+
+
Shares

रास्वपाले पनि गर्‍यो विशेष महाधिवेशनको व्यवस्था

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ५ गते १४:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको संशोधित विधानमा विशेष महाधिवेशन बोलाउन सकिने व्यवस्था गरेको छ ।
  • नियमित राष्ट्रिय महाधिवेशन सम्पन्न भएको तीन वर्ष पूरा नभएसम्म विशेष महाधिवेशन आह्वान गर्न नपाइने व्यवस्था गरिएको छ ।
  • रास्वपाले स्थापनाको चौथो वार्षिकोत्सवका अवसरमा ७ असारदेखि चितवनको भरतपुरमा पहिलो राष्ट्रिय महाधिवेशन गर्दैछ ।

५ असार, काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि विशेष महाधिवेशनको व्यवस्था गरेको छ । प्रथम राष्ट्रिय महाधिवेशनका लागि रास्वपाले गरेको विधान संशोधनका क्रममा विशेष महाधिवेशनको व्यवस्था गरेको हो ।

संशोधित विधानको धारा ८९ मा विशेष महाधिवेशन आह्वान गर्न सकिने उल्लेख छ । विधानअनुसार पार्टीको राजनीतिक जीवनमा कुनै गम्भीर वा असाधारण परिस्थिति उत्पन्न भई तत्काल वैचारिक, नीतिगत वा सांगठनिक (नेतृत्व परिवर्तनसमेत) निर्णय लिनुपर्ने अवस्था सिर्जना भएमा पार्टीको विशेष राष्ट्रिय महाधिवेशन आह्वान गर्न सकिने छ ।

‘विशेष महाधिवेशनसम्बन्धी अन्य व्यवस्था केन्द्रीय समितिले तोकेबमोजिम हुनेछ,’ उक्त धारामा भनिएको छ । विधानको धारा ९० मा विशेष महाधिवेशन आयोजनाका आधार र प्रक्रियाबारे उल्लेख छ ।

उक्त धाराअनुसार पार्टीको पछिल्लो नियमित महाधिवेशनका तत्काल कायम रहेका कुल प्रतिनिधिहरू मध्ये कम्तीमा दुई तिहाइ सदस्यहरूले हस्ताक्षरसहित स्पष्ट कार्यसूची खुलाएर केन्द्रीय समितिसमक्ष लिखित मागदाबी पेस गरे पार्टीले विशेष महाधिवशेन बोलाउनु पर्नेछ ।

तर, रास्वपाले विधानको धारा ९१ मा विशेष महाधिवेशनका लागि समयावधिको बन्देज लगाएको छ ।

जसअनुसार पार्टीको नियमित राष्ट्रिय महाधिवेशन सम्पन्न भएको मितिले तीन वर्ष पूरा नभएसम्म विशेष राष्ट्रिय महाधिवेशन आह्वान गर्न नपाइने वैधानिक व्यवस्था छ ।

तीन वर्षे समयसीमा पूरा भएको अवस्थामा प्रतिनिधिहरूबाट विधिवत् रूपमा लिखित माग पेस भएको मितिले ९० दिनभित्र केन्द्रीय समितिले अनिवार्य रूपमा विशेष महाधिवेशनको आयोजना गर्नुपर्ने विधानमा उल्लेख छ ।

‘विशेष महाधिवेशनको कार्यक्षेत्र अत्यन्त विशिष्ट हुनेछ । जुन निर्दिष्ट प्रस्ताव वा कार्यसूचीका लागि महाधिवेशन आह्वान गरिएको हो वा प्रतिनिधिहरूले माग गरेका हुन्, उक्त महाधिवेशनमा सोही विषयमा मात्र केन्द्रित रही छलफल र निर्णय गरिने छ,’ धारा ९३ मा भनिएको छ, ‘नियमित महाधिवेशनमा झैं अन्य विविध प्रस्तावहरू यसमा प्रवेश गराइने छैन ।’

विशेष महाधिवेशनमा भाग लिने प्रतिनिधिहरू सामान्यतया पार्टीको पछिल्लो नियमित महाधिवेशनमा निर्वाचित वा सहभागी भएका प्रतिनिधिहरू नै कायम रहने छन् । पद रिक्त रहेको अवस्थामा विधानको अन्य व्यवस्थाबमोजिम पदपूर्ति गरिने विधानमा उल्लेख छ ।

विशेष महाधिवेशनले गरेका निर्णयहरूको कानूनी हैसियत नियमित राष्ट्रिय महाधिवेशनले गरेका निर्णयहरू सरह नै सर्वोच्च र सम्पूर्ण पार्टी पङ्क्तिका लागि पूर्णरूपमा बाध्यकारी हुने भनिएको छ ।

पार्टी स्थापनाको चौथो वार्षिकोत्सव पारेर रास्वपाले ७ असारदेखि चितवनको भरतपुरमा प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछ ।

महाधिवेशनको उद्घाटन भरतपुर महानगरपालिका–१० स्थित जिल्ला प्रहरी कार्यालय अगाडिको गेस्ट हाउस चौरमा र बन्दसत्र चितवन उद्योग संघमा हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?