७ असार, खोटाङ । खोटाङका दुई वडाध्यक्ष श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुईपाका वडाध्यक्ष दिनेश राई र केपिलासगढी गाउँपालिका–३ बासपानीका वडाध्यक्ष तुलाराम राई श्रम संस्कृति पार्टीमा प्रवेश गरेका हुन् ।
दुई वडाध्यक्ष असार ७ गते दिक्तेलमा आयोजना गरिएको श्रमदाता र नागरिकसँग हातेमालो एवं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका कमिटी पुःर्नगठन कार्यक्रममार्फत श्रम संस्कृति पार्टीमा प्रवेश गरेका हुन् । वडाध्यक्षद्धयलाई श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले सदस्यता वितरण गरेका छन् ।
दिनेश नेकपा एमालेबाट लगातार २०७४ र २०७९ मा निर्वाचित वडाध्यक्ष हुन् । गत जेठ २५ गते फेसबुकमार्फत पार्टीबाट अलग्गिएको घोषणा गरेका राईले अन्ततः श्रम संस्कृति पार्टी रोजेका हुन् । यस्तै, तुलाराम तत्कालीन नेकपा (एकीकृत समाजवादी)बाट वडाध्यक्ष निर्वाचित भएका थिए । दुई वडाध्यक्षसँगै विभिन्न पार्टीका ५९० जना प्रवेश गरेको श्रम संस्कृति पार्टी खोटाङका अध्यक्ष धनीराम नछुङले बताए ।
अध्यक्ष नछुङका अनुसार जसपा नेपाल खोटाङका अध्यक्ष सुनिल चाम्लिङ, केन्द्रीय सदस्य प्रेम राई लगायत पनि श्रम संस्कृति पार्टी प्रवेश गरेका छन् ।
यस्तै, नेपाली कम्युनिष्ट पार्टी पृष्ठभूमिका दिपेन्द्र राई, उदिम चाम्लिङ, मायाँ चाम्लिङ, जीवन नाछिरिङ लगायतका नेता श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । एमालेनिकट अनेरास्ववियु खोटाङका सह-संयोजक अभिशेक घिमिरे पनि श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । वडाध्यक्ष दिनेशसँग मात्रै ५०५ जनाको टोली प्रवेश गरेको अध्यक्ष नछुङले दाबी गरे ।
प्रतिक्रिया 4