News Summary
Generated by OK AI. Editorially reviewed.- जुम्लाको सिँजा गाउँपालिका–२ बाट हराएका ३ बालकलाई २ दिनपछि जुम्ला–कालीकोट सिमानाको लेकाली क्षेत्रबाट सकुशल उद्धार गरिएको छ ।
- विद्यालयबाट काफल खान जङ्गल गएका ७, ८ र १२ वर्षका बालकहरू बाटो बिराएर जङ्गलमा हराएका थिए ।
- हराएका बालकहरू एनसेल टावरमुनि २ रात बसेको अवस्थामा भेडीगोठालाले देखेपछि प्रहरी र स्थानीयवासीले उद्धार गरेका हुन् ।
५ असार, काठमाडौं । जुम्लाको सिँजा गाउँपालिका–२ अवस्थीबाडाबाट हराएका तीन बालकको दुई दिनपछि सकुशल उद्धार गरिएको छ ।
बालकहरू दुई रात एनसेल टावरमुनि आश्रय लिएर बसेको प्रहरीको भनाइ छ । विद्यालय जान भन्दै घरबाट निस्किएपछि बाटो बिराएर जंगलमा हराएका उनीहरूलाई स्थानीयबासी र प्रहरीको संयुक्त खोजीपछि जुम्ला–कालीकोट सिमानाको उच्च लेकाली क्षेत्रमा उद्धार गरिएको हो ।
फेला परेका बालकहरूमा ७ वर्षीय परिवर्तन विष्ट, ८ वर्षीय प्रशान्त खत्री र १२ वर्षीय विनोद रोकाय रहेका छन् । उनीहरू सोमबार काफल खान जङ्गलतर्फ गएको र पछि बाटो बिराएर घर फर्किन नसकेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
घर नफर्किएपछि चिन्तित अभिभावक र स्थानीयवासीले विद्यालय, गाउँका बाटा, नदी किनार, नराकोट बजारलगायत क्षेत्रमा खोजी गरेका थिए । कुनै जानकारी नभएपछि इलाका प्रहरी कार्यालय नराकोटमा खबर गरिएको थियो । त्यसपछि प्रहरी नायब निरीक्षक कृष्णबहादुर बुढाको नेतृत्वमा टोली परिचालन गरिएको थियो ।
व्यापक खोजी अभियानका क्रममा जुम्ला–कालीकोट सिमानाको खेतीखर्क नजिकको उच्च लेकाली जंगल क्षेत्रमा उनीहरू फेला परेका हुन् । इलाका प्रहरी कार्यालय नराकोटका सहायक हवलदार तिलकप्रसाद उपाध्यायका अनुसार बालकहरू जंगलको भित्री भागमा हराएपछि दुई रात त्यहाँ रहेको एनसेल टावरमुनि बसेर समय बिताएका थिए ।
विद्यालय पोशाकमै रहेका उनीहरूलाई भेडीगोठालाले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । वडाध्यक्ष तीर्थ वडका अनुसार स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासले बालकहरूलाई सुरक्षित उद्धार गर्न सफल भएको हो । उद्धारपछि उनीहरूलाई अभिभावकको जिम्मा लगाइएको छ ।
प्रतिक्रिया 4