२५ असार, काठमाडौं । विश्वकप उत्तर अमेरिकाको तीन राष्ट्र अमेरिका, मेक्किकोमा आयोजना हुँदा अहिलेसम्मकै धेरै ४८ राष्ट्रले प्रतिस्पर्धा सुरु गरेका थिए ।
समूह चरण, राउण्ड अफ ३२ र प्रिक्वाटरफाइनलका खेलहरू सकिएर क्वाटरफाइनलसम्म आइपुग्दा जारी २३औं संस्करणको विश्वकपमा युरोपियन टोलीहरूकै वर्चस्व देखिएको छ ।
समूह चरणको सुरुवाती खेलमा एसियाली टिमहरूले पनि केही आशा देखाएका थिए । समूह चरणको अन्तिम खेलपछि अफ्रिकाको १० मध्ये ९ टिमले नकआउट चरणमा स्थान बनाउँदै अफ्रिकन टिमहरूको स्तर पनि बढेको संकेत देखाएको थियो ।
नकआउट चरणको राउण्ड अफ ३२ मा आयोजक तीनवटै राष्ट्रले जित हात पार्दा आयोजक राष्ट्र (उत्तर अमेरिकाको तीन टिम) को यात्रा अझ अगाडि सम्म बढ्छ जस्तो देखिएको थियो ।
तर प्रिक्वाटरफाइनलको खेल समापन भएपछि तीनवटै आयोजक राष्ट्रको चुनौती समाप्त भएको छ । अफ्रिकाबाट दुई टिम प्रिक्वाटरफाइनल खेलेकोमा एक टिम मात्र क्वाटरफाइनलमा पुग्न सफल भएको छ ।
युरोपसँगै पावर हाउसको रुपमा रहेको दक्षिण अमेरिकाबाट पनि चार टोली प्रिक्वाटरफाइनल पुगेमोमा साविक विजेता अर्जेन्टिना मात्रै क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो ।
विगतमा जस्तै यस पटक पनि क्वाटरफाइनलमा युरोपकै टिमहरूको वर्चस्व रह्यो ।
युरोपबाट विश्वकपमा प्रतिस्पर्धा गरेका कुल १६ टोली मध्ये क्वाटरफाइनलमा ६ टोली पुग्न सफल भए । ८ मध्ये ६ टोली युरोपको हुनुले नै विश्वकपमा युरोपियन टोली हावी भएको संकेत गर्छ ।
साविक उपविजेता तथा दुई पटकको विजेता फ्रान्ससँगै एक-एक पटक उपाधि जितेका इंग्ल्यान्ड र स्पेन तथा बेल्जियम, नर्वे र स्विट्जरल्यान्डले अन्तिम ८ को यात्रा तय गरेका छन् ।
विश्वकप २०२६ को प्रारम्भिक चरणमा विभिन्न महादेशका टोलीहरूले उत्कृष्ट प्रदर्शन गर्दै केही सनसनीपूर्ण नतिजा निकालेपनि प्रतियोगिता अन्तिम चरणतर्फ आउँदै गर्दा युरोपियन टोलीहरूकै दबदबा देखिएको हो ।
त्यसमध्ये फ्रान्स र इंग्ल्यान्डले लगातार विश्वकपको क्वाटरफाइनलमा स्थान बनाएका हुन् भने सन् २०१० को विजेता स्पेनले १६ वर्षपछि, बेल्जियमले ८ वर्षपछि र स्विट्जरल्यान्डले ७२ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा स्थान बनाएका हुन् । नर्वे इतिहासमै पहिलो पटक क्वाटरफाइनल पुगेको हो ।
क्वाटरफाइनल पुग्ने ८ टोली मध्ये साविक विजेता अर्जेन्टिना र साविक उपविजेता फ्रान्ससहित चार वर्षअघि सेमिफाइनल खेलेको मोरक्कोले यस पटक पनि लयलाई निरन्तरता दिएको छ ।
पछिल्लो तीन दशकको इतिहास हेर्दा फ्रान्स विश्वकपको सबैभन्दा सफल टोली हो । सन् १९९८ मा आफैं आयोजक हुँदा ब्राजिललाई हराएर पहिलो पटक विश्वकप जितेको फ्रान्स त्यसयता तीन पटक फाइनल पुगिसकेको छ र २०१८ मा च्याम्पियन नै बनेको थियो भने २००६ र २०२२ मा उपविजेता बनेको थियो । २०१० मा भने फ्रान्स समूह चरणबाटै बाहिरिएको थियो ।
यस्तै सन् २०१० मा उपाधि जितेपछि स्पेनले पछिल्ला तीन विश्वकपमा राम्रो प्रदर्शन गर्न सकेन । २०१४, २०१८ र २०२२ मा स्पेनले नकआउटमा कुनै खेल जित्न सकेन ।
