+
+
Shares

चलचित्रमा फर्किन सक्छ त इलामे दर्शकको क्रेज ?

अतित योङहाङ स्पर्श अतित योङहाङ स्पर्श
२०८३ असार ९ गते १४:४४

इलाममा वि.सं. २००८ सालमै प्रभात सिनेमा हल स्थापना भएको थियो । इलाम बजारको चोकमै स्थापना भएको यो सिनेमा हल भारतको दार्जिलिङका चलचित्रकर्मीहरूको लगानीमा बनेको थियो । त्यतिनै बखत दार्जिलिङमा रिङ्क क्यापिटल सिनेमा घरलगायत अन्य सिनेमा हलहरू पनि सञ्चालनमा थिए ।

इतिहासविद् जुद्धप्रसाद वैद्यका अनुसार त्यतिबेला मुख्य रूपमा भारतीय हिन्दी चलचित्र तथा टेलिसिरियलहरू प्रदर्शन गरिन्थे । ‘जय हनुमान’ लगायत हिन्दी गीतका भिडियोहरू पनि त्यस हलमा प्रदर्शन भएका थिए । तर प्रभात सिनेमाले ४-५ वर्षपछि नै हल बन्द गरेको थियो ।

इलाम बजार छेउमा हालको आदर्श आधारभूत विद्यालय रहेको ‘जनभवन’ मा पनि उल्लेख्य रूपमा चलचित्रहरू च्यारिटी सो तथा प्रदर्शनका रूपमा देखाइएको विगत पाइन्छ । वि.सं. २००८ सालमै ‘जनभवन’ को रूपमा स्थापना भएको उक्त भवन विविध कार्यक्रमहरू (सभा, सम्मेलन, वैठक, भेला आदि) का लागि बनाइएको थियो । त्यतिबेला इलाममा स्थायी चलचित्र हल नहुँदा जनभवन नै चलचित्र प्रदर्शनको मुख्य केन्द्र बनेको थियो ।

इलाममा वि.सं. २००८ सालमै ‘प्रभात सिनेमा हल’ स्थापना भएको थियो । इलाम बजारको मुख्य चोकमै स्थापना भएको यो सिनेमा हल भारत दार्जिलिङका चलचित्रकर्मीहरूको लगानीमा निर्माण गरिएको थियो । त्यतिबेला दार्जिलिङमा रिङ्क क्यापिटल सिनेमा हल लगायत अन्य हलहरू सञ्चालनमा थिए ।

वि.सं. २०१७ सालमा इलाममा महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्थापना भएपछि क्याम्पसले आफ्नो आर्थिक अवस्था सुधार्न प्रसिद्ध माइबेनी मेलामा केही च्यारिटी सोहरू देखाएको थियो । यसका साथै इलामको फिक्कल, गोर्खे, नयाँबजार, शुक्रबारे लगायतका बजारहरूमा पनि विभिन्न च्यारिटी सोहरू नियमित रूपमा प्रदर्शन हुने गरेका थिए ।

इलाम बजार नजिकै रहेको सिलिखान (शाही सेनाको हातहतियार राख्ने ठाउँ) हालको वीपी पार्कमा पनि विभिन्न नेपाली तथा हिन्दी चलचित्रहरू प्रदर्शन गरिएको इतिहास छ । यसरी इलाममा चलचित्र हेर्न र हेराउन दुःख-सुख चलिरहेको थियो ।

वि.सं. २०४५ सालतिर पुराना प्रविधिका चलचित्र हलहरू नै मनोरञ्जनको मुख्य केन्द्र मानिन्थे । इलाममा पनि यसको प्रभाव बढ्दै गएको थियो । २०४५-५० को समयमा इलाम बजारमा राज भिडियो हल र पञ्चकन्या भिडियो हल स्थापना भए । सीमित प्रविधि, साधारण पर्दा र सामान्य ध्वनि प्रणाली भए पनि ती हलहरूमा दर्शकको उत्साह भने असाधारण रहन्थ्यो ।

पञ्चकन्या भिडियो हलका संस्थापक बाबुकाजी ताम्राकार भन्छन् , ‘हरेक आइतबार र बिहीबार बजार बाहेकका दर्शकका लागि टिकट राख्नुपर्थ्यो ।’ उनी थप्छन्,  ‘त्यतिबेला इलाममा हप्तामा दुई दिन बजार लाग्थ्यो । बजार अहिलेको जस्तो सानो थिएन, अटिअटि बजारेहरू हुन्थे ।

