News Summary
Generated by OK AI. Editorially reviewed.- बुद्धकालीन सभ्यतासँग जोडिएको ऐतिहासिक एवं पुरातात्त्विक स्थल सैनामैनालाई बुद्ध सर्किटमा समावेश नगरिएकामा स्थानीय सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।
- सैनामैनाको मलमला क्षेत्र र प्राचीन दरबारका भग्नावशेषहरूको उचित पुरातात्त्विक अध्ययन तथा अनुसन्धान हुन नसकेको स्थानीय बुद्धिजीवीहरूले बताएका छन्।
- सैनामैना नगरपालिका वडा नम्बर १ मा रहेको ऐतिहासिक पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामलाई नेपालको दोस्रो पशुपतिनाथका रूपमा समेत मानिन्छ।
जनकपुरबाट बुटवलतर्फ जानुपर्यो भने केही अपवाद बाहेक यात्रालाई सहजै मान्नुपर्छ। तुलनात्मक रूपमा अहिले सडक मार्ग ठिकै छ। ढल्केवरदेखि चन्द्रनिगाहपुरसम्म र दाउन्नेको सामान्य अवस्थालाई अपवाद मान्ने हो भने, समग्रमा सडकमा निकै सुधार आएको छ। विगतमा जो-कोहीका लागि पनि सास्ती बन्ने गरेको गैंडाकोटदेखि बुटवलसम्मको सडक निर्माण कार्यले निकै लामो समय लिएको थियो।
यसै जेठको अन्तिमतिर (२०८१ जेठ २९) बिहान ६ बजेतिर जनकपुरमा बस चढेको थिएँ र अपराह्न करिब ५ बजेतिर बुटवल पुगेको थिएँ म। केही अपवाद बाहेक यात्रा सहज र सुखद नै रह्यो। बुटवल बसपार्कमा स्थानीय पत्रकार भाइ थानेश्वर (नवीन) घिमिरे र रमेश गैरे गाडी लिएर आएका थिए। सैनामैनासम्मको अबको यात्रा मैले यिनै भाइहरूसँग गर्नुपर्ने थियो।
सैनामैना क्षेत्रमा क्रियाशील पत्रकार/सञ्चारकर्मीले ‘गौतम बुद्ध प्रेस क्लब’ स्थापना गरी आफूहरूलाई सङ्गठित गरेका छन्। नवीन त्यस क्लबका अध्यक्ष हुन् भने रमेश कोषाध्यक्ष। यो क्लबको आयोजनामा भोलिदेखि पत्रकारहरूका लागि क्षमता विकास तालिम सञ्चालन हुने निश्चित छ। त्यसको प्रारम्भिक सत्रको सञ्चालन गरिदिनुपर्ने भन्दै साथीहरूले मलाई निकै अघिदेखि आग्रह गर्दै आएका थिए। अझ क्लबका उपाध्यक्ष कृष्ण भण्डारीले त एक किसिमले स्नेहपूर्ण दबाब नै सिर्जना गरेका थिए।
मैले बाध्य भएर जिम्मेवारी स्वीकार गरेको थिएँ र आज म यहाँ उपस्थित छु। सैनामैना क्षेत्रमा केही सञ्चार संस्था पनि छन्। यहाँ पत्रकारिताको तालिम आयोजना हुन लागेको भने यो नै पहिलो हो। मैले अलिक गम्भीर भएर सहजीकरणको जिम्मेवारी स्वीकार गर्नुको एउटा कारण यो पनि थियो।

सैनामैना नगरपालिकास्थित मेरो वासस्थान र कार्यक्रमस्थल त्रिमूर्ति पार्टी प्यालेस पुग्दा साँझको करिब ६ बजेको थियो। बुटवलदेखि पश्चिमतिरको बाटो निर्माणाधीन रहेकाले यात्राका क्रममा केही बढी समय लाग्ने गरेको छ। हामी पनि अपवाद हुने कुरो थिएन, नभए बुटवलदेखि यहाँसम्मको दूरी धेरै त होइन नि, १५ किलोमिटर जति न हो !
पहिलो दृष्टिमै ठाउँ हेर्दा खुसी लाग्यो। नजिकैको बेलबासमा मेरा अनन्य मित्र विनोद पहाडी र डी.आर. घिमिरेको बसोबास छ भने मुर्गियातिर हिमालय टाइम्सकालीन मित्र विष्णु शर्माको पनि थातथलो रहेको सम्झन्छु। उनी त अहिले अमेरिकातिर बास सरेकी छिन्। सैनामैनामै मेरा पुराना मित्र रेडियोकर्मी डी.आर. पन्थी र राससकर्मी भाइ युवराज पाण्डेको घर पनि छ। यस्तै, जनकपुरका मेरो बालमित्र कपिल काफ्लेको मावली पनि यतै (पर्रोहा) रहेको जानकारी मलाई थियो। यति भएपछि यो ठाउँसँग निकटताको भाव विकसित हुने भइहाल्यो नि !
