News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार बिहान वीर अस्पतालमा निधन भएको छ ।
- काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मोटरसाइकलमा ह्विल लक लगाएपछि भएको विवादका क्रममा उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।
- घटनाको विषयमा अनुसन्धान गर्न प्रहरीले तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएको छ भने मृतकका आफन्तले निष्पक्ष छानबिनको माग गरेका छन् ।
२६ असार, काठमाडौं । काठमाडौंको बालाजु हाइटस्थित कोठामा दाजु मदन नेपाली बिहीबार बिहानै उठिसकेका थिए । भान्सामा अघिल्लो रात किनेर ल्याएको खसीको खुट्टा थियो । बिहीबार त्यसलाई पकाएर सबैले सँगै खाने योजना थियो । तर त्यो बिहान कसैलाई कहाँ थाहा थियो र ! त्यो खसीको खुट्टा परिवारको खुसीको खाना होइन, जीवनभर बिर्सन नसकिने एउटा दुःखद सम्झना बन्नेछ ।
बुधबार दिउँसो मात्रै गणेश नेपाली श्रीमतीसँग दाजुको कोठामा आएका थिए । मुगुको दुर्गम गाउँबाट काठमाडौं आएका दाजुभाइबीच भेटघाट भइरहन्थ्यो । गणेश भने श्रीमती र छोरीसँग भक्तपुरको कमलविनायकमा बस्थे । उनीहरूको आर्थिक अवस्था राम्रो थिएन ।
काठमाडौंमा खसीको मासु खानु उनीहरूका लागि विलासिताजस्तै थियो । त्यसैले गणेशले विशेषगरी खसीको खुट्टा किनेर ल्याएका थिए । ‘हामी दुर्गमका मान्छे । यहाँ खसीको मासु खान पनि पैसा चाहिन्छ । अस्ति भाइले खसीको खुट्टा ल्याएको थियो,’ मदन सम्झिन्छन् ।
गणेशले भने पठाओ चलाएर परिवारको गुजारा चलाउँदै आएका थिए । साँझ पठाओ चलाउन निस्किएका उनी बेलुकी मात्र दाजुको कोठामा फर्किए ।
त्यो बेला मदन खाना खाएर सुतिसकेका थिए । गणेशले दाजुलाई उठाउँदै भनेका थिए, ‘दाइ, उठ्नुस् न, खसीको खुट्टा बनाऔँ।’
तर रात धेरै भइसकेको थियो । मदनले भोलि पकाउने भन्दै सुत्न आग्रह गरे । गणेशले पनि केही भनेनन् । पकाएको भात खाएर सुते ।
त्यही नै दाजुभाइबीचको अन्तिम सामान्य संवाद बन्यो ।
भोलिपल्ट बिहान उज्यालो भएसँगै मदनले भाइलाई उठाए ।
‘उठ भाइ, बाइकको किस्ता बुझाउन पैसा चाहिन्छ । पठाओ गर्न जा।’

गणेशले भखरै मात्रै किस्तामा नयाँ बाइक निकालेका थिए । मदनका अनुसार अहिलेसम्म दुई किस्ता बुझाइएको छ ।
गणेश चुपचाप उठे । उनी मोटरसाइकल लिएर पठाओ चलाउन निस्किए ।
दाजु भने भान्सामा खसीको खुट्टा पकाउन व्यस्त भए ।
समय बित्दै गयो । गणेश आएनन् ।
११ बज्यो । अझै आएनन् ।
मदनलाई खासै चिन्ता लागेन । पठाओ चलाउनेहरूको निश्चित समय हुँदैन भन्ने उनलाई थाहा थियो । यात्रु भेटियो भने ढिलो पनि हुन सक्छ भन्ने सोचे ।
‘एकछिनमा आउँछ,’ भन्ने विश्वासमा उनी केहीबेर पल्टिए ।
त्यही विश्वास केही घण्टामै चकनाचुर भयो । करिब दिउँसो साढे २ बजे मदनको मोबाइल बज्यो ।
अपरिचित नम्बर थियो ।
उताबाट प्रहरीले भने, ‘तपाईंको मान्छेले शरीरमा पेट्रोल छर्केर आगो लगाउनुभएको छ । वीर अस्पतालमा उपचार भइरहेको छ । तुरुन्त आउनुस्।’
एकछिन त मदनले विश्वासै गर्न सकेनन्
‘आत्मदाह ?’

