News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालका विद्यालयहरूमा परम्परागत घोकन्ते विधिको सट्टा प्रविधि, प्रयोगात्मक अभ्यास र विद्यार्थी केन्द्रित नवीन शिक्षण सिकाइ प्रणालीको आवश्यकता औंल्याइएको छ ।
- शिक्षकहरूले सामाजिक विषयमा स्थलगत अध्ययन तथा विज्ञानमा कृत्रिम बुद्धिमत्ता र एनिमेसन भिडियो प्रयोग गरी प्रयोगात्मक शिक्षण अभ्यास थालेका छन् ।
- शिक्षकका व्यक्तिगत प्रयासलाई दिगो बनाउन पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिका र परीक्षा प्रणालीसहित समग्र शैक्षिक पद्धतिमै सुधार गर्नुपर्ने देखिन्छ ।
लामो समयदेखि शिक्षण सिकाइ क्रियाकलापमा शिक्षक धेरै बोल्ने अनि विद्यार्थी निष्क्रिय स्रोता बनेर सुन्ने र घोक्ने विधि प्रयोग हुँदै आएको छ । यो विधिले लिखित परीक्षाको नतिजा त राम्रो ल्याउला, तर विद्यार्थीको सिर्जनशिलता, तार्किक क्षमता, नव प्रवर्तनात्मक दक्षता र दैनिक जीवनमा आइपर्ने समस्या समाधानको सिप विकास हुन सक्दैन । त्यसैले यस्तो परम्परागत शिक्षण शैलीमा परिमार्जन र रूपान्तरण आवश्यक छ ।
शिक्षण विधिको पुनर्कल्पना र रूपान्तरण भनेको कक्षा कोठमा प्रविधिको प्रयोग गर्नु मात्र होइन । यो त शिक्षकले परम्परागत शिक्षण विधिलाई बदलेर वर्तमान समय र भविष्यको आवश्यकता अनुकूल नयाँ ढंगले सोच्ने, नयाँ शिक्षण सिप र कलाको विकास गर्ने र कक्षा कोठामा लागु गर्ने प्रक्रिया हो । साथै, शिक्षण विधिलाई सम्पूर्ण रूपमा रूपान्तरण गर्दै विद्यार्थीको घोक्ने प्रवृत्तिलाई निरुत्साहित गर्न विषयवस्तुका बारेमा बुझ्ने, व्यवहारमा उतार्ने र खोज, अनुसन्धान गर्न सक्ने क्षमताको विकास गर्नु हो ।
परम्परागत शिक्षण विधिमा अमूर्त विषयवस्तु पढाउँदा ब्याख्या र विश्लेषणभन्दा अन्य उपाय थिएन । तर अब डिजिटल माध्यमबाट एनिमेसन, कृत्रिम बुद्धिमत्ता, अन्य अनलाइन स्रोत आदिको प्रयोग गर्दै अमूर्तलाई पनि मूर्त रूपमा पढाउन सकिने अवस्था छ । शिक्षक यी माध्यममा अभ्यस्त हुन जरुरी छ ।
शिक्षाले विद्यार्थीको लागि सत्यको ढोका उघारिदिनु पर्छ र आँखा खोलिदिनु पर्छ । ताकि, त्यसपछिका दिनमा उसले आँखा चिम्लिँदा पनि अगाडि झल्झली त्यो सत्यको मार्ग प्रकट भइरहोस् । त्यो मार्ग बिर्सन खोजेर पनि बिर्सन नसकोस् ।
यसको लागि शिक्षकले प्रयोगात्मक कक्षा, स्थलगत भ्रमण र अवलोकन, सरोकारवालासँग प्रत्यक्ष संवाद, भिडियो प्रदर्शनका साथै विद्यार्थी आफैंले देखेर र गरेर सिक्ने वातावरण सिर्जना गर्नुपर्छ । शिक्षक नयाँ विषयवस्तुको ज्ञान प्रदान गर्ने व्यक्ति त हो नै, त्यो भन्दा बढी विद्यार्थीको सिकाइ प्रक्रियाको सहजकर्ता पनि हो ।
शिक्षकले विद्यार्थीका सीमित जिज्ञासालाई शान्त पार्ने मात्र होइन, असीमित जिज्ञासाका लागि बाटो खोलिदिनु पर्छ । सत्य यो मात्रै हो भनेर एकाङ्की बनाउनुको सट्टा सत्यको खोजीमा आफैं लाग्न प्रेरित गर्नुपर्छ र त्यो खोजीलाई सार्थक बनाउन आवश्यक शिल्प बाँड्नु पर्छ । अनि मात्र विद्यार्थी प्रश्न सोध्न, तर्क गर्न, आफ्ना विचार निर्धक्क राख्न र आलोचनात्मक चेतको विकास गर्न सक्षम हुन्छन् । यसले विद्यार्थीमा सञ्चार कला, सहकार्य, समन्वय र नेतृत्व गर्ने सिपको विकास गर्छ ।
शिक्षण विधिलाई आधुनिक र वैज्ञानिक रूपमा पुनर्कल्पना गर्दै रूपान्तरण गर्दा कक्षा कोठा बालमैत्री हुने र शिक्षण सिकाइ विधि विद्यार्थी केन्द्रित हुँदा विद्यार्थीको विद्यालय छोढ्ने दरसमेत कम हुन्छ । विद्यार्थीले खुसी र जाँगरका साथ प्रयोगात्मक रूपमा सिकेको ज्ञान र सिप दिगो हुन्छ ।
के भन्छन् शिक्षाविद् ?
