News Summary
Generated by OK AI. Editorially reviewed.- एनसेलले आगामी असार २२ गतेदेखि पाँच प्रदेशका १३ जिल्लामा थ्रीजी सेवा बन्द गरी फोरजी नेटवर्कलाई थप बलियो बनाउने निर्णय गरेको छ।
- कम्पनीले थ्रीजी प्रविधि बन्द गरेर भोल्टे प्रविधिमार्फत उच्च गुणस्तरीय भ्वाइस कल र डेटा सेवा प्रदान गर्ने योजना अघि सारेको छ।
- ग्राहकहरूले आफ्नो मोबाइलमा भोल्टे सक्रिय गरी पहिलेकै शुल्कमा उन्नत प्रविधिको सेवा लिन सक्ने कम्पनीले स्पष्ट पारेको छ।
१५ असार, काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नयाँ प्रविधि अपनाउने र सेवामा स्तरोन्नती गर्ने आफ्नो योजनालाई निरन्तरता दिँदै विभिन्न १३ जिल्लाका स्थानीय तहमा थ्रीजी सेवा बन्द गर्ने भएको छ ।
‘भ्वाइस ओभर लङ टर्म एभोल्युसन’ (भोल्टे) प्रविधिसँगै फोरजी नेटवर्कलाई झन् बलियो बनाउँदै भ्वाइसका साथै डेटा सेवाको अनुभव अझै परिस्कृत बनाउने उद्देश्य कम्पनीले लिएको छ ।
योसँगै थ्रीजीमा आधारित भ्वाइस सेवा अब फोरजीमा आधारित भोल्टेमार्फत प्रदान हुनेछ । कतिपय ग्राहकले फोरजी चल्ने सिमकार्ड लिएपछि र फोरजी नै चल्ने सेटमा सिमकार्ड प्रयोग गरिरहेका भए पनि थ्रीजी नै चलाइरहेका हुन्छन् । अब भोल्टेको फाइदा लिन ग्राहकले आफ्नो मोबाइलमा भोल्टे सेटिङमा भोल्टे अन गर्नु पर्दछ ।
देशैभर फोरजी नेटवर्क विस्तार गरी फाइभजीका लागि कम्पनीले फ्रिक्वेन्सी मागिरहेको अवस्थामा थ्रीजी नेटवर्क बन्द हुनु नयाँ प्रविधिमा अपग्रेड हुने एक प्रक्रिया हो । यसले उन्नत प्रविधिको प्रयोगसँगै ग्राहकहरूलाई भ्वाइस अनि डेटामा झन् गुणस्तरीय कनेक्टिभिटीको अनुभूति गराउने कम्पनीको भनाइ छ ।
एनसेलले आफूले घोषणा गरिएअनुसारै देशभर चरणबद्ध रूपमा थ्रीजी सेवा बन्द गर्ने योजना कार्यान्वयन गर्ने बताउँदै आएको छ । यसै योजना अन्तर्गत पाँच प्रदेशका १३ जिल्लाका २२० भन्दा बढी टावरहरुमा कम्पनीले असार २२ गतेबाट थ्रीजी सेवा बन्द गर्दैछ । कम्पनीले यी जिल्लाका सम्बन्धित स्थानहरुमा बसोबास गर्ने र फोरजीमा अपग्रेड हुन बाँकी ग्राहकहरूलाई भोल्टे सेवा लिनका लागि आग्रह गरेको छ । यसअघि पनि गत माघमा कम्पनीले कोशीका तीन जिल्लाका विभिन्न स्थानीय तहमा थ्रीजी बन्द गरेको थियो ।
थ्रीजी सेवा बन्द हुने स्थानको सूचीमा कोशी प्रदेशको उदयपुर जिल्लाका त्रियुगा, चौदन्डीगढी, वेलका, कटारी, संखुवासभाका चैनपुर, खाँदबारी, धर्मदेवी, धनकुटाका पाख्रीबास, साँगुरीगढी, भोजपुरका टेम्केमैयुङ र अरुणलगायतका स्थानीय तह रहेका छन् । मधेस प्रदेशको सप्तरी जिल्लाका सप्तकोशी र कन्चनरुप, कर्णाली प्रदेशका रुकुम पश्चिमका चौरजहारी, मुसिकोट, त्रिवेणी, सल्यानका शारदा, छत्रेश्वरी, बागचौरलगायतका स्थानीय तहमा थ्रीजी बन्द हुनेछ ।
यसैगरी लुम्बिनी प्रदेश अन्तर्गत रुकुम पूर्वका सिस्ने, भूमे, रोल्पाका थबाङ, गंगादेवलगायतका स्थानका साथै बागमती प्रदेशको मकवानपुरका हेटौडा, बकैया, मनहरी र राक्सिराङ जस्ता स्थानीय तहमा थ्रीजी सेवा बन्द गर्न लागिएको एनसेलले जनाएको छ । यो सेवा बन्द भएपनि ग्राहकले भोल्टेको फाइदा लिन सक्छन् जसमा एकै समयमा भ्वाइसका साथै मोबाइल ब्रोडब्याण्ड सेवा अहिलेकै शुल्कमा प्रयोग गर्न सक्छिन् ।
भोल्टे प्रविधिमा उच्च गुणस्तरको भ्वाइस कल सेवा हुन्छ भने र फोन सम्पर्क पनि तुलनात्मक रुपमा छिटो समयमा नै स्थापित हुन्छ । ग्राहकहरूले गुणस्तरीय भ्वाइस कल अनि फोरजी डेटा उही शुल्कमा प्रयोग गर्न सक्छन् । ८१२३८११३ डायल गरी भोल्टे सेवा सक्रिय गर्न सकिन्छ। भोल्टे सक्रिय भएपछि ग्राहकहरुले आफ्नो मोबाइल फोनको भोल्टे सेटिङमा भोल्टे अन गर्नुपर्ने हुन्छ ।
आफ्नो फोरजी नेटवर्क मार्फत एनसेलले देशैभर भोल्टे सेवा पुर्याइसकेको छ । भोल्टे प्रविधिको लाभ उठाउन फोरजी चल्ने मोबाइल फोन, फोरजी सीमकार्ड वा इ–सिम अनि फोरजी नेटवर्क उपलब्ध स्थानको आवश्यकता पर्दछ । कुन कुन मोबाइल फोन ब्रान्ड अनि मोडलमा यो सेवाको उपभोग गर्न सकिन्छ अनि कसरी भोल्टे सेवा सक्रिय गर्न सकिन्छ लगायतका जानकारी एनसेलको वेबसाइट अनि एनसेल एप मार्फत प्राप्त गर्न सकिने कम्पनीले बताएको छ ।
प्रतिक्रिया 4