News Summary
Generated by OK AI. Editorially reviewed.- अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले टोलीका कप्तान लियोनल मेसीले नै पेनाल्टी प्रहारको जिम्मेवारी सम्हाल्ने स्पष्ट पारेका छन्।
- ‘जबसम्म उनी आफैंले यसलाई छोड्ने निर्णय गर्दैनन्, लियोनल मेसीले नै अर्जेन्टिनाको पेनाल्टी प्रहार गरिरहनेछन्,’ प्रशिक्षक स्कालोनीले भने।
- मेसीले चालू विश्वकपमा दुई पटक पेनाल्टी मिस गरे पनि प्रशिक्षक स्कालोनीले उनीमाथि पूर्ण विश्वास कायम राख्दै उनलाई मैदानमा पूर्ण स्वतन्त्रता दिएका छन्।
२७ असार, काठमाडौं । अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले कप्तान लियोनल मेसीले नै पेनाल्टी प्रहार गरिरहने बताएका छन् ।
जारी विश्वकपमा दुई पेनाल्टी मिस गरेपछि पनि प्रशिक्षक स्कालोनीले मेसीबाट पेनाल्टी प्रहार गर्ने जिम्मेवारी नखोस्ने बताएका हुन् ।
‘हालैका खेलहरूमा संघर्ष गर्नु परे तापनि लियोनल मेसीले नै अर्जेन्टिनाको पेनाल्टी प्रहार गरिरहनेछन् । जबसम्म उनी आफैंले यसलाई छोड्ने निर्णय गर्दैनन्,’ उनले भने ।
उनले थपे, ‘हामीसँग पेनाल्टी हान्न सक्ने अन्य खेलाडीहरू पनि छन् । तर यदि उनले प्रहार गर्न चाहन्छन् भने उनैले प्रहार गर्नेछन् ।
मेसीले जारी विश्वकपमा दुई पटक पेनाल्टी मिस गरिसकेका छन् । सन् २०२२ को विश्वकप यता अर्जेन्टिनाका लागि प्रहार गरेका पछिल्ला सात पेनाल्टीमध्ये मेसीले चार वटामा मात्र गोल गर्न सकेका छन् ।
प्रशिक्षक स्कालोनीले मेसीलाई मैदानमा आफ्नो अनुकूलता अनुसार जुनसुकै रोलमा खेल्ने स्वतन्त्रता रहेको उल्लेख गरे । ‘मेसी सधैं जति दौडने गर्थे । अहिले पनि लगभग त्यत्ति नै दौडन्छन,’ उनले भने, ‘उनले धेरै बढी वा कम दौडिरहेका छन् भन्ने होइन । फरक यति मात्र हो कि अहिले उनले गर्ने हरेक कुरा धेरै निर्णायक हुने गर्छ ।’
उनले थपे, ‘मैले यो कुरा धेरै पटक भनिसकेको छु । म उनको प्रशिक्षक भएकाले मात्र यो भनेको होइन । जबसम्म उनमा इच्छा रहन्छ, उनी नै सर्वश्रेष्ठ रहिरहनेछन् ।’
प्रतिक्रिया 4