काठमाडौं । केन्द्रीय चलचित्र जाँच समितिले मित्रराष्ट्रको कूटनीतिक सम्बन्धमा असर पर्ने खालको कथा बोकेका विदेशी फिल्मलाई प्रदर्शनमा कडाइ गर्ने भएको छ ।
यसअघि विदेशबाट सहजै त्यस्ता फिल्म ल्याएर प्रदर्शन अनुमति पाउने गरेपनि अबदेखि भने प्रदर्शन मापदण्डलाई कसिलो तुल्याइने बारे छलफल भएको समिति सदस्य मनोज पण्डितले बताए ।
उनका अनुसार, नेपालको अर्को छिमेकी मुलुकविरुद्धको कथावस्तुमा बनेको अर्को मुलुकको विदेशी फिल्मको नियमनबारे समितिमा छलफल सुरु भएको छ । जसअनुसार, समितिले प्रपोगान्डा सिनेमा, नेपालको छिमेकी राष्ट्रविरुद्ध बनेका सिनेमा र नेपालको राष्ट्रियतामाथि आक्षेप लगाइएका सिनेमालाई रोक्न वा नियमन गर्न सक्नेछ ।
‘यसबारे छलफल सुरु भएको छ र हामी चाँडै विदेशी फिल्मका वितरकलाई परिपत्र पनि गर्दैछौं’ पण्डितले अनलाइनखबरसँग भने, ‘किनभने, एउटा विदेशी फिल्मले अर्को देशको हाम्रो सम्बन्धमा आँच आउन दिनु हुँदैन भन्ने कुरामा हामी सचेत छौं ।’
निकट विगतमा विशेषगरि पाकिस्तान र रुसविरुद्धको कथावस्तुमा बनेका भारतीय र हलिउड फिल्मको नेपाल प्रदर्शन सहजरुपमा हुने गरेको थियो । यस पृष्ठभूमिमा समितिले कडाइ गर्ने संकेत गरेको हो ।
खासमा भएको के हो ?
समितिले जाँच कार्य सकेपनि दुई दिन रोकेर बलिउड फिल्म ‘अल्फा’लाई प्रदर्शन अनुमति दिएको छ । फलस्वरुप शुक्रबारदेखि देशभरका हलमा लागेको छ । पाकिस्तानविरोधी कथावस्तुको यो फिल्मलाई प्रदर्शन अनुमति दिने वा नदिने भन्ने बारे समितिमा लामै छलफल चल्यो ।
समितिले प्रदर्शन अनुमति नदिएर दुई दिन रोकेको यो फिल्मलाई सूचना तथा संचारमन्त्री विक्रम तिमिल्सिनाको निर्देशनपछि प्रदर्शन अनुमति दिइएको स्रोतहरू बताउँछन् । नेपाली चलचित्र जाँच समितिको इतिहासमा फिल्म प्रदर्शनको निर्णय कुनै मन्त्रीबाट भएको यो सम्भवतः पहिलोपटक हो ।
मन्त्रीको निर्देशनपछि विहिबार बेलुकामात्र वितरकलाई अनुमति पत्र दिइएको थियो । यसैबीच, समितिले जाँच नभैकन शोज प्रकाशित गर्ने हलको कार्यमा कडाइ गर्ने भएको छ । ‘हामीले यसको पनि अनुगमन सुरु गर्दैछौं’ पण्डितले भने ।
आलिया भट्ट स्टारर ‘अल्फा’ को जाँच नभैकन फिल्मको शोज सार्वजनिक गरिएकोप्रति समितिले असन्तुष्टि जनाएको छ । ‘अबदेखि त्यो हुँदैन, कडाइका साथ नियम लागू हुन्छ’ उनले भने ।
प्रतिक्रिया 4