+
+
Shares

पश्चिम एसियामा बढ्दो तनाव, नेपालीको अवस्था सामान्य रहेको परराष्ट्रको दाबी

अमेरिका-इरान तनावका कारण विशेषगरी खाडी मुलुकमा कार्यरत लाखौं विदेशी श्रमिकसँगै नेपाली पनि सम्भावित जोखिमको घेरामा परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १७:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिका र इरानबीचको बढ्दो तनावका कारण पश्चिम एसियामा रहेका लाखौं नेपालीको सुरक्षा अवस्थालाई लिएर चिन्ता बढेको छ।
  • परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले हालसम्म त्यहाँ रहेका नेपालीहरूको अवस्था सामान्य रहेको जानकारी दिए।
  • नेपाल सरकारले युद्ध वा आपतकालीन अवस्थामा नागरिकको सुरक्षा र उद्धारका लागि विशेष अध्ययन टोलीको प्रतिवेदन कार्यान्वयनमा ल्याएको छ।

२६ असार, काठमाडौं । अमेरिका र इरानबीच फेरि युद्ध चर्किएसँगै पश्चिम एसियामा रहेका नेपालीको सुरक्षालाई लिएर पुन: चिन्ता बढेको छ ।

इरानले बहराइन, कुवेत, जोर्डन र कतारस्थित अमेरिकी सैन्य अड्डा लक्ष्य गर्दै मिसाइल तथा ड्रोन आक्रमण गरेपछि क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बनेको छ ।

यस्तो अवस्थामा कतार, यूएई, कुवेत, बहराइन लगायत देशमा रहेका नेपालीको अवस्थाबारे चासो बढिरहेका बेला परराष्ट्र मन्त्रालयले भने हालसम्म नेपालीहरू सुरक्षित रहेको जनाएको छ ।

शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले पश्चिम एसियामा विकसित पछिल्ला घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको बताए ।

उनले उक्त क्षेत्रमा रहेका नेपाली कूटनीतिक नियोगहरूबाट निरन्तर अद्यावधिक विवरण प्राप्त भइरहेको र हालसम्म नेपालीहरूको अवस्था सामान्य रहेको जानकारी दिए ।

‘उक्त क्षेत्रमा रहेका नेपालीहरूको अवस्था हाल सामान्य नै रहेको छ, उहाँहरूको सुरक्षा र हितका विषयमा हामी निरन्तर सजग छौं र नेपाली नियोगहरूले त्यहाँको अवस्थाबारे निरन्तर समन्वय गरिरहेका छन्,’ उनले भने ।

उनका अनुसार नेपालले पश्चिम एसियामा दिगो शान्ति स्थापना, वार्ता र कूटनीतिक पहल मार्फत समस्या समाधान हुनुपर्ने धारणा राख्दै आएको छ ।

साथै, विश्व व्यापार र ऊर्जा आपूर्तिका दृष्टिले महत्त्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुज जलमार्गको निर्वाध सञ्चालनका लागि भइरहेका अन्तर्राष्ट्रिय प्रयासलाई पनि नेपालले समर्थन गरेको उनले बताए ।

पत्रकार सम्मेलनमा पश्चिम एसियाको सुरक्षा अवस्था थप बिग्रिए नेपालीको सुरक्षाका लागि नेपाल सरकारले के तयारी गरेको छ भन्ने प्रश्नमा प्रवक्ता पौडेलले परराष्ट्रमन्त्रीको संयोजकत्वमा यसअघि नै विशेष अध्ययन टोली गठन गरिएको जानकारी दिए ।

उनका अनुसार उक्त टोलीले युद्ध, क्षेत्रीय द्वन्द्व वा आपतकालीन अवस्थाका बेला सरकारले अवलम्बन गर्नुपर्ने कदमबारे प्रतिवेदन तयार गरी सरकारलाई बुझाइसकेको छ ।

प्रतिवेदनमा ऊर्जा आपूर्ति, आपतकालीन उद्धार, नेपाली नागरिकको सुरक्षा तथा समन्वय लगायत विषयमा सिफारिस गरिएको र सरकारले त्यसलाई कार्यान्वयनमा लैजान थालेको उनले बताए ।

अमेरिका–इरान तनावका कारण विशेषगरी खाडी मुलुकमा कार्यरत लाखौं विदेशी श्रमिकसँगै नेपाली पनि सम्भावित जोखिमको घेरामा परेका छन् । कतार, यूएई, कुवेत, बहराइन र साउदी अरबमा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत छन् ।

परराष्ट्र मन्त्रालयले भने हालका लागि नेपालीलाई स्थानीय प्रशासन तथा नेपाली दूतावासहरूको सूचना पालना गर्न र अनावश्यक रूपमा संवेदनशील क्षेत्रको यात्रा नगर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?