उनका खुट्टामुनिको जमिन नै भासिएको जस्तो भयो । हतारहतार उनी वीर अस्पताल पुगे ।
अस्पताल पुग्दा गणेश अझै होसमा थिए । बोल्न निकै गाह्रो भइरहेको थियो । शरीर आगोले डढेको थियो । सास फेर्न संघर्ष गरिरहेका थिए ।
तर उनले दाइलाई चिनिहाले ।
कमजोर स्वरमा भने, ‘दाइ… बाबा आमालाई राम्रो गर्नु…।’
यति सम्झिँदा पनि मदनको घाँटी अवरुद्ध हुन्छ । आँखा रसाउँछन् ।
‘त्यति भनेपछि उसले फेरि मलाई हेर्यो,’ उनी भन्छन् । त्यसपछि गणेशले एउटै कुरा दुई पटक दोहोर्याए ।
‘दाइ… मेरो गल्ती थिएन है…।’
‘दाइ… मेरो गल्ती थिएन है…।’
मदनले हतारिँदै सोधे, ‘के भयो र भाइ?’ गणेशले निकै कठिनाइका साथ भने, ‘महानगरले ह्विल लक लगायो… तर मेरो गल्ती थिएन… ट्राफिक आएर लफडा गर्यो…।’
त्यति बोल्न पनि उनलाई निकै गार्हो भइरहेको थियो ।
शब्दहरू क्रमशः हराउँदै गए । आवाज रोकियो । त्यसपछि गणेश फेरि कहिल्यै बोल्न सकेनन् ।
भेन्टिलेटरमा गणेशको २० घण्टा उपचार
मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले बिहीबार दिउँसो करिब २ बजे त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।
उनी २ बजेर २० मिनेटमा वीर अस्पताल पुर्याइएको थियो ।
अस्पताल पुग्दा उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो । टाउको, अनुहार र छाती सबैभन्दा धेरै डढेका थिए । आगोको धुवाँ र तातो हावा फोक्सोसम्म पुगेकाले उनको श्वासप्रश्वासमा गम्भीर असर गरेको थियो ।
उपचारमा संलग्न प्लास्टिक सर्जन डा. पीयूष दाहालका अनुसार अस्पताल पुग्दा गणेश केही बोलिरहेका थिए । तर अक्सिजनको मात्रा तीव्र रूपमा घटिरहेको थियो । शरीरमा सुगरको मात्रा पनि बढेर ३१३ पुगेको थियो ।
श्वासप्रश्वासमा समस्या देखिएकाले आकस्मिक कक्षमै इन्टुबेसन गरी भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । दाहालका अनुसार गणेशको शरीरमा कम्पार्टमेन्ट सिन्ड्रोम सुरु भइसकेको थियो ।
अर्थात् यो भएपछि जलेको भाग धेरै सुन्निन थाल्छ । जलेको छाला कडा बन्छ भने भित्रको मांसपेशी र तन्तुहरूसमेत सुन्निदै जान्छन् । जसले गर्दा दबाब बढ्छ । जसका कारण रक्तनलीहरू थिचिन थाल्छन् र प्रभावित भागमा रगत पुग्न छोड्छ ।
चिकित्सकले तत्काल शरीर चिस्याउने, घाउ सफा गर्ने र सघन उपचार सुरु गरे । त्यसपछि उनलाई भेन्टिलेटरमा राखियो । प्लास्टिक सर्जरी, एनेस्थेसिया र क्रिटिकल केयर मेडिसिनका विशेषज्ञहरूको टोली निरन्तर उपचारमा खटियो ।
राति ८ बजेसम्म पहिलो चरणको शल्यक्रिया सम्पन्न भइसकेको थियो ।

तर उपचारसँगै उनको अवस्था झन् जटिल बन्दै गयो ।
राति एकपटक मुटु र श्वासप्रश्वासको अवस्था अत्यन्त नाजुक भएपछि चिकित्सकले कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर) दिनुपरेको थियो । जीवनरक्षाका औषधिसमेत निरन्तर चलाइयो ।
पहिलो प्रयासपछि केही सुधार देखिए पनि त्यो धेरैबेर टिकेन ।
बिहीबार राति नै गृहमन्त्री सुधन गुरुङ वीर अस्पताल पुगेर उपचारबारे जानकारी लिएका थिए । उपचारमा कुनै कमी हुन नदिन उनले निर्देशन दिएका थिए ।
यसैबीच डा. दाहालको टोलीले भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालका विशेषज्ञ चिकित्सकसँग पनि परामर्श गरेको थियो । आवश्यक परे दिल्ली लैजाने तयारीसमेत गरिएको थियो ।
