+
+
Shares

जब आफूले ७ वर्ष पालेको सुँगुर मर्‍यो…

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १४ गते २१:४१

कुकुर, बिराला, घोडाको मृत्युपछि ससम्मान दाह संस्कार गरिएको खबर हामीले सुन्दै आइरहेका छौं । तर, सम्भवत: नेपालमा एउटा सुँगुरको मृत्युपछि पहिलो पटक ससम्मान दाह संस्कार गरिएको छ ।

काठमाडौंमा रहेर शाकाहारी जीवनशैली र पशु अधिकारको प्रवर्धन गरिरहेकी अभियन्ता स्नेहा श्रेष्ठले यसो गरेकी हुन् । उनले आफूले पालेको कार्लोट नामक सुँगुरको निधनपछि आइतबार सदगत गरिन् ।

उनले उक्त सुँगुर आफ्ना लागि सुँगुर कहिल्यै नभएको बताएकी छिन् । त्यो आफ्ना लागि बच्चासमान भएको उनको भनाइ छ। उनले सुँगुरलाई छोरी सम्बोधन गर्दै आफूलाई भने उसकी आमा भएको बताएकी छिन् ।

स्नेहाले यो सुँगुरलाई २०१९ मा एउटा फार्मबाट बचाएर ल्याएका थिइन् ।

स्नेहाले त्यो दिनलाई आफ्नो जीवनकै सबैभन्दा खुसीका दिनहरूमध्ये एक भएको बताएकी छिन् । तर, आज आइतबार मात्रै उनको कार्लोटको मृत्यु भयो । उसको मृत्युमा आज संसार नै अन्धकारमय लागिरहेको स्नेहाले बताएकी छिन् ।

सामाजिक सञ्जालमा कार्लोटको मृत्युबारे लेख्दै उनले केही भावनाहरू पोखेकी छिन् ।

उनले कार्लोटलाई ७ वर्ष पालिन् । हरेक बिहान उठेर कार्लोट हेर्ने बानी परेको थियो उनलाई । तर, आजदेखि त्यो ठाउँ रित्तो भएको र त्यसले आफ्नो मन चिरिरहेको उनले लेखेकी छिन् ।

‘धेरैले मलाई गाली गरे । सुँगुर किन पालेको ? भने । धेरैले उजुरी गरे । कसैले यो फोहोर जनावर हो, हिलोमा बस्ने जात हो भने । तर मेरा लागि त एउटा मात्र जात थियो – मायाको जात । माया गर्नका लागि प्रजाति, रङ, रूप वा नामले कहिल्यै फरक पार्दैन । आज तिम्रो सम्झनामा आँसु बगाउँदै यो लेख्दा पनि धेरै हाँस्लान् । कसैले सुँगुर मरेकोमा पनि यति रोएको भन्लान् । तर मलाई त्यसले कुनै फरक पर्दैन’ उनले लेखेकी छिन् ।

कार्लोट उनका लागि परिवार समान थियो । उसले आफूलाई निस्वार्थ प्रेम गरेको स्नेहाले लेखेकी छिन् ।

‘मसँग तिम्रा हजारौँ सम्झनाहरू छन् । तिम्रा फोटोहरू छन् । तिम्रो मायाले भरिएको 7 वर्षको अमूल्य समय छ । तर आज ती सबै सम्झनाहरूले मनलाई अझ धेरै रुवाइरहेका छन्’ उनले थप लेखेकी छिन् ।

त्यस्तै अर्को जन्म हुने भए फेरि आफूकहाँ आउन उनले अनुरोध गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?