२५ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को बहुप्रतिक्षित क्वार्टरफाइनल भिडन्तमा युरोपेली पावरहाउस फ्रान्स र अफ्रिकी गौरव मोरक्को सेमिफाइनलको टिकटका लागि भिड्दै छन् ।
दुवै टोली निकै शानदार लयमा रहेकाले खेलको नतिजा जुनसुकै मिनेटमा बदल्न सक्ने क्षमता मैदानभित्र रहेका विश्वस्तरीय स्टारहरूमा छ ।
फ्रान्स लगातार तेस्रो पटक फाइनल पुग्ने इतिहास कोर्ने रणनीतिमा हुँदा मोरक्को भने सन् २०२२ को कतार विश्वकपको सेमिफाइनलमा बेहोरेको हारको बदला लिँदै पुनः नयाँ कीर्तिमान बनाउने दाउमा छ ।
जहाँ प्रशिक्षकहरूको रणनीतिक चातुर्यता त महत्त्वपूर्ण हुने नै छ, मैदानभित्र देखिने व्यक्तिगत भिडन्त र जादुले खेलको भाग्य तय गर्नेछ ।
यसै सन्दर्भमा आजको ‘गर या मर’ को महाभिडन्तमा दुवै टोलीका यी खेलाडीहरूको प्रदर्शन र जारी विश्वकपको लय सबैभन्दा निर्णायक बन्न सक्छ:
फ्रान्स
किलियन एम्बाप्पे (स्ट्राइकर) : टोलीका कप्तान तथा विश्वकै सबैभन्दा खतरनाक स्ट्राइकर एमबाप्पे फ्रान्सका मुख्य गोलकर्ता हुन् । जारी विश्वकपमा पनि उनको लय शानदार छ। सेनेगल र नर्वेविरुद्ध गोल गरेका उनले पछिल्लो राउन्ड अफ १६ को खेलमा पाराग्वेको बलियो डिफेन्सविरुद्ध पेनाल्टी मार्फत निर्णायक गोल गर्दै टोलीलाई क्वार्टरफाइनलमा पुर्याएका हुन् । जारी विश्वकपमा ७ गोल गरिसकेका एमबाप्पे गोल्डेन बुटको दौडमा पनि छन् ।
माइकल ओलिसे (विङ्गर) : यस विश्वकपमा फ्रान्सेली मिडफिल्ड र आक्रमणको दायाँ विङ्गमा ओलिसे नायक बनिरहेका छन् । उनले समूह चरणमा इराक र नर्वेविरुद्ध गोल र असिस्ट गरिसकेका छन् । उनको सिर्जनशीलता र चलाखीपूर्ण पासहरू मोरक्कोका लागि टाउको दुखाइ बन्नेछ । जारी विश्वकपमा सर्वाधिक ५ असिस्ट गरेका ओलिसे प्लेमेकिङमा महत्त्वपूर्ण हुनेछन् ।
ब्राड्ली बार्कोला (फरवार्ड) : फ्रान्सको आक्रमण केवल एम्बाप्पे वा डेम्बेलेमा मात्र निर्भर छैन भन्ने प्रमाण बारकोलाले दिएका छन् । विशेष गरी राउन्ड अफ ३२ मा स्वीडेनविरुद्ध ३–० को जित निकाल्दा बारकोलाले मैदानमा सानदार प्रदर्शन गर्दै गोल गरेका थिए । उनको गति र ड्रिब्लिङ विपक्षी डिफेन्डरका लागि घातक साबित भइरहेको छ ।
मोरक्को
एजेदिन उनाही (मिडफिल्डर) : कतार विश्वकप जस्तै उनाही यसपटक पनि मोरक्कन मिडफिल्डका प्रेरणा स्रोत बनिरहेका छन् । उनको खेल उत्कृष्ट छ र उनकै उत्कृष्ट लयका कारण मोरक्कोले अन्तिम १६ मा सह-आयोजक क्यानाडालाई ३–० ले पाखा लगाउँदा उनाहीले दुई शानदार गोल गरेका थिए । फ्रान्सको मिडफिल्ड रोक्न उनको भूमिका सबैभन्दा मुख्य हुनेछ ।
सुफियान रहिमी (स्ट्राइकर) : मोरक्कोको आक्रामक मोर्चा सम्हालिरहेका रहिमी अहिले टोलीका मुख्य गोल गर्ने आशा हुन् । समूह चरणमा हाइटीविरुद्ध गोल गरेका रहिमीले पछिल्लो खेलमा क्यानाडाविरुद्ध पनि अन्तिम समयमा गोल गर्दै टोलीको जित पक्का गरेका थिए । बक्सभित्र उनको उपस्थिति फ्रान्सेली डिफेन्डर (सालिबा र उपामेकानो) का लागि चुनौतीपूर्ण हुनेछ ।
अचरफ हाकिमी (डिफेन्डर) : मोरक्कोको डिफेन्सका बलिया खम्बा तथा कप्तान हाकिमी टोलीका लागि विशेष छन् । फ्रेन्च क्लब पीएसजीबाट फ्रान्सका धेरैजसो खेलाडीसँग खेलिसकेका उनलाई फ्रेन्च खेलको ज्ञान छ । एम्बाप्पेलाई रोक्ने मुख्य जिम्मेवारी यिनकै हुनेछ ।
प्रतिक्रिया 4