तर गणेशको स्वास्थ्य अवस्था यति छिटो बिग्रिँदै गयो कि उनलाई हवाई मार्गबाट भारत लैजानु झन् जोखिमपूर्ण हुने निष्कर्षमा चिकित्सक पुगे ।
‘रातिदेखि नै अवस्था लगातार खस्किरहेको थियो । सीपीआर दिनुपर्ने अवस्था आइसकेको थियो । यस्तो अवस्थामा तत्काल दिल्ली लैजानु सुरक्षित देखिएन,’ डा. दाहालले बताए ।
शुक्रबार बिहान फेरि गणेशको स्वास्थ्य अवस्था अचानक खस्कियो ।
चिकित्सकले दोस्रो पटक पनि सीपीआर दिए । पूरै टोलीले अन्तिमसम्म प्रयास गरिरह्यो । तर यसपटक उनलाई फर्काउन सकिएन ।
शुक्रबार बिहान ११ बजेर १९ मिनेटमा चिकित्सकले गणेशलाई मृत घोषणा गरे ।
‘उहाँको शरीरको ५५ प्रतिशतभन्दा बढी भाग जलेको थियो । आगोको धुवाँ र तातो हावा श्वासप्रश्वासमार्फत फोक्सोसम्म पुगेकाले इनहेलेसन इन्जुरी पनि भएको थियो,’ दाहालले भने, ‘पहिलो पटक केही समयका लागि पुनः जीवनचिह्न फर्काउन सफल थियौं । तर दोस्रो पटकको सीपीआरपछि पनि अवस्था सुधार हुन सकेन । त्यसपछि बिहान ११ बजेर १९ मिनेटमा मृत घोषणा गरियो ।’
विदेश जाने सपना देख्दै थिए, तर जीवन नै टुंगियो
मुगुको गाउँमा बसेर केही गर्ने सपना बोकेका गणेशले कृषितर्फ जुनियर टेक्निकल असिस्टेन्ट (जेटिए) अध्ययन गरेका थिए । गाउँका किसानसँगै काम गर्ने र कृषि प्राविधिकका रूपमा आफ्नो पहिचान बनाउने उनको चाहना थियो। त्यसका लागि उनले सरकारी जागिरको ढोका ढकढक्याउन पनि छाडेनन् । लोक सेवा आयोगको परीक्षामा दुई–तीनपटक प्रतिस्पर्धा गरे । प्रत्येक पटक आशा बोकेर नतिजा कुर्थे, तर नाम सूचीमा कहिल्यै परेन । हरेक असफलतासँगै सपना केही खुम्चिँदै गयो ।
उनको परिवारले पनि त्यो सपना पूरा गराउन आफ्नो हैसियतभन्दा धेरै ठूलो त्याग गरेको थियो । घरको आर्थिक आधार भने सिलाइ–कटाइ गर्ने बुबाको सानो कमाइ थियो । आफ्ना दुई छोराले राम्रो भविष्य बनाऊन् भन्ने चाहनाले बुबाले दुःख गरेर प्राविधिक शिक्षा पढाए ।
तर, परिवारको जीवन पाँच वर्षअघि एकाएक फेरियो । बुबाले आँखाको ज्योति गुमाए । त्यससँगै घरको मुख्य आम्दानी पनि रोकियो । परिवारलाई थामिरहेको एउटा बलियो खम्बा ढलेपछि जिम्मेवारीको भारी विस्तारै गणेश र उनका दाजुको काँधमा आयो ।
यसबीच गणेशको व्यक्तिगत जीवनमा पनि नयाँ जिम्मेवारी थपिएको थियो । चार वर्षअघि उनले विवाह गरे । दुई वर्षअघि छोरी जन्मिइन् । छोरीको आगमनले घरमा खुसी त थपियो, तर आर्थिक दायित्व पनि बढ्यो ।

त्यसपछि उनले जीविकोपार्जनका लागि पठाओ चलाउन थाले । बिहान उज्यालो नहुँदै घरबाट निस्कने र रात परेपछि मात्रै फर्किने उनको दैनिकी बन्यो । महिनाभरि कडा मेहनत गर्दा पनि बचत हुन छाडेको थियो । भविष्यका लागि केही रकम जोहो गर्ने सपना बारम्बार अधुरै रहन्थ्यो ।
विदेश जाने तयारीबारे परिवारसँग छलफल गर्थे । ‘तपाईंभन्दा पहिले म विदेश जान्छु दाइ, तपाईं घर सम्हाल्नू,’ गणेशले केही दिनअघि मदनसँग भनेका थिए ।
राइड–सेयरिङ गर्दै आएका गणेश बिहीबार दिउँसो त्रिपुरेश्वर पुगेका थिए । त्रिपुरेश्वरस्थित राहदानी विभागको अगाडि मोटरसाइकल राखेका थिए । तर, काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले उनको मोटरसाइकलमा ‘ह्वीललक’ लगाएको थियो ।