त्यसो त यस ठाउँका बारेमा मैले पहिले सुन्दै नसुनेको भने होइन। धेरै नाम सुनेको ठाउँ हो सैनामैना। तर यहाँ आइसकेपछि यहाँका बारेमा अलिअलि जान्नेबुझ्ने अवसर पनि प्राप्त भएको मेरो ठम्याइ छ। बुटवल नजिकैको सैनामैना एक महत्त्वपूर्ण ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक पर्यटकीय स्थल हो, जसको सिधा सम्बन्ध बुद्धकालीन सभ्यता र शाक्य वंशसँग जोडिएको छ भन्दा अतिशयोक्ति हुँदैन। सारमा, सैनामैना प्राकृतिक सुन्दरता र प्राचीन इतिहासको अनुपम सङ्गम हो भनेर मान्न सकिन्छ। तर यो स्थान ‘बुद्ध सर्किट’ मा भने समावेश छैन।
भेदभावमा परेको सैनामैना
यहाँ बसाइका क्रममा मैले नगरप्रमुख (मेयर) फणीन्द्र शर्मा, पूर्वमेयर चित्रबहादुर कार्की, राजनीतिक कार्यकर्ता एवं स्थानीय जनप्रतिनिधि रामप्रसाद अधिकारी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनी लगायत स्थानीय पत्रकार मित्रहरूसँग बात मार्ने अवसर पाएको थिएँ। मेरो निष्कर्ष थियो- ‘बुद्ध सर्किट’ मा यो नगरपालिकालाई नपारिएकोमा सबै नै चिन्तित र दुःखी छन्।
स्थानीयको तर्क छ- बुद्धकालीन सभ्यतासँग अत्यन्त निकटको सम्बन्ध रहेको सम्भावना हुँदाहुँदै पनि नीतिनिर्माताहरूले यस ठाउँसँग भेदभाव गरेका छन्। कपिलवस्तुको तिलौराकोट शाक्य राजाहरूको (बुद्धको वंशज) दरबार भएको ठाउँ हो। नजिकैको लुम्बिनी बुद्धको जन्मस्थल र छेवैको देवदह बुद्धको मावली हो। तर देवदह, लुम्बिनी र तिलौराकोटको बीचमा अवस्थित यो ठाउँको सम्बन्ध बुद्धकालीन सभ्यता र बुद्धसँग जोडिएको क्रियाकलापसँग खोज्न नसक्नु वास्तवमै उदेकलाग्दो छ।

पत्रकार तथा अनुसन्धानकर्मी मर्चवारी निवासी रामविकास चौधरीका अनुसार, सैनामैनाको मलमला क्षेत्रको पुरातात्त्विक क्षेत्र सम्भवतः दक्षिणएशियाकै सबैभन्दा ठूलो पुरातात्त्विक क्षेत्र हो। तर यसको उचित अध्ययन र अनुसन्धान हुनसकेको छैन। उनको विश्वास छ- यस क्षेत्रको उचित अनुसन्धान हुनसकेको खण्डमा बुद्धकालीन सभ्यताका सम्बन्धमा नयाँ तथ्य प्राप्त हुन सक्छ।
यति मात्र होइन, चौधरी लगायत स्थानीय बुद्धिजीवीका अनुसार यहाँ रहेको प्राचीन दरबारको भग्नावशेषको पनि अध्ययन हुनसकेको छैन। चौधरी भन्छन्, ‘यो दरबार तिलौराकोटकै दरबारको एक शाखा हुन सक्छ, जो गर्मीयाममा बस्न निर्माण गरिएको हुन सक्छ।’
त्यसो त पछिल्लो समयमा सैनामैना नगरपालिकाले स्थानीय इतिहास, पुरातत्त्व, संस्कृति, कलाकौशल, परम्परा आदिको जगेर्ना र अध्ययनमा चासो देखाएको छ, जो सन्तोषजनक छ। पूर्वमेयर कार्कीका अनुसार उपलब्ध भएका तथ्यलाई लिपिबद्ध र अध्ययन गर्ने क्रम शुरु भएको छ, तर यो कार्य नगरपालिका एक्लैको बलले सम्भव छैन। कार्कीको कुराप्रति वर्तमान मेयर शर्मा पनि सहमत छन्। शर्मा भन्छन्, ‘हाम्रो यो भूमि बुद्ध सर्किटसँग सम्बद्ध नहुने सम्भावना नै छैन। हामी यसका लागि आवश्यक पहल गर्छौं/गरिरहेका छौं।’
आवश्यक छ पुरातात्त्विक अध्ययन