इंग्ल्यान्ड विश्वकपको सदाबाहर उपाधि दाबेर रहने गरेपनि १९९६ मा उपाधि जितेपछि फेरि फाइनल पुग्न सकेको छैन । चार वर्षअघि इंग्ल्यान्ड क्वाटरफाइनलबाटै बाहिरिएको थियो । यस पटक पनि इंग्ल्यान्डले उपाधि जित्ने लक्ष्य राखेको छ । इंग्ल्यान्डले सन् १९९० र २०१८ मा सेमिफाइनलसम्म पुगेको थियो । तर दुवै पटक चौथो स्थानमा रहेर विश्वकप सकाएको थियो ।
गोल्डेन जेनेरेसनको अन्तिम पुस्ताको टिम बेल्जियम ८ वर्षपछि फेरि विश्वकपको क्वाटरफाइनल पुगेको हो । समूह चरणमा अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेपनि बेल्जियमले नकआउट चरणमा भने शानदार प्रदर्शन गरिरहेको छ । सन् २०१८ मा सेमिफाइनल सम्म यात्रा तय गरेको बेल्जियम फ्रान्ससँग पराजित भएपछि फाइनल पुग्न असफल भएको थियो र तेस्रो बनेको थियो ।
यस्तै अर्को युरोपियन राष्ट्र नर्वेले चौथो पटक विश्वकप खेलिरहे पनि क्वाटरफाइनल पुगेर इतिहास रचेको हो । सन् १९९८ मा पछिल्लो पटक विश्वकप खेलेको नर्वेले २८ वर्षपछि विश्वकपमा पुनरागमन गर्दा नकआउट चरणमा स्थान बनायो । त्यसपछि राउण्ड अफ ३२ र प्रि क्वाटरफाइनल खेल जित्दै पहिलो पटक अन्तिम ८ मा पुगेको हो ।
***
अब क्वाटरफाइनलमा दुई खेल अल युरोपियन हुनेछ भने दुई खेल फरक फरक महादेशको टोलीबीच हुनेछ । युरोपकै स्पेन र बेल्जियम तथा नर्वे र इंग्ल्यान्ड अल युरोपियन क्वाटरफाइनलमा भिड्नेछन् । यसबाट कम्तीमा दुई टिम सेमिफाइनल पुग्ने निश्चित छ ।
अन्य दुई युरोपियन टोलीहरूले भने सेमिफाइनल प्रवेशका लागि अफ्रिका (मोरक्को) र ल्याटिन अमेरिका (अर्जेन्टिना) का टोलीसँग भिड्नुपर्नेछ ।
साविक उपविजेता फ्रान्सले २०२२ को सेमिफाइनलिस्ट मोरक्कोसँग पहिलो क्वाटरफाइनल खेल्नेछ भने स्विट्जरल्यान्डले अन्तिम क्वाटरफाइनलमा साविक विजेता अर्जेन्टिनाको सामना गर्नेछ ।
मोरक्को र अर्जेन्टिना आ-आफ्नो खेलमा विजयी भएमा युरोप बाहिरका टोली सेमिफाइनल पुग्नेछन् । यदि फ्रान्स र स्विट्जरल्यान्डले पनि जित हात पारेमा सेमिफाइनल पुग्ने चारै टिम युरोपकै हुनेछन् ।
यसअघि पछिल्लो पटक सन् २०१८ मा रसियामा भएको विश्वकपमा युरोपकै चार टोली सेमिफाइनल पुगेका थिए । जहाँ फ्रान्सले बेल्जियम तथा क्रोएसियाले इंग्ल्यान्डलाई पराजित गर्दै फाइनल पुगेको थियो ।
त्यसअघि २००६ मा जर्मनीमा भएको विश्वकपमा सेमिफाइल पुग्ने चारै टोली युरोपका थिए । आयोजक जर्मनीसँगै इटाली, फ्रान्स र पोर्चुगल सेमिफाइनल पुगेका थिए । जहाँ इटालीले फ्रान्सले फाइनलमा पराजित गर्दै चौथो पटक विश्वकप उपाधि जितेको थियो ।
मोरक्को र अर्जेन्टिनाले जित हात पारेमा भने सेमिफाइनलमा पनि तीनवटै महादेशको प्रतिनिधित्व हुनेछ । यस्तोमा फाइनलमा पनि दुई फरक महादेशको टिम पुग्ने सम्भावना कायमै रहनेछ ।
विश्वकपको सुरुवातदेखि नै साविक उपविजेता फ्रान्सलाई उपाधिको बलियो दाबेदारको रुपमा हेरिएको थियो । फ्रान्ससँगै साविक विजेता अर्जेन्टिना उपाधि रक्षा गर्ने लक्ष्यमा हुँदा पूर्व विजेताहरू स्पेन र इंग्ल्यान्ड पनि यस पटक उपाधिको दाबेदारकै रुपमा थिए र छन् ।
यस्तै बेल्जियम, नर्वे, मोरक्को जस्ता टोलीहरू पनि डार्क हर्सको रुपमा विश्वकपमा यात्रा अघि बढाइरहेको छ ।
विश्वकपमा अब ४८ बाट मात्र ८ टोली बाँकी छन् र खेल पनि ८ वटै बाँकी छ । यी ८ खेलपछि नै विश्वकपको विजेता को बन्छ टुङ्गो लाग्नेछ ।
यद्यपी फाइनल खेलअघि नै क्वाटरफाइनल र सेमिफाइनलको रोमाञ्चक भिडन्तहरू हेर्न बाँकी नै छ ।
प्रतिक्रिया 4