त्यसलाई लिएर केहीबेर नगर प्रहरीसँग विवाद भएको थियो । नगर प्रहरीसँगको विवादकै क्रममा उनले मोटरसाइकलबाट पेट्रोल निकालेर आफ्नै शरीरमा छर्की आगो लगाएका थिए ।
सामान्य विवाद कसरी यति भयावह मोडसम्म पुग्यो, घटनाअघि कस्तो व्यवहार भयो र आत्मदाहसम्म पुग्ने परिस्थिति किन सिर्जना भयो भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । घटनापछि प्रहरीले दुई महिला र एक पुरुष गरी तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
आक्रोश फैलिँदै
गणेशको मृत्युको खबर फैलिन नपाउँदै वीर अस्पतालको वातावरण फेरियो । केही घण्टाअघि उपचाररत बिरामीका आफन्तको सामान्य चहलपहल देखिने अस्पताल परिसर एकाएक शोक, आक्रोश र अन्योलले भरियो ।
मुगुदेखि काठमाडौंसम्मका आफन्त, साथीभाइ र चिनजानका मानिसहरू अस्पताल पुग्न थाले । उपचारका क्रममा अन्तिम सास फेरेका २५ वर्षीय गणेशको शव अस्पतालभित्र थियो । बाहिर उनका आफन्त र समर्थकहरू पीडासँगै न्यायको माग गरिरहेका थिए ।
अस्पतालको परिसरमा दाजु मदन नेपाली, श्रीमती स्तब्ध देखिन्थे । परिवारका सदस्यहरूले गणेशको मृत्यु सहज रूपमा स्वीकार गर्न सकेका थिएनन् । त्यसैले उनीहरूले शव बुझ्न पनि मानेनन्, पोष्टमार्टमका लागि आवश्यक सहमतिपत्रमा हस्ताक्षर गर्न पनि तयार भएका छैनन् ।

वीर अस्पतालका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार परिवारले हालसम्म शव बुझेका छैनन् । पोष्टमार्टमका लागि पनि सहमति दिएको छैन । अस्पतालले कानुनी प्रक्रिया पूरा गर्न परिवारसँग निरन्तर संवाद गरिरहेको भए पनि सहमति जुट्न सकेको छैन । अस्पताल प्रशासनले परिवारलाई सम्झाइबुझाइ गर्दै शव व्यवस्थापनको प्रक्रिया अगाडि बढाउने प्रयास गरिरहेको जनाएको छ ।
यता अस्पतालभित्र शोकको वातावरण गहिरिँदै जाँदा बाहिर भने विरोधका स्वर चर्किन थाले । माइतीघर क्षेत्रमा सरकारविरुद्ध नाराबाजी भइरहेको छ । प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई न्याय दिन माग गरेका छन् ।
सम्भावित तनावलाई मध्यनजर गर्दै माइतीघर र अस्पताल आसपास ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । प्रहरी प्रदर्शनलाई नियन्त्रणमा राख्न र कुनै अप्रिय घटना हुन नदिन सतर्क देखिन्थ्यो ।
गणेशको मृत्युले राजनीतिक र प्रशासनिक तहमा पनि चासो बढाएको छ । घटनापछि परिवारलाई सम्झाइबुझाइ गरी शव बुझ्ने वातावरण बनाउन प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका सदस्यहरू समेत वीर अस्पताल पुगेका छन् । सचिवालयका तर्फबाट दीपा दाहाल र प्रकृति ढकालले मृतकका आफन्तसँग अनौपचारिक छलफल गर्दै सहमति जुटाउने प्रयास गरेका छन् ।
शोक र पीडाबीच बसेका दाजु मदन नेपालीको एउटै माग छ – यो घटनालाई सामान्य विवादका रूपमा टुंग्याइनु हुँदैन। उनका अनुसार पार्किङको सामान्य विषयलाई एउटा युवाले आफ्नो ज्यान गुमाउनुपर्ने अवस्थासम्म पुर्याइँदै जो–कोही भए पनि उनीहरूको भूमिकाबारे निष्पक्ष छानबिन हुनुपर्छ र दोषी देखिएकामाथि कानुनअनुसार कडा कारबाही गरिनुपर्छ ।
प्रतिक्रिया 4