स्थानीय जनप्रतिनिधि रामप्रसाद अधिकारी बुद्ध सर्किटको सन्दर्भ उप्काउँदै प्रश्न गर्छन्- बुद्धकी आमा मायादेवीको माइती देवदह हो र घर तिलौराकोट। मायादेवी माइती र घर जाने बाटो कुन हो ? उनका अनुसार बुद्धकालीन समयमा देवदह र तिलौराकोटलाई जोड्ने माध्यम नै सैनामैना हो।
स्थानीयसँगको संवादका क्रममा मिथकका रूपमा अन्य केही जानकारी पनि प्राप्त भए। मिथक त मिथक नै हुन् नि ! प्रामाणिकताको अभावमा निश्चित दाबी त गर्न सकिंदैन। तर मिथकहरू इतिहास खोतल्ने सशक्त माध्यम हुन् भन्ने मेरो मान्नु छ। यस्तै, यहाँ प्रचलित एक मिथकबारे पनि स्थानीयले जानकारी गराए। यस अनुसार सैनामैनामा भएको दरबार मायादेवीको मावलीसँग पनि सम्बन्धित हुनसक्ने अनुमान छ।
अनुसन्धानकर्मीहरूका अनुसार उपलब्ध तथ्यका आधारमा मायादेवीको माइती र मावलीका बारेमा पर्याप्त जानकारी प्राप्त हुनसकेको छैन। स्थानीयस्तरमा अर्को मान्यता पनि अस्तित्वमा छ। त्यो के भने, प्राचीन समयमा बुद्धको जन्मस्थल लुम्बिनी, राजधानी कपिलवस्तु (शाक्य राज्य) र देवदह (कोलीय राज्य) को मध्यभागमा पर्ने यो क्षेत्र आवतजावत गर्दा आराम गर्ने स्थलका रूपमा प्रयोगमा आउँथ्यो; यसैले पनि यहाँ दरबारको निर्माण भएको हुन सक्छ। यस्तै, पूर्वमेयर कार्कीका अनुसार बुद्ध र उनका भिक्षुहरू हिंड्ने र वर्षाबास बस्ने मार्गमध्ये यो क्षेत्र पनि एक थियो, जसलाई यहाँका पुराना भग्नावशेषहरूले पनि पुष्टि गर्छन्।

माथि पनि थोरै चर्चा गरियो, स्थानीय जानकारहरू सैनामैनाको इतिहास सिधै गौतम बुद्धको समय र उनको शाक्य वंशसँग जोडिएको मान्दछन्। बुद्धकालीन समयमा कपिलवस्तुका शाक्य राजा र राजकुमारहरू यस क्षेत्रमा विहार गर्न वा शिकार खेल्न आउने गर्दथे भन्ने मान्यता पनि प्रचलित छ। यस मान्यता अनुसार तत्कालीन समयमा राजाका ‘सैन्य’ (सेना) र रानीका ‘मैना’ (दासी वा सुसारेहरू) बस्ने ठाउँ भएकाले यसको नाम अपभ्रंश हुँदै ‘सैनामैना’ रहन गएको हो भन्ने तर्क पनि गरिन्छ।
सैनामैना क्षेत्रका प्राचीन दरबार, राजारानी कुवा, पुरातात्त्विक क्षेत्र र सामग्री, प्राचीन इँटा आदिको अध्ययन हुनसकेको खण्डमा नयाँ तथ्य स्थापित हुनसक्ने अनुमान शिक्षा तथा अनुसन्धानकर्मी (विद्यावारिधि शोधार्थी) कृष्ण शर्मा पवनको छ। पत्रकार नवीन, कृष्ण, रमेश, अनिल, भुवन र डी.आर.हरू सङ्घ र प्रदेश सरकारका साथै लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयप्रति असन्तुष्टि पोख्छन्।
उनीहरूका अनुसार यहाँको आवश्यक अध्ययनका सन्दर्भमा यी कुनै पनि निकायको उचित ध्यान पुग्न सकेको छैन, जो दुःखद छ। स्थानीय पत्रकारहरूको मत छ- यहाँ पाइएका प्राचीन इँटाको आकार, प्रस्तर मूर्ति र इनारहरूको बनावट लुम्बिनी र कपिलवस्तुमा भेटिएका मौर्यकालीन तथा बुद्धकालीन सभ्यतासँग मिल्दाजुल्दा छन्। उनीहरूको त के पनि गुनासो छ भने, यहाँ प्राप्त प्राचीन पुरातात्त्विक सामग्रीहरू अन्तै लगिएका छन्, तिनलाई त्यतैतिरको सम्पत्ति बनाउने प्रयास भएको छ। उनीहरूको माग छ- त्यस्ता सामग्रीको खोजी गरी सैनामैनामै फिर्ता ल्याउनुपर्छ र यहीं तिनको विशिष्ट अध्ययनको थालनी गरिनुपर्छ।
