News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा युरोपका दुई बलिया टोली फ्रान्स र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ ।
- फ्रान्सका स्टार खेलाडी किलियन एमबाप्पेले टोलीको अग्रपङ्क्ति सम्हाल्दै विपक्षीका लागि ठूलो चुनौती प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
- स्पेनका १९ वर्षीय युवा खेलाडी लामिन यमालले आफ्नो ड्रिब्लिङ र गतिमार्फत फ्रान्सको रक्षापङ्क्तिलाई दबाबमा राख्ने रणनीति बनाएका छन् ।
३० असार, काठमाडौं । फिफा विश्वकप २०२६ को बहुप्रतिक्षित पहिलो सेमिफाइनलमा दुई युरोपियन महारथी फ्रान्स र स्पेन आमनेसामने हुँदैछन् ।
विश्वकपको सेमिफाइनलजस्तो ठूलो मञ्चमा सानो क्षणले पनि इतिहास लेख्न सक्छ। फ्रान्स र स्पेनसँग त्यस्ता खेलाडीको कमी छैन, जसले एक्लै खेलको कथा बदल्न सक्छन् ।
फ्रान्सबाट किलियन एमबाप्पे र स्पेनबाट लामिन यमाल स्वाभाविक रूपमा सबैभन्दा ठूलो अपेक्षा राखिएका खेलाडी हुन् ।
तर फाइनलको टिकट दिलाउन अन्य खेलाडीको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुनेछ ।
यो सेमिफाइनलमा प्रभाव पार्न सक्ने खेलाडीहरू यसप्रकार छन् ।
किलियन एमबाप्पे (फ्रान्स)

विश्व फुटबलका सबैभन्दा खतरनाक फरवार्डमध्ये एक किलियन एमबाप्पे फ्रान्सको सबैभन्दा ठूलो भरोसा हुन् । केवल १९ वर्षको उमेरमै सन् २०१८ को विश्वकप जितेका एमबाप्पेले त्यस प्रतियोगिताको फाइनलमा गोल गर्दै इतिहास रचेका थिए । त्यसयता उनी फ्रान्सका निर्विवाद लिडर बनेका छन् ।
विश्वकपमा लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका उनी विश्वकप २०२२ मा गोल्डेन बुट विजेता बनेका थिए भने यसपटक पनि आठ गोलसहित अर्जेन्टिनाका लियोनल मेसीसँग संयुक्त रूपमा शीर्ष स्थानमा छन् ।
फ्रान्सका लागि एक सयभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलिसकेका एमबाप्पेले ६० भन्दा बढी अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् । क्लब फुटबलमा पनि उनको प्रभाव उस्तै छ । मोनाकोबाट उदाएका उनले पेरिस सेन्ट–जर्मेनमा सात वर्ष बिताउँदै क्लबका सर्वाधिक गोलकर्ता बने । हाल रियल मड्रिडमा आबद्ध उनले पहिलो सिजनमै टोलीको मुख्य गोलकर्ता बन्दै आफ्नो प्रभाव देखाइसकेका छन् ।
विश्वकप २०२६ मा उनले केवल गोल मात्र गरेका छैनन्, तीन असिस्ट पनि दिएका छन् । फ्रान्सको अधिकांश आक्रमण उनकै वरिपरि घुम्ने गरेको छ । अविश्वसनीय गति, एक्लै रक्षापङ्क्ति चिर्न सक्ने क्षमता, सानो अवसरलाई पनि गोलमा परिणत गर्ने खुबी र ठूला खेलमा निर्णायक बन्ने बानीका कारण एमबाप्पेलाई रोक्नु कुनै पनि टोलीका लागि सबैभन्दा कठिन चुनौती बनेको छ ।
प्रतियोगितामा नर्वेबाहेक कुनै पनि टोलीले उनलाई गोल गर्नबाट रोक्न सकेको छैन ।
स्पेनविरुद्ध पनि फ्रान्सको सबैभन्दा ठूलो आशा उनैमाथि रहनेछ । यदि स्पेनले एमबाप्पेको गति र काउन्टर आक्रमण नियन्त्रण गर्न सकेन भने केही क्षणमै खेलको दिशा बदलिन सक्छ ।
लामिन यमाल (स्पेन)

१९ वर्षीय लामिन यमाल विश्व फुटबलको नयाँ पुस्ताका सबैभन्दा चम्किला तारा हुन् । सानो उमेरमै उनले क्लब र राष्ट्रिय टोली दुवैतर्फ असाधारण परिपक्वता देखाएका छन् ।
