+
फिफा विश्वकप २०२६ :

क्वाटरफाइनल प्रिभ्यु : ब्राजिललाई स्तब्ध पारेको नर्वेको निसानामा इंग्ल्यान्ड, कसले मार्ला बाजी?

२०८३ असार  २७ गते १०:५४ २०८३ असार २७ गते १०:५४

वर्तमान विश्व फुटबलका दुई उत्कृष्ट फरवार्ड एर्लिङ हालान्ड र ह्यारी केनको भिडन्तको रुपमा समेत रहेको यो बहुप्रतिक्षित खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा नर्वे र इंग्ल्यान्डले आइतबार बिहान अमेरिकाको मियामीमा प्रतिस्पर्धा गर्दैछन् ।
  • पाँच पटकको विजेता ब्राजिललाई हराएको नर्वे र मेक्सिकोलाई पराजित गरेको इंग्ल्यान्ड दुवै टोली जितको खोजीमा छन् ।
  • विश्वकपमा हालसम्म ७ गोल गरिसकेका एर्लिङ हालान्ड र ६ गोल गरेका ह्यारी केनको प्रदर्शनमा सबैको नजर रहेको छ ।

२७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को अर्को ‘अल युरोपियन’ क्वाटरफाइनलमा नर्वे र इंग्ल्यान्ड आइतबार विहान अमेरिकाको मियामीमा प्रतिस्पर्धा गर्दैछन् ।

पाँच पटकको विश्व विजेता ब्राजिलाई स्तब्ध पारेको नर्वे र दश खेलाडीमा रहेर पनि आयोजक मेक्सिकोलाई विश्वकपबाट आउट गरेको इंग्ल्यान्डबीचको खेललाई धेरैले प्रतिक्षा गरेका छन् ।

नर्वेले एर्लिङ हालान्डको दुई गोलमा ब्राजिललाई २-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । इंग्ल्यान्डले भने सहआयोजक मेक्सिकोको चुनौती ३-२ ले समाप्त पारेको थियो ।

वर्तमान विश्व फुटबलका दुई उत्कृष्ट फरवार्ड एर्लिङ हालान्ड र ह्यारी केनको भिडन्तको रुपमा समेत रहेको यो बहुप्रतिक्षित खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ ।

यसको खेलको विजेता साविक विजेता अर्जेन्टिनासँग सम्भावित सेमिफाइनल भेट हुने भएकोले पनि अझ धेरै चासो भएको छ ।

एकातिर हालान्डको नेतृत्वमा रहेको नर्वेको आक्रमण र थ्री लायन्सको डिफेन्सबीचको प्रतिस्पर्धा हेर्न लायक हुनेछ । हालान्डले पनि यस खेलमा इंग्ल्यान्डलाई दबाब हुने बताइसकेका छन् ।

पहिलो विश्वकपमै ७ गोल गरेर सनसनी मच्चाइसकेका हालान्ड यस विश्वकमा चर्चित खेलाडी बनिसकेका छन् । मैदानमा गोल गर्ने मात्र नभई उनको अफ फिल्ड एक्टिभिटीले पनि धेरै चर्चा पाएको छ ।

२८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वेले यस विश्वकपमा पहिलो पटक क्वाटरफाइनल पुग्दै इतिहास रचिसकेको छ । त्यसमा पनि पाँच पटकको च्याम्पियन ब्राजिललाई हराएपछि नर्वेको चर्चा अहिले धेरै छ । ब्राजिलसँग खेल्ने ८८ टिममध्ये अपराजित रहने एक्लो टिम नै नर्वे मात्र हो ।

अर्कोतर्फ सन् २०१८ मा सेमिफाइनल पुगेको इंग्ल्यान्ड हालान्डलाई रोक्दै ८ वर्षपछि फेरि सेमिफाइनलमा पुग्ने लक्ष्यमा छ ।

सन् १९६६ मा विश्वकप जितेको इंग्ल्यान्ड हरेक पटक उपाधिको दाबेदार भएपनि फेरि फाइनल समेत पुग्न सकेको छैन ।

अहिलेसम्मको यात्रा

इतिहासमै चौथो पटक विश्वकप खेलिरहेको नर्वेले यस पटक अन्डर डग टोलीको छवी बनाउँदै उत्कृष्ट प्रदर्शन गरिरहेको छ । साविक उपविजेता फ्रान्स विरुद्ध समूह चरणमा हार बाहेक बाँकी ४ खेलमा नर्वेलमा जित हात पारेको छ ।