गाउँ-गाउँबाट मानिसहरू आवश्यक सामान किनबेच गर्न आउँथे । कृषि उपज, घरेलु सामग्री, पशुचौपाया, लत्ताकपडा र स्थानीय उत्पादनले बजार भरिभराउ हुन्थ्यो । धेरैजसो बजारेहरू फिल्म हेरेरै फर्किन्थे । युवा पुस्ता त फिल्म हेर्नकै लागि बजार आउँथे ।’

राज भिडियो हलका सञ्चालकमध्येका सरोज भक्तराज भन्छन् , ‘प्रायः सबै चलचित्रहरू चलेको याद छ । लोकप्रिय चलचित्र लागेका बेला हलभित्र खचाखच भीड हुन्थ्यो । टिकट नपाएर बाहिर बसेकाहरूले खुला झ्याल, ढोका वा पर्खालका साना प्वालबाटै पर्दामा देखिने दृश्यहरू हेर्थे ।

बलिदान चलचित्र हेर्न हलले नअटाएर ढोका र झ्यालको प्वालबाट कतिपयले पूरा फिल्म हेरेको सम्झना अझै ताजै छ ।’

त्यो समय सीमित मनोरञ्जनका बीच चलचित्रप्रतिको आकर्षण यति धेरै थियो कि एक झलक हेर्नका लागि पनि मानिसहरू घण्टौं प्रतीक्षा गर्न तयार हुन्थे । बलिदान, दुई थोपा आँसु, युगदेखि युगसम्म, लाहुरे, मितज्यू, कुसुमे रुमाल जस्ता चलचित्रहरू महिनौंसम्म चले । लिम्बू भाषाको ‘मारा जस्ता फिल्मको च्यारिटी सो पनि गरिएको थियो ।

त्यतिबेला विद्युतिकरणको अभाव थियो । पत्रकार सुदिप श्रेष्ठ सम्झन्छन्, ‘प्रायः जेनेरेटरकै भरमा चलचित्र चलाउनुपर्थ्यो ।’

टिकट दर भुइँमा पलेटी मारेर बस्नेले ५ रुपैयाँ, बेन्चमा १० रुपैयाँ र साधारण कुर्सीमा १५ रुपैयाँ थियो । यी दुई हलहरूले करिब डेढ दशकसम्म दर्शकलाई मनोरञ्जन दिइरहे ।

पछिल्लो समय मुलुकमा देखिएको सशस्त्र द्वन्द्वको प्रभाव इलाममा पनि पर्‍यो । असुरक्षा, बन्द-हड्ताल, साँझपख आवतजावतमा कमी, पाइरेसी, टेलिभिजन, भिडियो, सीडी-डीभीडी र इन्टरनेटको बढ्दो प्रयोगले हलहरूको व्यापार घट्दै गयो ।

धेरै हलहरू आधुनिकीकरण हुन सकेनन् । जग्गाको मूल्य वृद्धि र वैकल्पिक व्यवसायको आकर्षणले गर्दा इलामका पञ्चकन्या भिडियो हल र राज भिडियो हल पनि बन्द भए ।

फरक विधाका चलचित्र र आधुनिक हलप्रति बढ्दो चाहना

पछिल्ला वर्षहरूमा नेपाली चलचित्र क्षेत्रमा कथावस्तु, प्रस्तुति र प्रविधिका दृष्टिले उल्लेखनीय परिवर्तन आएको छ । दर्शकहरू ठूलो पर्दामा उत्कृष्ट दृश्य र ध्वनि अनुभव लिन चाहने भएका छन् ।

यसै क्रममा रेडपाण्डा सिनेमाज सञ्चालनमा आयो । मिलन खत्री, राजकुमार राई, केवल तामाङ लगायतको प्रयासमा सानो हल सञ्चालन गरियो ।

यसले आधा दशकसम्म इलामे दर्शकलाई फिल्मसँग जोडिराख्यो । तर कोरोनाकाल र पूर्ण बहादुरको सारङ्गी विवादपछि यो हल बन्द भयो ।

इलाम नगरपालिकाको पहल र कोशी प्रदेश सरकारको गौरव आयोजनाअन्तर्गत पुरानो बसपार्कमा निर्माण भएको बहुउद्देश्यीय भवनको चौथो तलामा फ्रेन्ड्स सिनेमाज सञ्चालनमा आएको छ ।

२०८२ फाल्गुन ८ गते अभिनेता पल शाह र अभिनेत्री उषा उप्रेतीको उपस्थितिमा उद्घाटन भएको यो हल प्रदीप धामी, पुष्कर घिमिरे र आशिष तामाङको लगानीमा सञ्चालित छ ।

इलाममा स्तरीय सिनेमा हलको अभाव खड्किरहेको बेला फ्रेन्ड्स सिनेमाजको आगमनले स्थानीय मनोरञ्जन क्षेत्रमा नयाँ इँटा थपेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?