समालोचनात्मक शिक्षण पद्धति (क्रिटिकाल पेडागोजी) का प्रणेता मानिने ब्राजिलियन दार्शनिक तथा शिक्षाविद पाउलो फ्रेरे भन्छन्, ‘बैंकिङ प्रणाली जस्तो परम्परागत शिक्षण विधिमा रूपान्तरण गर्दै विद्यार्थीलाई स्वतन्त्र रूपमा सोच्न दिने वातावरण सिर्जना गर्ने शिक्षण विधि आजको आवश्यकता हो । जसको माध्यमबाट विद्यार्थीले उसको संसारलाई आलोचनात्मक रूपमा बुझ्न र आवश्यकताअनुसार आफूलाई रुपान्तरण गर्न सिकोस् ।’
प्रगतिशील शिक्षाका पिता मानिने अमेरिकी दार्शनिक तथा शिक्षाविद् जोन डिवे शिक्षण विधिलाई व्यक्तिको वास्तविक जीवनको अनुभवसँग जोड्ने कुरामा जोड दिन्छन् र भन्छन्, ‘शिक्षा जीवनको तयारी मात्र होइन, यो आफैंमा जीवन पनि हो । यदि हामीले आजका विद्यार्थीलाई हिजोको तरिकाले पढाउँछौं भने उनीहरूको भविष्य खोसिरहेका हुन्छौं । त्यसैले वर्तमानको परिवेश, प्रविधि र प्रवृत्तिलाई अँगाल्ने शिक्षण विधि आवश्यक छ ।’
अमेरिकाका मानवतावादी शिक्षाविद् कार्ल रोजर्सका अनुसार अबको शिक्षण पद्धतिमा ज्ञान हस्तान्तरण गर्ने मात्र नभएर कसरी सिक्ने तथा समयको माग र परिस्थितिअनुसार आफूलाई कसरी परिवर्तन र समायोजन गर्ने भनेर सिकाउने सिप र कला हुनुपर्छ ।
अमेरिकाका अर्का शिक्षाविद् एल्भिन टफलर भन्छन्, ‘२१औं शताब्दीको शिक्षण विधिले विद्यार्थीमा कसरी सिक्ने, सिकेको कुरा असान्दर्भिक हुँदा कसरी त्याग्ने र कसरी पुन: सिक्ने भन्ने ज्ञान र सिप प्रदान गर्नुपर्छ ।’ टफलरका अनुसार सिक, त्याग (बिर्स) र पुन: सिक भन्ने सिद्धान्तलाई शिक्षण विधिले आत्मसात गर्नुपर्छ ।
समावेशी र रूपान्तरणकारी शिक्षण विधिको वकालत गर्ने अमेरिकन शिक्षाविद् बेल हुक्स कक्षा कोठालाई प्रजातन्त्र र स्वतन्त्रताको अभ्यास गर्ने थलोका रूपमा लिन्छन् । उनी भन्छन्, ‘शिक्षकले विद्यार्थीलाई शिक्षण सिकाइ प्रक्रियामा उत्साह र सक्रियताका साथ भाग लिन उत्प्रेरित गर्नुपर्छ ।’
प्रसिद्ध भारतीय दार्शनिक तथा आध्यात्मिक चिन्तक जे. कृष्णमूर्तिका अनुसार शिक्षण विधिकोे पुनर्कल्पना गर्नु भनेको कक्षा कोठालाई डर, प्रतिस्पर्धा र घोकन्ते विद्याबाट मुक्त गरी आत्म–अन्वेषण, आलोचनात्मक चेत तथा जागरुकताको थलो बनाउनु हो । यसबाट विद्यार्थीमा जीवनलाई समग्रतामा बुझ्न, मानवीय रूपमा संवेदनशील हुन तथा प्रेम र विश्व शान्तिको भावना जगाउन मद्धत गर्छ ।
०००
