपण गर्न र अनुशासनको कारबाही गर्न पार्टी नेतृत्वको प्रभावबाट पूर्ण रूपमा मुक्त स्वतन्त्र अनुशासन संयन्त्र रहने छ,’ विधानमा भनिएको छ ।

एकै परिवारका एकभन्दा बढी सदस्यले पार्टीको कुनै समान तहको समिति, विभाग, आयोग वा संयन्त्रमा नियुक्ति, मनोनीत वा निर्वाचित हुन पाउने छैनन् ।

पार्टीमा कम्तीमा ६ महिना निरन्तरता दिएको सदस्य स्वतः ‘सक्रिय सदस्य’ हुने गरी विधानमा व्यवस्था गरिएको छ । पहिलो महाधिवेशनको हकमा भने यो व्यवस्था लागु नहुने गरी विधानमा व्यवस्था उल्लेख गरिएको छ ।

मस्यौदा समितिले तयार गरेको प्रस्तावित विधानलाई सचिवालय, केन्द्रीय समिति हुँदै महाधिवेशनले अनुमोदन गरेपछि कार्यान्वयन हुनेछ ।

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?