दार्चुला । नेपालको उत्तर–पश्चिमी सीमास्थित दार्चुलाको तिङ्कर भञ्ज्याङ (५,२५८ मिटर) उचाइमा रहेको १ नम्बर जङ्गे सीमा स्तम्भमा नायक, निर्माता तथा लेखक नवल खड्काको ‘नवल खड्का’ पुस्तक विमोचन गरिएको छ ।
विमोचन कार्यक्रममा सर्जक नवल खड्काले आफ्नो ‘नवल खड्का’ पुस्तक तथा ‘भीमदत्त’ र ‘काँडेतार’ चलचित्रबाट प्राप्त हुने मुनाफाको ५० प्रतिशत हिस्सा राष्ट्रको सीमा सुरक्षा र राष्ट्रिय स्वाभिमानका लागि समर्पण गर्ने घोषणा गरे ।
उनले सीमामा सीसी क्यामेरा जडान, नेपाली सेनालाई सीमा सुरक्षाको पूर्ण जिम्मेवारी, १६ वर्ष उमेर पुगेका प्रत्येक नेपालीलाई आधारभूत सैनिक तालिम प्रदान गर्ने व्यवस्था, तथा ‘शान्ति क्षेत्र नेपाल’ घोषणालाई पुनर्जीवित गर्नुपर्ने माग गरे।
खड्काले भने, ‘हामी शून्य नम्बर पिलर खोज्न गयौँ, तर भेटिएन। त्यसैले सरकारसँग मेरो खुला चुनौती छ- शून्य नम्बर पिलर कहाँ छ, देखाइयोस्। महाकाली, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा पुगेर स्थानीयसँग एक रात बसेर वास्तविक अवस्था बुझ्न म सरकारलाई चुनौती दिन्छु।’
उनले अब थप ढिलाइ नगरी जङ्गे सीमा स्तम्भलाई आधार मानेर सम्पूर्ण नेपाली सीमामा काँडेतार लगाउने कार्य तत्काल सुरु गर्न सरकारसँग आग्रह गर्दै तिङ्कर भञ्ज्याङको १ नम्बर सीमा स्तम्भबाट सीमा सुरक्षा, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकताको पक्षमा सन्देश दिएको बताए ।
राष्ट्रिय जेन्जी नागरिक अभियानका संयोजक सुनिल सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुस्तक विमोचन गरिएको हो । कार्क्रमका अध्यक्ष सुनिल सिंहले स्वदेशी चलचित्रको पक्षमा उभिनु कुनै राष्ट्रको विरोध नभई आफ्नै देशप्रतिको सम्मान, जिम्मेवारी र आत्मगौरव भएको बताए ।
उनले देशभक्त कलाकार नवल खड्काको योगदानलाई राज्यले समयमै सम्मान गर्नुपर्ने धारणा राख्दै ढिलाइ गरेपछि पछुताउनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए ।
प्रतिक्रिया 4