News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टी परित्यागको घोषणा गरेकी गोमा तामाङलाई पार्टीले महाधिवेशन प्रतिनिधि व्यवस्थापन उपसमिति सदस्यमा राखेको छ ।
- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी महाधिवेशन सम्पन्न गर्नका लागि १८ वटा उपसमिति गठन गरेको छ ।
- कोशीको सभापतिमा पराजित भएपछि तामाङले पार्टीभित्र गुटबन्दी भएको आरोप लगाउँदै राजनीतिबाट अलग हुने घोषणा गरेकी थिइन् ।
४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्यागको घोषणा गरेकी गोमा तामाङ (सरिन) लाई पनि पार्टीले महाधिवेशनको व्यवस्थापन उपसमितिमा राखेको छ ।
महाधिवेशन सम्पन्न गर्नका लागि रास्वपाले १८ वटा उपसमिति बनाएको छ । कोशीको सभापतिमा पराजित भएपछि रास्वपा परित्याग गरेको भन्दै उनले सामाजिक सञ्जालमा लेखेकी थिइन् ।
उनै तामाङलाई ‘महाधिवेशन प्रतिनिधि व्यवस्थापन उपसमिति’ को सदस्यमा राखिएको हो । उक्त उपसमितिको संयोजकमा कोषाध्यक्ष लिमा अधिकारी छन् ।
कोशीको सभापतिमा चन्द्र राई निर्वाचित भएका थिए ।
त्यसपछि ‘आजबाट राजनीतिक बिट मारेँ । मतदाता सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ भनी तामाङले सामाजिक सञ्जालमा लेखेकी थिइन् । साथै, आफूलाई हराउन सांसदहरू पनि लागेको उनको गुनासो थियो ।
उनले सामाजिक सञ्जालमा सांसदप्रति आक्रोश व्यक्त गर्दै भनेकी थिइन्, ‘आखिर माथिको ह्वीप भन्दै हराएरै छाड्यौ माननीय तृतीयज्यू र केन्द्रीय सदस्यज्यू धन्यवाद । तपाईं चौथाज्यूहरूलाई सायद अनेक सेटिङ प्यानल बनाउन जानिनँ मैले । यो कारण गुटबन्दीको घाउले पिरोल्छ कोशीलाई भनेर । तर यो मेरो सोझो, सिधापन आज दुखाइ भो सबैलाई । हजुरीको राजनीतिक गर्नै जानिन कमजोरी भो मेरो ।’
उनी सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार पनि थिइन् । उनलाई श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पराजित गरेका थिए ।
उनी रास्वपाको पूर्व कार्यवाहक सभापति पनि हुन् ।
प्रतिक्रिया 4