गत वर्ष स्पेनलाई युरोकप उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका यमाल प्रतियोगिताका उत्कृष्ट युवा खेलाडी बनेका थिए । त्यसयता उनी विश्व फुटबलका सबैभन्दा चर्चित नाममध्ये एक बनेका छन् ।
बार्सिलोनाको एकेडेमी ‘ला मासिया’ बाट उदाएका यमालले किशोर अवस्थामै पहिलो टोलीमा स्थान बनाएका थिए । त्यसपछि उनले बार्सिलोनाका लागि घरेलु तथा युरोपेली प्रतियोगितामा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई विश्वस्तरका विङ्गरका रूपमा स्थापित गरिसकेका छन् ।
स्पेनका लागि पनि उनले छोटो समयमै १० भन्दा बढी अन्तर्राष्ट्रिय गोलमा प्रत्यक्ष योगदान (गोल र असिस्ट) दिइसकेका छन् ।
विश्वकप २०२६ मा उनले धेरै गोल नगरे पनि स्पेनको आक्रमणमा उनको प्रभाव अत्यन्त ठूलो छ । दायाँ विंगबाट लगातार ड्रिब्लिङ गर्दै विपक्षी रक्षकलाई एक्लाएक्लै पार गर्ने क्षमता, तीव्र गति, सटिक क्रस र अन्तिम पास उनका सबैभन्दा ठूला हतियार हुन् । रोड्री र पेड्रीबाट आउने पासलाई आक्रमणमा रूपान्तरण गर्ने मुख्य जिम्मेवारी पनि उनकै काँधमा छ ।
फ्रान्सजस्तो बलियो टोलीविरुद्ध यमालले आफ्नो वास्तविक क्षमता देखाउन सके स्पेनका लागि फाइनलको ढोका खुल्न सक्छ । अर्कोतर्फ, यो खेल उनलाई एमबाप्पेजस्ता स्थापित सुपरस्टारसँग एउटै मञ्चमा आफूलाई प्रमाणित गर्ने सुनौलो अवसर पनि हुनेछ ।
यी दुई मुख्य खेलाडीबाहेक अन्य केही खेलाडीहरू पनि खेलमा नायक बन्न सक्छन् ।
ओस्मान डेम्बेले (फ्रान्स)
एमबाप्पेपछि फ्रान्सका सबैभन्दा प्रभावशाली आक्रमणकर्ता ओस्मान डेम्बेले हुन् । प्रतियोगितामा पाँच गोल गरिसकेका उनले विपक्षी रक्षापङ्क्तिमा निरन्तर समस्या सिर्जना गर्दै आएका छन् ।
दुवै खुट्टाबाट समान रूपमा खेल्न सक्ने डेम्बेलेको गति र ड्रिब्लिङले फ्रान्सलाई थप खतरनाक बनाएको छ । यदि स्पेनको ध्यान एमबाप्पेमै केन्द्रित भयो भने त्यसको सबैभन्दा ठूलो फाइदा डेम्बेलेले उठाउन सक्छन् ।
माइकल ओलिसे (फ्रान्स)
यस विश्वकपमा फ्रान्सका सबैभन्दा सृजनात्मक खेलाडी माइकल ओलिसे बनेका छन् । पाँच असिस्टसहित उनी प्रतियोगिताका सर्वाधिक अवसर सिर्जना गर्ने खेलाडीमध्ये एक हुन् ।
ओलिसेको सटिक पास, सेट–पिस र अन्तिम तिहाइमा खेल निर्माण गर्ने क्षमता फ्रान्सका लागि ठूलो हतियार हो । एमबाप्पे र डेम्बेलेका धेरै गोलका पछाडि ओलिसेको भूमिका महत्वपूर्ण देखिएको छ ।
रोड्री (स्पेन)
स्पेनको खेलको धड्कन नै रोड्री हुन् । मिडफिल्डबाट खेलको गति नियन्त्रण गर्ने, बल आफ्नो टोलीसँग राख्ने र आवश्यक बेला लामो पासमार्फत आक्रमण सुरु गर्ने जिम्मेवारी उनकै काँधमा छ ।
फ्रान्सको तीव्र प्रतिआक्रमण रोक्न पनि रोड्रीको भूमिका अत्यन्त महत्वपूर्ण हुनेछ । यदि उनले मिडफिल्डमा नियन्त्रण कायम राखे भने स्पेनले एमबाप्पेलाई बल पुग्ने अवसर नै कम गराउन सक्छ ।
मिकेल ओयरजाबाल (स्पेन)
जारी विश्वकपमा स्पेनका सर्वाधिक गोलकर्ता मिकेल ओयरजाबालले चार गोल गरेका छन् । उनी धेरै अवसर नपाए पनि गोल गर्ने क्षमता भएका खेलाडीका रूपमा परिचित छन् ।
पेनाल्टी क्षेत्रभित्रको उनको चलायमान खेल, सही समयमा सही स्थानमा पुग्ने क्षमता र फिनिसिङ स्पेनका लागि ठूलो हतियार बनेको छ । फ्रान्सविरुद्ध पनि स्पेनले सिर्जना गर्ने सीमित अवसरलाई गोलमा बदल्ने जिम्मेवारी मुख्य रूपमा ओयरजाबालकै हुनेछ ।
प्रतिक्रिया 4