२५ असार, काठमाडौं । नेपाली कांग्रेसले आफ्नो भ्रातृ संस्था ‘नेपाल लोकतान्त्रिक खेलकुद संघ’ लाई आगामी असोज मसान्तभित्र केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी जिम्मेवारी प्रदान गरेको छ ।
नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलद्वारा हस्ताक्षरित पत्रमार्फत संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनलाई बाँकी रहेका अधिवेशनहरू सम्पन्न गरी केन्द्रीय महाधिवेशन आयोजना गर्ने जिम्मेवारी दिइएको हो ।
यसअघि संघको केन्द्रीय महाधिवेशन २०८२ साल असोज ४ र ५ गते काठमाडौँमा सम्पन्न गर्ने तालिका तय गरिएको थियो । तर, २०८२ साल भदौ २३ र २४ गते भएको ‘जेनजी’ पुस्ताको विद्रोहका कारण तोकिएको समयमा महाधिवेशन सम्पन्न हुन सकेको थिएन ।
महाधिवेशन रोकिइसकेपछि अध्यक्ष देवेन्द्रकुमार शेरचनले तोकिएको अवधिभित्रै बाँकी रहेका जिल्ला तथा प्रदेश कार्यसमितिहरूको अधिवेशनहरू सम्पन्न गरी महाधिवेशन गर्ने प्रतिबद्धतासहित केन्द्रलाई लिखित रूपमा जानकारी गराएका थिए ।
तर, कांग्रेस केन्द्रीय कार्यसमितिले भ्रातृ संस्थाहरु विघटन गर्दा लोकतान्त्रिक खेलकुद संघले महाधिवेशनका प्रक्रिया अघि बढाउन पाएको थिएन । महामन्त्री प्रदिप पौडेलले असार २२ गते शेरचनालाई नै असोज मसान्तत्रि महाधिवेशन गर्ने गरी पत्र दिएका हुन् ।
पत्रमा तोकिएको समयावधिभित्रै सम्पूर्ण बाँकी सांगठनिक प्रक्रिया र अधिवेशनहरू पूरा गरी केन्द्रीय महाधिवेशन आयोजना गर्न संघलाई निर्देशन समेत दिएको छ । पत्र प्राप्त भएसँगै महाधिवेशनका प्रक्रियाहरू सुरु हुने अध्यक्ष शेरचनले जानकारी दिए ।
प्रतिक्रिया 4