८ असार, धनकुटा । धनकुटा नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड ८६ लाख २३ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।
नगरपालिकाले चालुतर्फ ५७ करोड ३२ लाख ३६ हजार ३१५ रुपैयाँ र पुँजीगततर्फ १९ करोड ५३ लाख लाख ८६ हजार ६८५ रुपैयाँ विनियोजन गरेको जनाएको छ ।
धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आधारित भएर उपप्रमुख भीमादेवि खनालले १८औं नगर सभामा बजेट सार्वजनिक गरेकी हुन् ।
उपप्रमुख खनालले प्रस्तुत गरेको बजेटअनुसार नगरपालिकाको मुख्य आयस्रोत संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र राजस्व बाँडफाँट रहेको छ ।
संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान १२ करोड ९९ लाख रुपैयाँ, सशर्त अनुदान ३४ करोड ९२ लाख रुपैयाँ, विशेष अनुदान १ करोड रुपैयाँ तथा समपूरक अनुदान १ करोड ३० लाख रुपैयाँ रहेको छ ।
त्यसैगरी प्रदेश सरकारबाट समानीकरण अनुदान १ करोड २१ लाख १२ हजार रुपैयाँ, सशर्त अनुदान १ करोड ८६ लाख ६ हजार रुपैयाँ र समपूरक अनुदान ८० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
बजेटमा संघीय राजस्व बाँडफाँडबाट १० करोड ११ लाख ७७ हजार रुपैयाँ, प्रदेश राजस्व बाँडफाँडबाट १ करोड ५ लाख ८६ हजार ११५ रुपैयाँ तथा स्थानीय राजस्व बाँडफाँडबाट ६५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । नगरपालिकाले आन्तरिक स्रोतबाट पनि उल्लेख्य आम्दानी गर्ने लक्ष्य राखेको छ ।
आन्तरिक स्रोततर्फ चालु र पुँजीगत गरी १० करोड ८६ लाख ४१ हजार ८८५ रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ ।
नगरपालिकाले प्रस्तुत गरेको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक पूर्वाधार, पर्यटन प्रवर्द्धन, रोजगार सिर्जना तथा सामाजिक सुरक्षा कार्यक्रमलाई प्राथमिकता दिइएको नगर उपप्रमुख अनालले जानकारी दिइन् ।
चालु खर्चको हिस्सा बढी भए पनि विकास निर्माण तथा पूर्वाधार विस्तारका लागि करिब १९ करोड ५३ लाख ८६ हजार ६८५ रुपैयाँ पुँजीगत बजेट छुट्याइएको उनको भनाइ छ ।
नगर प्रमुख चिन्तन तामाङले नगरवासीको जीवनस्तर सुधार, उत्पादन वृद्धि, पूर्वाधार विकास तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यका साथ बजेट ल्याइएको बताए ।
उनले उपलब्ध स्रोत-साधनको अधिकतम उपयोग गर्दै विकास र समृद्धिको लक्ष्य हासिल गर्न बजेट केन्द्रित गरिएको बताए । नगरसभाबाट पारित हुने उक्त बजेट आगामी साउन १ गतेदेखि कार्यान्वयनमा आउनेछ ।
प्रतिक्रिया 4