News Summary
Generated by OK AI. Editorially reviewed.- चीनले शक्तिशाली भूकम्पका कारण प्रभावित भेनेजुएलालाई १० करोड युआन बराबरको आपतकालीन राहत सहायता उपलब्ध गराउने घोषणा गरेको छ।
- चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले उक्त रकम उद्धार, राहत र पुनर्निर्माणका लागि प्रयोग गरिने जानकारी दिएका छन्।
- भूकम्पमा परी आठ जना चिनियाँ नागरिकको मृत्यु भएको छ भने चीनले प्रभावित क्षेत्रमा स्याटेलाइट तस्बिरमार्फत उद्धार कार्यमा सहयोग गरिरहेको छ।
१५ असार, बेइजिङ । शक्तिशाली भूकम्पका कारण ठूलो मानवीय क्षति व्यहोरेको भेनेजुएलाका लागि चीनले १० करोड युआन (करिब १ करोड ४७ लाख अमेरिकी डलर) बराबरको आपतकालीन राहत सहायता उपलब्ध गराउने घोषणा गरेको छ।
दुईवटा शक्तिशाली भूकम्पमा परी १ हजार ४५० भन्दा बढी मानिसको मृत्यु भएपछि चीनले राहत र पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको हो।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पत्रकार सम्मेलनमार्फत चीन सरकारले भेनेजुएलालाई निःशुल्क आपतकालीन राहत सामग्री उपलब्ध गराउने जानकारी दिएका छन्। उनले उक्त सहायता रकम प्रभावित क्षेत्रमा राहत वितरण, उद्धार कार्य तथा पुनर्निर्माणका लागि प्रयोग गरिने बताए।
राहत सामग्री सकेसम्म छिटो पठाउने तयारी भइरहेको र प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन तथा उद्धार कार्यमा सहयोग पुर्याउन चीनले स्याटेलाइट तस्बिरसमेत उपलब्ध गराइरहेको प्रवक्ता गुओले जानकारी दिए। साथै, परिस्थितिको मागअनुसार आगामी दिनमा थप सहयोग गर्न चीन तयार रहेको उनले उल्लेख गरेका छन्।
यसअघि चिनियाँ राष्ट्रपति सी जिनपिङले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजलाई शोक सन्देश पठाउँदै विपद्बाट प्रभावित जनताप्रति समवेदना व्यक्त गरेका थिए। उनले राहत, पुनःस्थापना र पुनर्निर्माणका कार्यमा चीनको निरन्तर सहयोग रहने प्रतिबद्धतासमेत जनाएका थिए।
भूकम्पका कारण आठ जना चिनियाँ नागरिकको मृत्यु भएको पुष्टि भएको छ भने एक जना अझै बेपत्ता रहेका चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्। हाल प्रभावित क्षेत्रमा उद्धार टोलीहरूले खोज तथा राहत कार्य जारी राखेका छन्।
(एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया 4