इराक र सेनेगललाई पराजित गर्दै सानदार सुरुवात गरेको नर्वे समूह आईको अन्तिम खेलमा फ्रान्ससँग पराजित भएपनि समूह उपविजेताको रुपमा नकबउट चरणमा प्रवेश गरेको हो । राउण्ड अफ ३२ को खेलमा हालान्डकै निर्णायक गोलमा आइभरी कोस्टलाई हराएको नर्वेले प्रि क्वाटरफाइनलमा ब्राजिललाई स्तब्ध पार्दा हालान्डले २ गोल गरेका थिए ।

यस विश्वकपमा हालान्डले ४ खेलमे ७ गोल गरिकसका छन् र उनी गज्जबको लयमा छन् ।

यस विश्वकपमा इंग्ल्यान्डको प्रदर्शन एकरुपको नभएपनि अहिलेसम्म अपराजित रहेको छ । समूह चरणमा पहिलो खेलमै क्रोएसियालाई ४-२ ले पराजित गरेको इंग्ल्यान्ड त्यसपछि घानासँग गोलरहित बराबरीमा रोकिएको थियो । तर पानामालाई २-० ले पराजित गर्दै इंग्ल्यान्ड समूह एलको विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो ।

राउण्ड अफ ३२ मा इंग्ल्यान्डले एक गोलले पछि परेको स्थिती उल्टाउँदै डिआर कंगोलाई २-१ ले पराजित गरेको थियो । त्यसपछि दश खेलाडीमा समेटिएको इंग्लयान्डले प्रिक्वाटरफाइनलमा मेक्सिकोलाई ३-२ ले हरायो । ५ गोलको थ्रिलर खेलमा जुड बेलिङहमले २ र कप्तान ह्यारी केनले १ गोल गरेका थिए ।

क्वाटरफाइनलसम्म आइपुग्दा कप्तान केनले इंग्लयान्डका लागि ६ गोल गरिसकेका छन् भने बेलिङहमले ४ गोल गरेका छन् ।

हेड टु हेड

नर्वे र इंग्ल्यान्ड फिफा विश्वकपमा आमने सामने हुन लागेको यो पहिलो पटक हो । सन् १९८२ र १९८४ को विश्वकप छनोटमा भने यी दुई टोली खेलेका थिए ।

अन्तर्राष्ट्रिय फुटबलमा भने यी दुई टोलीबीच १२ खेल भइसकेको छ । जसमा इंग्लयान्डले ७ खेल जितेको छ भने नर्वेले २ खेल मात्र जितेको छ । ३ खेल भने बराबरीमा सकिएको थियो ।

पछिल्लो पटक सन् २०१४ मा वेम्वलीमा भएको मैत्रीपूर्ण खेलमा इंग्लयान्ड १-० ले विजयी भएको थियो । उक्त खेलम वायन रुनीले पेनाल्टीमा गोल गरेका थिए । त्यस खेल खेलेका जोन स्टोन्स र जोर्डन हेन्डरसन अहिले थ्री लायन्स टिममा छन् भने त्यस खेलमा रहेका नर्वेका गोलकिपर ओर्यान नाइल्यान्डले हालको टिममा पनि छन् ।

टिम न्युज

इंग्ल्यान्डका डिफेण्डर जारेल क्वान्साह नर्वे विरुद्धको म्याचमा उपलब्ध हुने छैनन् । मेक्सिको विरुद्ध प्रि क्वाटरफाइनलमा रातो कार्ड सामना गरेपछि उनलाई दुई खेलको निलम्बन गरिएको छ । उनले क्वाटरफाइनल र सम्भावित सेमिफाइनल गुमाउनेछन् ।

क्वान्साहको पोजिसनमा को खेल्ने इंग्लयान्डको लागि अहिले ठूलो ससम्या छ । यस्तै रिस जेम्स पनि ह्याम्सट्रिङकै कारण खेल्नेमा शंका छ । उनी फिट नभए डिजेड स्पेन्सले खेल्ने सम्भावना छ ।

सेन्टर ब्याक मार्क गुहीलाई ह्याम्स्ट्रिङमा केही समस्या देखिएको थियो । उनी खेल्ने नखेल्ने टुङ्गो छैन ।

