पुतलीसडक, जमल, कमलपोखरी, केशरमहल, अनामनगर लगायत क्षेत्रमा केही मिनेट मात्रै ठूलो वर्षाले सडकमा पानी जम्ने गर्छ । यो दृष्य बिहीबार पनि देखियो । कतिपय स्थानमा त यातायात नै ठप्प हुने अवस्था पनि आयो ।
काठमाडौंमा यो नयाँ परिदृष्य भने होइन । दशकौंदेखि प्रकृतिमाथि भएको मानवीय हस्तक्षेप, कमजोर शहरी पूर्वाधार र बनेका पूर्वाधारको नियमित मर्मत सम्भार नहुनुको परिणाम वर्षायाममा देखिएको हो ।
म सडक विभागको महानिर्देशक हुँदा २०७६ सालताका सिटी सेन्टरदेखि पुतलीसडकसम्म वर्षातको पानीलाई टुकुचामा पठाउने गरी पूर्वाधार संरचना बनाएका थियौं । त्यसअघि नियमितजसो पुतलीसडकमा डुबानको समस्या थियो । त्यसबेला विभिन्न तीन स्थानमा वर्षातको पानी खोला/खोल्सामा पठाउने गरी सडक विभागले संरचना बनाएको थियो ।
पुतलीसडक क्षेत्रको पानी टुकुचा पठाउने, जमल, केशरमहल क्षेत्रको पानी रानीपोखरी पठाउने र कोटेश्वर–तीनकुने क्षेत्रको पानी बागमती नदीमा खसाल्ने गरी संरचना बनाइएको थियो । सो संरचना बनेपछि हामीले प्रत्यक्ष नै अनुभव गर्यौं, केही वर्षसम्म यी क्षेत्रमा डुबानको समस्या आएन । अब पुनः सो समस्या देखिन थाल्यो । यसको मतलव सो समयमा राखिएका पाइपहरूमा फोहोर जम्यो होला, त्यसको नियमित मर्मत सम्भार र सफा गर्ने काम भएन होला । त्यसले पुनः पानी निकास रोक्यो र डुबान सुरु भयो । यस्तो समस्या काठमाडौंमा मात्र होइन, संसारका अन्य ठूला शहरमा पनि हुने गरेको छ । नयाँ दिल्ली, मुम्बईजस्ता भारतीय शहरहरूमा समेत सोही समस्या देखिन्छ ।
काठमाडौंमा अहिले नदी र खोलाहरू प्राकृतिक स्वरुपमा छैनन् । खोलालाई हामीले आफ्नो नियन्त्रणमा राख्न खोज्यौं । नदीहरू प्राकृतिक स्वरूपमा रहेको भए वर्षातको पानी निकास समेत स्वभाविक हुन्थ्यो । पानीले आफ्नो बाटो हुँदै खोलामा जान सक्ने अवस्था भएको भए शहरमा डुबान समस्या हुने थिएन ।
तर, टुकुचालाई जमिनभित्रबाट बगाइएको छ । त्यहाँ भित्र के छ के छ, कसैलाई पनि थाहा छैन । यो अवस्थामा वर्षातको पानी निकास स्वभाविक नहुनु नयाँ विषय रहेन । यस्तै समस्या शहरभरि छ । पानी निकास र ढलका संरचना बनाउँदा नदीको स्लोपसँग मिलाउन सकिएन भने निकासको समस्या हुन्छ । र डुबानको समस्या देखिन्छ ।
शहरमा हुने यस्तो समस्या हल गर्न सरकार र नागरिक सबै जिम्मेवार हुनुपर्छ । हिजोआज पनि कसैले नदेख्ने गरी फुत्तफुत्त ढल र खोलामा फोहोरका पोका मिल्काउने प्रवृत्ति हटेको छैन । जब नकुहिने फोहोर त्यसरी फालिन्छ, त्यसले ढल र भूमिगत गराइएका खोलाहरूको स्वभाविक बहावलाई रोक्छ ।

सोहीकारण पहिलो काम शहरी भेगमा फोहोर जभाभावी फाल्न रोकिनुपर्छ । प्लास्टिक, पानी–बियरका बोटल अहिले पनि छरपष्ट सडकभरि देखिन्छ । शहरको धेरै गल्लीहरूमा अहिले सीसीटीभी क्यामेराहरू छन् । त्यसरी फोहोर मिल्काउने जोकोहीलाई कानुनी दायरामा ल्याएर जरिवाना तिराउनु पर्छ । त्यसले शहरी सुन्दरतामात्र बिगारेको छैन, हाम्रा सार्वजनिक संरचनाहरूमा समेत क्षति गरिरहेको छ ।
दोस्रो जिम्मेवार निकायहरूले मनसुन सुरु हुनुभन्दा अगाडि नै आफ्ना संरचनाहरू मनसुन थेग्न कति तयार छन्, त्यसको निरीक्षण र सरसफाइ गर्नुपर्छ । मनसुन सुरु नहुँदै पुतलीसडकको पानी टुकुचा खसाल्ने प्रणाली थुनिएको वा अधिकांश थुनिएको अवस्था पत्ता लाग्ने र त्यसलाई खोल्ने हो भने एकझर वर्षामै पुतलीसडकमा डुबान हुने अवस्था आउँदैनथ्यो । तेस्रो घरबाट निस्कने फोहोर बग्ने ढल र वर्षाको पानी निकासीका लागि एउटै संरचना बनाउनु हुँदैन ।
मानवीय फोहोरसहितको ढल सिधै नदीमा खसाल्दा त्यसले नदी र प्राकृतिक स्वास्थ्यमा धेरै नै असर गर्छ । तर, वर्षातको पानीलाई सिधै नदीमा खसाल्न सकिन्छ । सोही अनुसार संरचना बनाउनु पर्छ ।
ढललाई नदीमा मिसाउनु भन्दा पहिला ‘ट्रिटमेन्ट’ अनिवार्य गर्नुपर्छ । जब वर्षातको पानीलाई घरबाट निस्कने फोहोर बग्ने ढलबाट अलग गरिन्छ, त्यसले ‘ट्रिटमेन्ट प्लान्टहरू’मा समेत अतिरिक्त भार कम गराउँछ ।
काठमाडौंमा सम्भव छ भने प्राकृतिक खोल्साहरूलाई पुनर्जिवित गरिनु पर्छ । त्यसले पानी पुनर्भरणदेखि निकासमा समेत सहयोग गर्छ । सम्भव नभए साँघुरो पाइपमा सिमित गरिएका निकासी प्रणालीलाई फराकिलो बनाउनु पर्छ । त्यस्तो प्रणालीमा सर्वप्रथम फोहोर जाने अवस्था नै सिर्जना गर्नु भएन । केहीगरी फोहोर छिर्यो भने त्यसलाई समयमै सफाइ गर्ने र संरचना दुरुस्त राख्ने प्रबन्ध गर्नुपर्छ ।
काठमाडौंको डुबानबाट पाठ सिकेर नयाँ शहरहरूले यो पक्षमा सोचविचार गर्नुपर्छ । तुलनात्मक रुपमा पोखरामा धरातल भिरालो छ । त्यहाँको पानी निकास सहजै हुने गरेको छ । तर, मानवीय संरचनाका कारण पोखरामा समेत समस्या देखिन थालिसकेको छ । यसलाई बेलैमा समाधान गर्न सकिएन भने भविष्यमा जटिल अवस्था नआउला भन्न सकिँदैन ।
(शर्मासँगको वार्तामा आधारित)
प्रतिक्रिया 4