शिक्षण विधिको पुनर्कल्पना र रूपान्तरण सुन्नमा जति सान्दर्भिक र मिठो लाग्छ, कार्यान्वयन त्यति नै चुनौतीपूर्ण छ । विद्यालयमा प्रविधियुक्त पूर्वाधारको उपलब्धता, शिक्षकलाई निरन्तर पेसागत विकासको अवसर, प्रविधिमैत्री कक्षा कोठा, विद्यार्थी केन्द्रित सिकाइ, व्यावहारिक पाठ्यक्रम, निरन्तर मूल्याङ्कन र अभिभावकको सकारात्मक सोचका साथै शिक्षक स्वयंको लगाव र परिश्रम परम्परागत शिक्षण विधिलाई रूपान्तरण गर्न आवश्यक पर्ने अनिवार्य सर्त हुन् ।
अहिले सामुदायिक विद्यालयमा कम्प्युटर तथा विज्ञान ल्याब, पुस्तकालय र भवनहरू पर्याप्त र सुन्दर देखिन्छन् । तर विद्यार्थीले अपेक्षित उपलब्धि हासिल नगर्दा भौतिक सम्पत्तिको औचित्य हुँदो रहेनछ । सिकाइको गुणस्तर अभिवृद्धि यी भौतिक सुविधाभन्दा महत्वपूर्ण कक्षा कोठाभित्र हुने शिक्षण सिकाइ प्रक्रियामा निर्भर हुँदो रहेछ ।
त्यसैले, शिक्षालाई जीवनपयोगी, सिर्जनात्मक, प्रतिस्पर्धी र भविष्य उन्मुख बनाउँदै विद्यार्थीहरूमा दैनिक आइपर्ने समस्या समाधान गर्ने ज्ञान र सिपको विकास गर्न परम्परागत शिक्षण शैलीलाई छोडेर नवीन शिक्षण विधिको पुनर्कल्पना गर्दै आमूल रुपान्तरणको आवश्यकता छ ।
के गर्दै छन् त शिक्षक ?
केही वर्ष यता विद्यालयहरूमा पस्दा शिक्षकले गरेका थुप्रै नौला प्रयास मैले अनुभूत गरेको छु । प्रत्यक्षत: देखेका केही उदाहरण हेरौं ।
हिजो सामाजिक शिक्षामा ‘हाम्रो संकृति र चाडपर्व’ पाठ पढाउँदा शिक्षकले पुस्तकमा भएको विषयवस्तु व्याख्या र विश्लेषण गर्ने र विद्यार्थीले त्यही घोकेर प्रश्नको उत्तर दिने परम्परा थियो । तर आज यही पाठ पढाउँदा शिक्षकले विद्यार्थीलाई समूहमा विभाजन गर्छन् र विद्यार्थीलाई समुदायमा पठाउँछन् । त्यहाँ रहेका विभिन्न जातका मानिससँग भेटेर उनीहरूको पहिरन, भाषा, संकृति, धर्म, परम्परा, चाडपर्व आदिको बारेमा प्रश्न र छलफल गर्न उत्प्ररित गर्छन् । विद्यार्थीहरू छलफलको भिडियो वा प्रतिवेदन तयार पार्छन् र कक्षामा प्रस्तुति गर्छन् । अनि, छलफल गरेर निष्कर्षमा पुग्छन् ।
विज्ञान विषयको एक उदाहरण हेरौं । मैले माध्यमिक तहमा प्रकाश संश्लेषण पढ्दा यसको परिभाषा लेखिदिने, कालो पाटीमा चित्र बनाउने र त्यही घोक्न लगाउने चलन थियो । तर मैले देखें– शिक्षकले विद्यार्थीलाई विद्यालयको बगैंचा वा नजिकको वनमा लैजान्छन् । विद्यार्थीलाई फरकफरक बिरुवाका पात, जरा आदि अवलोकन गराउँदै छलफल गर्ने गर्छन् ।
कक्षा कोठाभित्र पनि मोबाइल वा कम्प्युटरमा प्रकाश संश्लेषणबारे कृत्रिम बुद्धिमत्ताको प्रयोगबाट एनिमेसन भिडियो बनाएर देखाउँछन् । बोट बिरुवाले अक्सिजन कसरी फाल्छन् भन्ने कुरा प्रयोगात्मक रूपमा शिक्षण गर्छन् आजका शिक्षक ।
