+
+
Shares

धार्मिक पर्यटकीयस्थल बन्दै ‘आत्मा पवित्र गुराँसे माङहिम’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ८ गते ६:२२

८ असार, पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका-६ गुराँसेमा निर्माण भइरहेको आत्मा पवित्र गुराँसे माङहिम (मन्दिर) धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेको छ । धेरै स्थानीय सामग्रीको प्रयोग गरी आठ रोपनी क्षेत्रफलमा माङहिमका संरचना धमाधम निर्माण भइरहेका छन् ।

मेची राजमार्ग नजिकै दृश्यावलोकनका लागि उपयुक्त यस स्थानमा आकर्षक संरचनासहितको माङहिम र अग्निकुण्ड निर्माणको काम करिब अन्तिम चरणमा पुगेको छ ।

माङहिम परिसरमा सोह्रौँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको प्रतिमासमेत स्थापना भएपछि यो स्थान धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास भएको हो ।

यसै साता इलामको माङ्सेबुङबाट महागुरु फाल्गुनन्दको साढे सात फिटको प्रतिमा ल्याई स्थापना गरिएको हिलिहाङ–६ का वडाध्यक्ष गणेशप्रसाद योङहाङले जानकारी दिए ।

एकै ढुङ्गाबाट बनेको उक्त प्रतिमा वर्तमान धर्मगुरु आत्मानन्द लिङ्देनको आज्ञाअनुसार स्थापना गरिएको वडाध्यक्ष योङहाङले बताए ।  प्रतिमा निर्माणमा मात्रै रु १५ लाख खर्च भएको र माङहिममा स्थापित गर्न थप रु तीन लाख लागेको उनको भनाइ छ ।

स्थानीय ढुङ्गा काटेर माङहिम र अग्निकुण्डका संरचना निर्माण गरिएको छ । ‘यहाँ पाइने विशेष प्रकारका ढुङ्गा काटेर प्रयोग गरेका कारण निर्माणमा लामो समय लागेको हो’, वडाध्यक्ष योङहाङले भने, ‘जसले लागत पनि बढेर गएको हो ।’

आत्मा पवित्र गुराँसे माङहिम नौ वर्षदेखि निर्माण भइरहेको छ । वडाध्यक्ष योङहाङका अनुसार २०७३ सालमा भारपा गाविस हुँदै रु २५ हजार बजेटबाट माङहिम निर्माण सुरुआत भएको थियो ।

माङहिम निर्माण गर्न स्थानीयवासी काजीमान योङहाङका छोरा कविन्द्र योङहाङले चार रोपनी, राजकुमार योङहाङले चार रोपनी र श्रीप्रसाद योङहाङले आठ आना जग्गा उपलब्ध गराएको वडाध्यक्ष योङहाङले जानकारी दिए ।

माङहिम निर्माणमा हालसम्म करिब एक करोड लगानी भएको तर कुल रु एक करोड ५० लाखको लागतमा माङहिमका संरचना निर्माण गर्ने डिपिआर बनेका कारण अझै धेरै रकम आवश्यक रहेको उनले बताए । माङहिममा भित्री संरचना, सिँढीमार्ग, घेराबारा तथा ढलानका काम बाँकी रहेको वडाध्यक्ष योङहाङको भनाइ छ ।

माङहिम निर्माणाधीनस्थल नजिकै लिम्बूवानका अन्तिम राजा हिलिहाङका फौज बस्ने गरेको स्थान पुलुथुम्कीसमेत रहेको छ । पुलुथुम्कीमा पनि पर्यटकीय आवश्यक संरचना निर्माण गरी यस स्थानलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको निर्माण समितिले जनाएको छ ।

माङहिम निर्माणमा धेरै लगानी विभिन्न सङ्घसंस्था, दानवीर व्यक्ति, विदेशमा रहेका तथा वैदेशिक रोजगारीमा नेपालीले दिएको दानबाट भइरहेको र हिलिहाङ गाउँपालिकाले समेत केही लगानी गर्दै आएको वडाध्यक्ष योङहाङले जानकारी दिए ।

वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङ्देन तथा गुरुआमा पवित्रहाङ्मा लिङ्देनबाट प्रतिमा अनावरण र माङहिम उद्घाटन गर्ने तयारी गरिएको उनको भनाइ छ ।

हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले गाउँपालिकाले माङहिमको विकासमा सक्दो लगानी गरिरहेको बताए । प्रदेश र सङ्घीय सरकारबाट थप लगानी प्राप्त हुन नसक्दा माङहिममा सोचेअनुसारका संरचना निर्माण गर्न नसकिएको अधिकारीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?