News Summary
Generated by OK AI. Editorially reviewed.- धरान उपमहानगरपालिकाले सगरमाथाको सफल आरोहण गर्ने प्रथम मारवाडी महिला प्रीति रातेरिया अग्रवाललाई आइतबार एक समारोहका बीच विशेष सम्मान गरेको छ ।
- कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाले आरोही अग्रवालको साहसिक कार्य युवा पुस्ताका लागि प्रेरणादायी रहेको बताउँदै समग्र धरानबासीले उनीप्रति गौरव महसुस गरेको उल्लेख गरे ।
- गत जेठ ७ गते सगरमाथाको सफल आरोहण गरेकी ४९ वर्षीया प्रीतिले आफूले पाएको सम्मान अविस्मरणीय रहेको बताउँदै सफलताका लागि गरेको कडा मेहनतबारे जानकारी दिइन्।
२८ असार, सुनसरी । धरान उपमहानगरपालिकाले आइतबार सर्वोच्च शिखर सगरमाथाको सफल आरोही प्रीति रातेरिया अग्रवाललाई सम्मान गरेको छ ।
आरोही प्रीतिलाई धरान प्रवेशद्वार तीनकुनेबाट नगर परिक्रमा गराउँदै उपमहानगरपालिकामा ल्याएर सम्मान गरिएको हो ।
उनलाई कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाले सगरमाथा आरोहण गर्ने पहिलो मारवाडी महिला भएकोमा बधाई दिएका थिए ।
पर्वतारोहणसँगै कला, मनोविज्ञान तथा वैकल्पिक उपचारको क्षेत्रमा उनले देखाएको बहु आयामिक योगदान युवा पुस्ताका लागि प्रेरणादायी रहेको कावा प्रमुख बेघाले बताए ।
उनले भने, ‘शाहसी प्रीतिलाई यो सम्मान समग्र धरानबासीले गौरव महसुस गर्दै प्रदान गरेको हो ।’
प्रीतिले गत जेठ ७ गते बिहान ५ : ५७ बजे विश्वको सर्वोच्च शिखर सगरमाथामा १२ घण्टामा सफल आरोहण गरेकी थिइन् ।
उनले सम्मान ग्रहण गर्दै भनिन्, ‘प्रीति अग्रवालले उपमहानगरपालिकाबाट पाएको सम्मानले मलाई अत्यन्तै खुसी तुल्याएको छ ।
यो क्षणको मैले कल्पना समेत गरेकी थिइनँ । धरान र धरानबासीले गरेको यो सम्मान कहिलै बिर्सने छैन ।’

धरानमा जन्मेर, काठमाडौं र मुम्बइमा हुर्केकी प्रीति विद्यालय जीवनदेखि नै एथलेटिक्स र दौडमा सक्रिय थिइन् ।
मुम्बइको एक कलेजबाट उनले आर्ट एण्ड डिजाइनमा स्नातक गरेर घर फर्केपछि उनले साहसिक यात्रा गर्ने मारवाडी महिला बन्न पुगेकी हुन् ।
द समिट फोर्स प्रालिको व्यवस्थापनमा क्लाइम्बिङ गाइड पासाङ शेर्पा र निमा थिन्थक शेर्पाको साथमा सगरमाथा आरोहण गरेको प्रीतिले बताइन् ।
सगरमाथा शिखर आरोहण गर्न अघि उनले सन २०१२ मा अन्नपूर्ण बेसक्याम्प र २०१३ मा एभरेस्ट बेसक्याम्प ट्रेकिङ गरेपछि पहिलो पटक उनले सगरमाथा क्षेत्रको ६ हजार ४७६ मिटर अग्लो मेरा पिक चढने प्रयास गरेको बताइन् ।
उनले भनिन्, ‘तर त्यसबेला म असफल भएँ । त्यसपछि जिम ट्रेनिङ, रनिङ र स्ट्रेन्थ अभ्यासलाई निरन्तरता दिए । मई २०२४ मा ६ हजार ११९ मिटर अग्लो लोबुचे पुर्वको शिखर आरोहण गरें ।’
प्रतिक्रिया 4