+
+
Shares

दैलेख दुर्घटनाको २४ घण्टा : यात्रीको संख्या यकिन छैन, कर्णालीमा हेलिएको गाडी अझै भेटिएन

गाडी दुर्घटना भएको २४ घण्टा बित्दा पनि गाडीमा सवार यात्रुको संख्याबारे  प्रशासन बेखबर छ । जबकी सुर्खेतबाट साङ्गेतडा पुग्दासम्म ४–५ वटा चेक पोस्टमा गाडीको इन्ट्री गराइन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १९ गते ११:५३

१९ असार, सुर्खेत । सुर्खेतबाट कालिकोट जाँदै गरेको फोर्स गाडी कर्णाली नदीमा हेलिएको २४ घण्टा बित्यो । तर, अहिलेसम्म गाडीमा कति यात्रु थिए भन्ने यकिन छ न त नदीमा हेलिएको गाडी फेला नै परेको छ ।

कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७, स्थित साङ्गेतडामा बिहीबार बिहान ११: ३० बजे क.प्र. ०२–००१ ख १०५५ नम्बरको यात्रुबाहक फोर्स गाडी कर्णाली नदीमा खसेको थियो ।

गाडी दुर्घटना भएको २४ घण्टा बित्दा पनि गाडीमा सवार यात्रुको संख्याबारे  प्रशासन बेखबर छ । जबकी सुर्खेतबाट साङ्गेतडा पुग्दासम्म ४–५ वटा चेक पोस्टमा गाडीको इन्ट्री गराइन्छ ।

‘गाडीमा सवार यात्रु संख्या हालसम्म यकिन हुन सकेको छैन,’ जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकाय भन्छन्, ‘प्रारम्भिक अनुसन्धान अनुसार उक्त गाडीमा अन्दाजी ५/६ जना यात्रुहरू सवार हुन सक्ने अनुमान रहेको छ ।’ यात्रुहरूको थप यकिन विवरण खोज तथा अनुसन्धान जारी रहेको उनले बताए ।

प्रहरीका अनुसार, नदीमा खसेर बेपत्ता भएको यात्रुवाहक गाडी बिहीबार अबेर रातिसम्म खोजी गर्दा पनि भेटिएन । सशस्त्र प्रहरी बल, नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट ६ जनाको गोताखोर टोलीले घटनास्थलमा खोजी कार्य गरिरहेको छ ।

बिहीबार झन्डै चार घण्टासम्म खोजी गरेको उक्त टोली शुक्रबार बिहानैदेखि पुनः खोजीका कार्यका लागी जुटेको कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) जयराज सापकोटाले जानकारी दिए ।

पानीको सतह बढेको र वर्षापछि आएको बाढीले पानी धमिलो हुँदा गाडी खोज्न कठिन भएको उनले बताए ।

गाडी खसेको ठाउँ एकदमै भिरालो भएको र अछामको बाटो भएर खोजी कार्य गर्नु पर्दा थप कठिनाइ भएको उनले बताए ।

‘गाडी खसेको ठाउँबाट तल नदी क्षेत्रमा जानै नसकिने रहेछ । हामी पाँच किलोमिटर माथिबाट घटनास्थल पुगेका थियौँ,’ घटनास्थल पुगेर फर्किएका डिआइजी सापकोटाले भने, ‘हिजो रातभरि पनि पानी परेछ । नदी धमिलो हुँदा खोज्नै गार्‍हो भइरहेको छ ।’

उनका अनुसार हालसम्म घटनास्थलमा गाडीका केही सिट र ४–५ वटा मोबाइलहरू भेटिएका छन् ।

उद्धार सामाग्रीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेसको जनशक्ति सहित ५० बढी सुरक्षाकर्मीहरूले संयुक्त रूपमा खोज तथा उद्धार कार्यमा खटिएका छन् ।

भीरमा अड्किएको अवस्थामा शव निकालिएका एक जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।

मृतक कालिकोट पचाल झरना गाउँपालिका–९ निवासी ५४ वर्षीय जेखे तिरुवा रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

दुर्घटनामा परेको गाडी बुलबुले यातायात प्रालिको भएको प्रहरीले पुष्टि गरेको छ । ‘गाडी अनियन्त्रित भई झन्डै ४ सय मिटर तलको कर्णालीमा खसेको छ, दुर्घटनाको कारण केही खुलेको छैन,’ जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी रोकाय भन्छन् ।
प्रहरीका अनुसार गाडी कर्णाली नदीमा डुबेको स्थान प्रहरी चौकी पाल्ताबाट तीन किलोमिटर उत्तरतर्फ र जिप्रका दैलेखबाट ५० किलोमिटर पश्चिमतर्फ पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?