२० असार, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेट शनिबार(आज) प्रदेशसभाबाट पारित गराउने तयारी गरेको छ ।
बजेटलाई लिएर सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसमा जारी विवादकै बीच बजेट पारित गर्न लागिएको हो ।
आज हेटौंडामा बसेको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ ।
मुख्य सचेतक पुकार महर्जनद्वारा हस्ताक्षरित पत्रमा सांसदहरूलाई आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले पेस गरेको २०८३/८४ को विनियोजन विधेयक निर्णयार्थ पेस हुने भएकाले आजको प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित भएर पक्षमा मतदान गर्न ह्वीप लगाइएको छ ।
संसदीय दलले सांसदहरूलाई तटस्थ नरहन र विधेयकको पक्षमा मत भोट गर्न तीन लाइनको ह्वीप जारी गरेको हो ।
बजेटको विषयमा कांग्रेसभित्रको विवाद मिलाउन पार्टी महामन्त्री गुरुराज घिमिरे हेटौंडा आएका थिए । घिमिरेको विशेष उपस्थितिमै दलको बैठक बसेको थियो ।
बैठकले प्रस्तुत बजेट पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा तामाङको संयोजकत्वमा बजेट निर्माण सहजीकरण कार्यदल गठन गरि कार्यदलले दिएको सुझाव र नीति अनुरूप नै आएको निष्कर्ष निकालेको मुख्यमन्त्री सचिवालयले जनाएको छ ।
बागमती सरकारले १ असारमा ६६ अर्ब ९३ करोडको बजेट ल्याएको थियो । प्रदेशसभामा १६ असारदेखि बजेटमाथि छलफल चलिरहेको छ ।
तर, बागमतीका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा पक्षधरका सांसद बजेटप्रति असन्तुष्टि जनाउँदै हेटौंडा नै आएका थिएनन् । असन्तुष्ट सांसदहरूले पार्टी सभापति गगनकुमार थापालाई पनि भेटेका थिए ।
असन्तुष्ट सांसदहरूले बजेट निर्देशिका ल्याएर त्यसको विपरीत बजेट विनियोजन भएको, वितरणमुखी बजेट ल्याएर आफ्नो निर्वाचन क्षेत्रकेन्द्रित गरेको, जनअपेक्षाअनुसार बजेट नल्याएर मनलाग्दी गरेको, सन्तुलित बजेट नल्याएको, सुझाव कार्यान्वयन नगरेको, बजेटमा विचौलियाहरुको प्रभाव देखिएको विषयमा प्रश्न उठाएका थिए ।
प्रतिक्रिया 4