पर्रोहाको ऐतिहासिक शिव मन्दिर
समय छोटो थियो र मेरो व्यस्तता बढी। मैले त्यहाँ अधिकांश समय गौतम बुद्ध प्रेस क्लबले स्थानीय सञ्चारकर्मीका लागि आयोजना गरेको क्षमता अभिवृद्धि कार्यक्रममा खर्चिनुपर्ने बाध्यता थियो। मैले त्यही बीचमा केही समय निकालेर सैनामैनाको अवलोकन र अध्ययन पनि गर्नुपर्ने थियो।
२०८१ जेठ ३० गतेको साँझ पत्रकार साथीहरू नवीन, कृष्ण, रमेश र अनितासँग म सैनामैनाको वडा नम्बर १ स्थित पर्रोहा गएँ। यहाँ पश्चिम नेपालकै प्रसिद्ध ऐतिहासिक शिव मन्दिर छ, जहाँ शिवरात्रि र साउन महिनामा ठूलो मेला लाग्छ। यो मन्दिर ‘पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाम’ का नामले प्रसिद्ध छ। नेपालमा ‘दोस्रो पशुपतिनाथ’ मानिने यो मन्दिर पश्चिम नेपालमा पहिलो पटक सञ्चालन गरिएको बोलबम यात्राका लागि प्रसिद्ध छ। वाणगङ्गा, लक्ष्मणघाट, रिडी आदि स्थानबाट जल ल्याई भक्तजनले यहाँ चढाउने गरेका छन्।

पुरातात्त्विक-ऐतिहासिक महत्त्वको यो प्राचीन धामको आवश्यक अध्ययन र संरक्षण हुनु आवश्यक छ। स्थानीयका अनुसार यो धामको सम्बन्ध बुद्धकालीन समयसँग हुन सक्छ। शोधार्थी पवनको विश्वास छ- यो मन्दिर निकै प्राचीन छ, यसमा शङ्का छैन। तर कति पुरानो ? यकिनका साथ केही भन्न सकिंदैन।
स्थानीय जनप्रतिनिधि रामप्रसाद अधिकारीका अनुसार, तिलौराकोटका शाक्य शासकहरू हिन्दु धर्मावलम्बी नै थिए र भगवान शिव उनीहरूका आराध्यदेव हुन्। तिलौराकोटका शासकहरूले तौलिहवास्थित तौलेश्वरनाथ महादेव र पर्रोहा महादेवको उपासना गर्ने गरेको हुन सक्छ।
‘तथ्य जे पनि हुन सक्छ तर अध्ययन भने हुनुपर्यो’, पत्रकार नवीन भन्छन्। कुरो जेसुकै होस्, एउटा कुरो निश्चित हो- यहाँ आउँदा र भगवान शिवको मूर्तिको दर्शन गर्दा आत्मिक शान्तिको अनुभव भने हुन्छ। हामी त्यहाँ पुग्दा भर्खरै आरती शुरु भएको थियो। हामी पनि आरतीमा सहभागी भयौं। लाग्यो, भगवान शिवले हामीलाई त्यही आरतीमा सहभागी हुन त्यस दिन त्यहाँ बोलाएका थिए।

हामी त्यहाँबाट फर्केर वासस्थान आइपुग्दा साँझको करिब साढे ७ जति बजेको थियो। नवीन गाडी चलाइरहेका थिए। यतिन्जेल घुम्दा लाग्यो- यस नगरपालिकाले भौतिक संरचना विकासको क्षेत्रमा विस्तारै फड्को मारिरहेको छ। गाडीमा पत्रकार कृष्ण जानकारी दिइरहेका थिए, ‘सैनामैनामा उत्खननका क्रममा प्राचीन दरबारका भग्नावशेष, ढुङ्गाका मूर्ति, इनार र ऐतिहासिक इँटाहरू भेटिएका छन्, तिनको अध्ययन हुनु जरुरी छ।’
त्यहाँ पुगेको चौथो दिन अर्थात् असार १ गते मैले त्यहाँबाट प्रस्थान गर्नु थियो। एउटा कामको जिम्मेवारी लिएर गएको मैले आफ्नो रुचिका कारण अर्कै काम अर्थात् बुद्धकालीन सन्दर्भको विश्लेषणमा व्यस्त रहने प्रयत्न गरें। यस दृष्टिले तत्काललाई मैले खासै उपलब्धि प्राप्त गर्न सकिनँ तर थप अध्ययनको भोक भने जागेको अनुभूत भएको छ। म नवीनकै गाडीमा बुटवल फर्कंदै थिएँ। बाटोभरि एउटा प्रश्न मनमा खेलिरह्यो- आखिर किन यस क्षेत्रलाई बुद्ध सर्किटमा राखिएनछ ?
प्रतिक्रिया 4