+
+
Shares

अभिमुखीकरणमै सांसदहरू अनुपस्थित, असन्तुष्ट सभामुखले भने– जनताले मूल्यांकन गर्दैछन्

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरूको हरेक गतिविधिको आम जनताले निरन्तर मूल्यांकन गरिरहेको भन्दै सोहीअनुसार अब्बल व्यवहार प्रदर्शन गर्न निर्देशन दिएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १५ गते १२:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारमा आयोजित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा उपस्थितिका लागि सांसदहरूलाई निर्देशन दिनुभयो।
  • सभामुख अर्यालले सांसदहरूको हरेक गतिविधिलाई आम जनताले निरन्तर मूल्यांकन गरिरहेको भन्दै सोहीअनुसार अब्बल व्यवहार प्रदर्शन गर्न आग्रह गर्नुभयो।
  • उनले कार्यक्रममा सांसदहरूको न्यून र ढिलो उपस्थितिप्रति असन्तुष्टि व्यक्त गर्दै मोबाइल चलाएर र गफगाफ गरेर समय नबिताउन सचेत गराउनुभयो।

१५ असार, काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरूको हरेक गतिविधिको आम जनताले निरन्तर मूल्यांकन गरिरहेको भन्दै सोहीअनुसार अब्बल व्यवहार प्रदर्शन गर्न निर्देशन दिएका छन्।

संघीय संसद् सचिवालयले सोमबारदेखि सिंहदरबारमा आयोजना गरेको सांसदहरू लक्षित दुई दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभामुख अर्यालले यस्तो बताएका हुन्। सो क्रममा उनले कार्यक्रममा सांसदहरूको न्यून र ढिलो उपस्थितिप्रति खुलेरै असन्तुष्टि व्यक्त गरे।

जनताको मूल्यांकनमा अब्बल बन्न आग्रह

सांसदहरूको मूल्यांकन अब पार्टीका सभापति, अध्यक्ष वा प्रधानमन्त्रीले मात्र नभई आम नागरिकले गरिरहेको उनले स्मरण गराए।

‘हामी लाखौँ जनताले मत दिएर पठाएका जिम्मेवार नागरिक हौँ। आज कार्यक्रममा समयमै उपस्थिति हुनेदेखि हाम्रा हरेक गतिविधिलाई जनताले मूल्यांकन गरिरहनुभएको छ,’ सभामुख अर्यालले भने, ‘जनताले गर्ने त्यो मूल्यांकनमा अब्बल नम्बर ल्याउन सांसदहरूबीच राम्रो कानुन बनाउने, राम्रो व्यवहार देखाउने र उत्कृष्ट प्रस्तुति दिने विषयमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ।’

सभामुख अर्यालले बिहान १० बजे सुरु भएको कार्यक्रममा सांसदहरूको बाक्लो उपस्थितिको अपेक्षा गरे पनि त्यसो नभएको भन्दै गुनासो गरेका थिए।

‘मोबाइल चलाएर र गफगाफ गरेर समय नबिताउनुस्’

नयाँ सांसदहरू देशको कानुन र विधिबारे जानकार भए पनि संघीय संसद्को संसदीय प्रक्रियामा अभ्यस्त नभइसकेकाले यो सिकाइ आवश्यक रहेको उनले प्रस्ट पारे। सभामुख अर्यालले तालिमका क्रममा मोबाइलमा नघोरिन र आपसमा गफगाफ नगर्नसमेत सांसदहरूलाई सचेत गराए।

‘हतार नगरी, भित्र बस्दाखेरि साइड टक नगरी र मोबाइलमा धेरै अभ्यस्त नभई समय र पैसा खर्च गरेर आइसकेपछि केही सिकेर जाऔँ,’ अर्यालले भने, ‘यो दुई दिने सिकाइको अनुभूति आगामी प्रतिनिधिसभा बैठकमा सभामुखको हैसियतले मैले, संसद् सचिवालयले र सबैभन्दा बढी तपाईंहरूका मतदाताले गर्न पाऊन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?