विंगमा एन्थोनी ऊर्डन  र बुकायो साकाले पहिलो रोजाईँमा खेल्ने सम्भावना छ । नाडीको चोटपछि मिडफिल्डर जोर्डन हेन्डरसन भने विश्वकपबाट बाहिरिसकेका छन् ।

नर्वेको टिममा भने अहिलेसम्म निलम्बन वा कुनै ठूलो समस्या छैन । ब्राजिल विरुद्ध नखेलेका डेविड व्ल्फ पनि क्वाटरफाइनलक लागि फिट छन् ।

नर्वेका प्रशिक्षक स्टाल सोल्बाकेनको लागि पहिलो रोजाईँमा कसलाई खेलाउने भन्ने छनोट गर्न गाह्रो हुने देखिन्छ ।

ब्राजिल विरुद्ध बेन्चबाट आएर उत्कृष्ट प्रदर्शन गरेका ओस्कार बब र आन्द्रेज सेल्ड्रुपले पहिलो रोजाईँमा खेल्न सक्ने सम्भावना छ । अलेजान्डर सवर्लोथ र एन्टोनिओ नोसाको स्थानमा यी दु२ खेलाडीले सुरुवात गर्ने सम्भावना छ ।

प्लेअर्स टु वाच

नर्वे र इंग्ल्यान्डबीचको खेलको चर्चासँगै दुई खेलाडीको नाम पनि स्वभाविक रुपमा चर्चामा आइहाल्छ, हालान्ड र केन ।

एकातिर हालान्ड नर्वेको स्वर्णिम यात्राको अट्याकलाइनको नेतृत्व गरिरहेका छन् भने अर्कोतिर केन अट्याकिङ लाइन र इंग्ल्यान्डको पूरा टिमको पनि नेतृत्वमा छन् ।

यी दुई खेलाडीको मुख्य काम गोल गर्ने हो र फुटबलमा सबैको चासो नै गोलमै हुन्छ । त्यसैले पनि सबैको नजर हालान्ड र केनमै हुने पक्का छ । यी दुई फरवार्डलाई कसरी रोक्ने भनेर दुवै टिमको डिफेन्स लाइन व्यस्त रहनेछन् ।

प्रिमियर लिगमा म्यानचेष्टर सिटीका गोल मेसिनको रुपमा रहेका हालान्ड र आर्सनललाई दुई दशकपछि प्रिमियर लिग उपाधि जिताउँदाका कप्तान मार्टिन ओडेगार्डमाथि नर्वेको ठूलो भरोसा हुनेछ ।

केनलाई जुड बेलिङहम र हालान्डलाई कप्तान मार्टिन ओडेगार्डको साथ रहनेछ । दुवै टिममा विश्वकै चर्चित प्रिमियर लिग देखि ला लिगामा खेलेका खेलाडीहरु पनि छन् । यद्पी इंग्ल्यान्डका कप्तान केन भने जर्मनीको च्याम्पियन बायर्न म्युनिखबाट खेल्छन् । आर्सनलमा ओडेगार्डको टिममेट रहेका इंग्ल्यान्डका डिफेन्सिभ मिडफिल्डर डेक्लान राइस ओडेगार्डबीचको ब्याटल पनि हेर्न लायक हुनेछ ।

कुनै बेला बोरुसिया डर्टमण्डबाट सँगै खेल्ने हालान्ड र बेलिङहम यस पटक फरक टिममा हुनेछन् । बेलिङहम अहिले स्पानिस क्लब रियल मड्रिडबाट खेलिरहेका छन् ।

हालान्डले यस विश्वकपमा ७ र केनले ६ गोल गरिकसका छन् र दुवै यस विश्वकपमा गोल्डेन बुटको दाबेदारको रुपमा पनि छन् । तर दुर्भाग्य एक खेलाडीको विश्वकप यात्रा र गोल्डेन बुटको होड पनि यही खेलको नतिजापछि सकिनेछ । टिमलाई जिताउँदै व्यक्तिगत अवार्डको होड पनि कायम राख्नको लागि दुवै आफ्नो टोलीलाई जिताएर अघि बढ्न चाहन्छन् ।

फिफा विश्वकप २०२६ क्वाटरफाइन

नर्वे भर्सेस इंग्ल्यान्ड

मिति र समय : असार २८ गते विहान २:४५ बजे

स्थान : मियामी स्टेडियम, फ्लोरिडा, अमेरिका

प्रत्यक्ष प्रशारण : हिमालय स्पोर्ट्स

फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय