+
+
Shares

ठेक्का लागेको पाँच वर्ष बित्दा पनि हुम्ला–मुगु जोड्ने पुलको निर्माण सुरु भएन

ठेकेदारमाथि कारबाही प्रक्रिया सुरु

मुगु र हुम्ला जोड्ने कर्णाली नदी माथिको दोमुख पक्की पुलको निर्माण सम्झौता भएको पाँच वर्षसम्म अलपत्र परेको छ । सम्झौताअनुसार निर्माण सकिनुपर्ने समय घर्किसक्दा पनि अझै राम्ररी कामसमेत सुरु हुनसकेको छैन ।

नरजन तामाङ नरजन तामाङ
२०८३ असार २० गते १६:०८

२० असार, हुम्ला । मुगु र हुम्ला जोड्ने कर्णाली नदी माथिको दोमुख पक्की पुलको निर्माण सम्झौता भएको पाँच वर्षसम्म अलपत्र परेको छ । सम्झौताअनुसार निर्माण सकिनुपर्ने समय घर्किसक्दा पनि अझै राम्ररी कामसमेत सुरु हुनसकेको छैन ।

१४ मंसिर २०७८ मा १५ करोड ९३ लाख रुपैयाँ लागतमा पुल निर्माणका लागि श्री मृत सञ्जीवनी सेवा प्रालि, हेटौंडाले ठेक्का सकारेको थियो ।

सम्झौताअनुसार २०८३ जेठ ३० गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । तर, हालसम्म पनि पुलको भौतिक प्रगति शून्य रहेको जिल्ला पूर्वाधार विकास कार्यालय, मुगुका प्रमुख कृष्ण चापागाईंले जानकारी दिए ।

निर्माण सम्पन्न गर्ने सम्झौता अवधि सकिँदा समेत काम अघि नबढेपछि  निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया थालिएको छ । अहिले कम्पनीसँग १५ दिनभित्र स्पष्टीकरण पेस गर्न सार्वजनिक सूचना जारी गरिएको छ ।

जिल्ला पूर्वाधार विकास कार्यालय, मुगुले सार्वजनिक सूचनामार्फत मृत सञ्जीवनी सेवा प्रालिलाई प्रमाणसहित चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

तोकिएको अवधि भित्र सन्तोषजनक जवाफ नआए ठेक्का तोडेर प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने कार्यालयले जनाएको छ ।

दोमुख पुल निर्माणमा भएको चरम ढिलासुस्ती, अनियमितता तथा जिम्मेवार निकायको लापरबाहीविरुद्ध मुगुका युवाहरूले खबरदारी अभियान पनि थालेका छन् ।

अभियन्ताहरूकै दबाबका कारण जिल्ला पूर्वाधार विकास कार्यालयले ठेकेदार कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाएको उनीहरूको दाबी छ ।

यसैबीच, सोरु गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमा दोमुख क्षेत्रमा स्थायी पुल निर्माण नहुँदासम्म आवतजावत सहज बनाउन बेलीब्रिज निर्माणका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

दोमुख पुल निर्माण नहुँदा मुगु र हुम्लाका बासिन्दा लामो समयदेखि मर्कामा पर्दैआएका छन् । यस्तै, यहाँ पुल नहुँदा कर्णाली कोरिडोर हुँदै रारा पुग्ने छोटो मार्ग प्रयोग गर्न पर्यटकलाई पनि कठिनाइ हुने गरेको छ ।

लेखक
नरजन तामाङ

तामाङ हुम्लाबाट पत्रकारिता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?