गणितमा नाफा–नोक्सान पढाउँदा बजारमा लैजाने, विज्ञानमा स्थलगत अवलोकन गर्ने, सामाजिक विषयमा सम्बन्धित पक्षसँग छलफल, अन्तर्क्रिया गर्ने, भाषा शिक्षणमा व्याकरण घोक्नेभन्दा बोल्न प्रेरित गर्ने, सम्बन्धित भाषीसँग छलफल गराउने र शिक्षण सिकाइ प्रक्रियामा प्रविधिको प्रयोग गर्ने आदि शिक्षकले व्यक्तिगत सिकाइ र प्रयासमा शिक्षण प्रक्रिया र पद्धतिमा ल्याएको नवीन परिवर्तन हो ।
शिक्षक परम्परागत शिक्षण विधिलाई रूपान्तरण गर्न व्यक्तिगत र सामूहिक रूपमा लागेका छन् ।
शिक्षकले विद्यार्थी केन्द्रित शिक्षणलाई प्राथमिकता दिनु, विद्यार्थीमा आलोचनात्मक चेतको विकास गर्न कक्षामा सक्रिय रूपमा बोल्न र छलफल गर्न प्रोत्साहित गर्नु तथा विद्यार्थीलाई परिवार र समाजबाट सिक्न प्रेरित गर्दै उक्त सिकाइ र अनुभवलार्ई सिकाइ प्रक्रियामा जोड्नु यसका उदाहरण हुन् ।
साथै, स्मार्ट बोर्ड, प्रोजेक्टर वा शैक्षिक भिडियोहरूको प्रयोग गर्नु, अनलाइन शैक्षिक सामग्री र एपहरू प्रयोग गरेर पढाउनु, डिजिटल माध्यमबाट विद्यार्थीको गृहकार्य र प्रगति व्यवस्थापन गर्नु, व्यावहारिक र परियोजनामा आधारित प्रयोगात्मक अभ्यास गराउनु, समूहमा काम गर्न उत्प्रेरित गर्नु, वास्तविक जीवनका समस्याहरू समाधान गर्न लगाउनु आदि आजका शिक्षकले कक्षा कोठमा प्रयोग गर्दै आएका परिवर्तनमुखी शिक्षण सिकाइ क्रियाकलाप हुन् ।
हिजो म शिक्षक हुँदा सायद सञ्चार साधनको अभावले होला समूहमा सिक्ने संस्कृति कमजोर थियो । तर आज विद्यालय समयपछि पनि शिक्षकहरूले सामाजिक सञ्जालमा जोडिएर सामूहिक रूपमा अनुभव र नयाँनयाँ तरिका साटासाट गर्ने,आफ्नै सिकाइ र पढाउने तरिकाको नियमित समीक्षा गर्ने जस्ता क्रियाकलाप गरेको पाइन्छ । यसले शिक्षकलाई शिक्षण सिकाइ क्रियाकलाप परिमार्जन गर्न र विषयवस्तुमा प्रष्ट हुनसमेत मद्दत गर्छ ।
तर, शिक्षकको व्यक्तिगत मिहिनेतले ल्याएको परिवर्तन पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिका, परीक्षा प्रणाली, सरकारी तालिम प्रक्रिया आदि समग्र पद्धतिले अवलम्बन गर्दा मात्र दिगो हुन सक्छ । त्यसैले वर्तमानको माग र भविष्यको आवश्यकताअनुसार समग्र शैक्षिक प्रणालीमा पुनर्कल्पना र रूपान्तरण गर्दै विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्नु सबैको दायित्व र कर्तव्य हो ।
प्रतिक्रिया 4